पोखरा – न सरकार पक्ष न विद्रोही पक्ष। तर, विभिन्न बहानामा दुवै पक्षबाट यातना पाएका द्वन्द्वपीडितहरुले आफ्नो आवाजको सुनुवाई नभएको भनेर गुनासो गरेका छन्। १२ वर्षे जनयुद्ध २०६३ साल मंसिर ५ गते १२ बुँदे शान्ति सम्झौता गरेर रोकिएको थियो।शान्ति सम्झौताको १२ वर्ष बितिसक्यो। तर, द्वन्द्वमा यातना पाएका व्यक्तिहरुको घाऊ अझै आलै छ। शनिबार पोखराको चिप्लेढुंगामा ८ जिल्लाका १४ यातना पीडितको पोस्टर र अडियो प्रदर्शनी गरिएको थियो।

आफ्नै कथाव्यथा सङ्गालिएको पोस्टरसँग नजिक थिए, म्याग्दी बेनीका सुरेन्द्र खत्री। २०६३ साल असार १२ गते बाख्रा चराउन जाँदा बेवारिसे अवस्थामा रहेको बम पड्केर उनले दुवै हात गुमाए। त्यसयताका पीडा र उनीप्रति समाजले गरेको व्यवहार अहिले व्यक्त गर्न सक्दैनन्।आत्मविश्वास बटुलेर अपांगताको क्षेत्रमा क्रियाशील छन्। उनको एउटै इच्छा इतिहासले हामीलाई नबिर्सियोस् र राज्यले क्षमता अनुसारको रोजगार प्रदान गरोस् भन्ने छ।

कास्कीका लाहाचोकका दुदराज अधिकारी अनायशै द्वन्द्वको चपेटामा परे। वि.सं. २०६० साल कात्तिक ११ गते उनी गगनगौडाबाट पोखरा फर्कने क्रममा बम विष्फोटनबाट घाइते भए। लेखनाथको डाँडाको नाक प्रहरी चौकी विद्रोही पक्षबाट आक्रामण तयारी गरिररहेको बेला उनी चढेको बस रोकियो। यात्रुहरु तितरबितर भए।सोही क्रममा बम विष्फोटमा छर्राले उनको हात छेडेर पेटसम्म पुग्यो। एक जना सवारी चालकको सहायताले अस्पतालसम्म पुगेपछि आफूले नयाँ जीवन पाएको अधिकारी बताउँछन्।

तर, त्यो घाऊ अझै आलो रहेको उनको भनाई छ। ‘न सरकार न विद्रोही पक्ष, कसैले सुन्दैनन् हाम्रो आवाज,’ उनी भन्छन्, ‘शान्ति सम्झौता भयो, विद्रोही पक्षले पनि सरकार चलाइसक्यो तर हाम्रो पीडामा मल्हम लगाउने कोही भएनन्।’ अधिकारीले द्वन्द्वपीडितलाई परिपूरणसहितको न्याय दिन सरकारलाई आग्रह गरे।

पोखराका चिप्लेढुंगामा फलफूल व्यापार गर्दै आएका रुबन श्रेष्ठ २०६२ फागुन १५ गते मोटरसाइकलको डिक्कीमा राखेको बम विष्फोट घाइते बने। उनका शरीरमा अझै पनि बमका छर्राहरु छन्। पीडा लिएर बाँचिरहेका उनी भन्छन्, ‘हाम्रो आवाजलाई नदबाइयोस्, हाम्रो गाँसबास र कपासका लागि सरकारले ध्यान दियोस्, क्षमता अनुसारको रोजगार प्रदान गरोस्।’ उनले सरकारबाट जम्मा १० हजार पाएको बताए।

कहिले राज्यले माओवादी भनेर त कहिले माओवादीले राज्यलाई सघााएका भनेर यातना खेपिरहेका जयकृष्ण पोखरेल पनि दुवै पक्षबाट आफू पीडित भएको बताउँछन्। २०५८ साल पुस ११ गते तत्कालीन नेपाली सेनाले माओवादीको आरोपमा उनी पक्राउ परे। विभिन्न यातना दिइयो।सेनाले करेन्ट लगाउने, कुट्ने, सिस्नो लगाउने लगायतका यातना दियो। अन्त्यमा निर्दोष ठहरिएपछि सेनाले छोडिदियो। त्यसयता माओवादीले पनि आफूहरुलाई सहयोग गर्न निकै दबाब दिए, तर उनले मानेनन्। उनी भन्छन्, ‘दुवै पक्षबाट पीडित हाम्रो पीडा सुनिदिने कोही भएनन्, हाम्रो आवाज सुन्ने राज्य नै हो तर वास्ता गर्दैन।’

यातना पीडित समाज कास्कीका अध्यक्ष पोखरेल जिल्लामा झण्डै ८० जना द्वन्द्वपीडित रहेको बताउँछन्। ‘जसलाई पर्यो उही मर्यो न सरकारलाई वास्ता छ, न विद्रोही पक्षलाई, सबै आआफ्नो स्वार्थमा तल्लिन छन्,’ उनले आक्रोश पोखे।द्वन्द्वपीडित साझा चौतारीले ८ जिल्लाका १४ जना द्वन्द्वपीडित जो न सरकारका थिए न विद्रोही पक्षका, सर्वसाधारणहरु अनाहकमा द्वन्द्वको चपेटामा परेर यातना भोगेकाहरुको कथाव्यथा समेटेर पोस्टर र अडियो तयार गरेको हो। पोस्टरमा समेटिएकाहरुको जिल्लामा सो प्रदर्शन गरिने साझा चौतारीका सदस्य रहेका सुरेन्द्र खत्रीले जानकारी दिएका छन्।।deshsanchar.com/