काम एउटै तर महिला-पुरूषकाे ज्यालामा विभेद !

लालु सुनार (मोदी गाउँपालिका–६ तिलाहार) र गङ्गा नेपाली (कुश्मा नगरपालिका ९, कटुवाचौपारी) ले सदरमुकाम कुश्मा आसपासमा निर्माण मजदूरका रुपमा काम गर्न थालेको करीब चार वर्ष भयो । घर ढलान गर्ने क्रममा बालुवा बोक्ने, उठाउने, ढलानलगायत सबै काम दुईजनाले आलोपालो गर्ने गर्नुहुन्छ । एउटै काम गर्ने दुईमध्ये सुनारले दैनिक रु ५०० र नेपालीले रु ३५० ज्याला पाउनुहुन्छ । उहाँहरु मात्र होइन निर्माण मजदूरकै रुपमा काम गर्ने शान्ति परियारले पाउने दैनिक ज्याला पनि उस्तै छ । सँगसँगै काम गर्ने मनोज सार्कीले रु ५०० पाउँदा आफूले भने रु ३५० मै चित्त बुझाउनु परेको उहाँको गुनासो थियो ।

“यस्तो किन गरियो भन्दा कामै पाइँदैन । बालबच्चा पाल्नु प¥यो । भोकभोकै बस्नभन्दा ठेकेदारले जति दिन्छन् उति नै लिएर काम गर्ने गरेकी छु” शान्तिलेले भन्नुभयो । नेपालमा समानताका लागि धेरै आन्दोलन भए र विभेद नहुने भन्ने कुरा धेरै सुनेपनि कार्यान्वयनमा चासो नदिएको उहाँहरूको भनाइ थियो ।

कानूनले महिला–पुरुषका लागि समान कामको समान ज्याला तोके पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको यहाँका मजदूरको गुनासो छ । कसैले भेदभाव गरेमा सजायको भागीदार हुने कानुनी व्यवस्था भएपनि यहाँका घरेलु उद्योग, कृषि, निर्माणलगायत काममा महिला–पुरुषबीच ज्यालामा करीब आधा नै अन्तर हुने गरेको छ । विभिन्न औद्योगिक तथा निजी कामकाजमा पनि महिलालाई पुरुष कर्मचारीको तुलनामा बोझ बढी तर सुविधा भने कम दिने गरेको गुनासो बढेको छ ।

समान कामको समान ज्याला पाइन्छ भन्ने सुन्नुभएकी लुरी माझीले ठेकेदारसित यसबारे गुनासो राख्नुभएको थियो । ठेकेदारले पनि पुरुषसरह महिलाले काम गर्न नसक्ने हुँदा समान ज्याला पनि सकिँदैन भनेर झर्कने गरेको दुखेसो पोख्दै उहाँले भन्नुभयो, “पुरुषसरहकै ज्याला माग्दा न काम नत माम भइन्छ कि भन्ने डर । परिवार पाल्न काम नगरिकन बस्न पनि भएन । खाली बस्नुभन्दा जति दिन्छन् उतिमै चित्त बुझाएकी छु ।” गुनासो गर्न जाँदा कामबाटै हात धुनुपर्ने डरले यस्ता कुरा लिएर कतै नगएको अन्य महिला कामदारले बताए ।

वर्षौैैंदेखि कृषि मजदूरका रुपमा काम गर्दै आएकी कुश्मा नगरपालिका–९ कटुवाचौपारीकी सेती नेपालीले पनि यो विभेद अहिलेसम्म भोग्दै आउनुभएको छ । श्रीमान्सँगै एकैखालको काममा जाँदा श्रीमान्ले पाउने र उहाँले पाउने ज्यालामा आधाको फरक हुन्छ । “म बोल्दा श्रीमान्को समेत काम खोसिने डर छ ।” उहाँले भन्नुभयो, “चलनै यस्तै छ ।” कात्तिक र मङ्सिरमा कृषि मजदूर बढी व्यस्त हुने समय हो । यही याममा काम गरेर करीब परिवारले छ महीनासम्म खान पुग्ने खर्चको जोहो गर्नुपर्छ ।

नेपाल ट्रेड युनियन महासङ्घका पूर्वअध्यक्ष रामबहादुर नेपालीले समान कामका लागि महिला–पुरुषबीच विभेद गर्न नहुने कानून भए पनि व्यवहारतः त्यो लागू हुन नसकेको स्वीकार्नुभयो । “पटक–पटक सिडिओ कार्यालयमा बस्ने बैठकमा कुरा उठ्छ । विभेद गरे कारवाही हुन्छ पनि भनिन्छ”, उहाँले भन्नुभयो, “तर कारवाही हुँदैन । ठेकेदारले भित्रभित्रै निकै विभेद गरेका गुनासा आउँछन् । काम नपाउनुभन्दा थोरैमा पनि चित्त बुझाउन बाध्य हुनुपर्छ ।” रासस