पर्वतको बिहादी गाउँपालिका वडा नं २ बर्राचौरका बालक काठमाडौंको गोंगबुस्थित एक होटलबाट बेपत्ता भएका छन् । गोंगबु स्थित स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक समेत रहेका प्रवीण कुँवरका ८ बर्षिय छोरा प्रयास बेपत्ता भएका हुन् । बेपत्ता भएका बालक प्रयासका हजुरबुवा ओमप्रसाद कुवँर बिहादी वडा नं २ का वडा अध्यक्ष हुन ।

बुबा प्रवीणका अनुसार होटल परिसरमै खेलिरहेका प्रयास मंगलबार साँझबाट सम्पर्कविहीन छन् ।उनले भने, ‘हामीले महानगरीय प्रहरी प्रभाग, गोंगबुमा खोजतलासका लागि निवेदन दिएका छौं । तर, अहिलेसम्म अत्तोपत्तो छैन ।’प्रयास टाउन प्लानिङको वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ मा अध्ययनरत् थिए । प्रहरीले उनको खोजी कार्य भइरहेको जनाएको छ ।