किन अल्मलिने ? उत्कृष्ट रोज्ने भन्न जति सजिलो छ ब्यबहारमा निकै गार्हो काम हो | अहिले  प्राय: +२ सकेका युवा समुह एक सुन्दर भबिस्यको कल्पना साथ ब्याचलर तहमा अध्यन गर्न पायक पर्ने कलेजहरुमा भर्ना हुने क्रम तिब्र छ कतिपय कलेजहरुमा  कक्षा संचालन समेत  भै सकेको अवस्थामा अझै पनि केहि विद्यार्थी समुह अलमली रहेका भेटिन्छन  |

कुन कलेज रोज्ने ? के आधारमा रोज्ने ? भिसा न आए सम्म पढ्ने त हो नि ! जता भए नि जाने कि ? यस्ता तमाम प्रश्नहरुले उनीहरु लाई निर्णय गर्न अप्ठ्यारो पारेको देखिन्छ | यो तहमा पढ्न खोज्ने युवा प्राय: १८ बर्ष पुरा गरेका हुन्छन जुन झनै संबेदनशील अवस्था हो | सहि निर्णयले भबिस्य बनाई दिन सक्छ भने एउटा गलत निर्णय ले भताभुंग |त्यसैले सहि कलेज र बिषयको रोजाई एकदम महत्वपूर्ण हुन्छ |

हामी सबैले बुझे कै छौं, ब्याचलर तहको पढाई भनेको पेशा र क्षमता अभिबृद्धि तथा निपुणताको लागी चाहिने शिक्षा हो | चाहे जुन सुकै बिषय होस् यो तहको अध्ययन पश्चात एउटा धरातल भेटिन्छ जीवन अगाडी बढाउन को लागी, लोकसेवा आयोगले समेत यो तहलाई मान्यता दिएको छ सरकारी अधिकृत तहको लागी (कलेज प्राध्यापक तह बाहेक) | त्यस्तै एम.बि.बि.एस. डाक्टर अथवा इन्जीनियर पनि यहि तह हो  | त्यसैले ब्याचलर तहमा भर्ना हुँदा केहि बिशेस सावधानी अपनाउदै कलेजका कार्यक्रमहरु बुझ्न जरुरी हुन्छ किनकी यो तह भनेको किताब मात्रै पढेर दिने जांच र आएको नतिजाले बास्तबिक पेशामा निपुणताको ग्यारेन्टी गर्न सकिन्न | जस्तो मानौ कुनै ब्यबस्थापनको विद्यार्थी यो  तहको लिखित जाँचमा उत्कृस्ट अंक ल्यायो तर उसले समुहमा कार्य गर्न (team-work) सिकेको छैन भने उसलाई समुह कार्यको अवसर, महत्व र चुनौती केहि थाहा हुन्न र ऊ बास्तबिक जीवनमा न त सफल म्यानेजर बन्न सक्छ न त सफल ब्यबसायी नै |

त्यस्तै प्रस्तुतीकरण क्षमता (presentation skill ) पनि त्यतिकै महत्वपूर्ण छ | अहिलेको २१औं शताब्दीमा बिश्वब्यापीकरण को यस युगमा व्यक्तिको क्षमताको प्रस्तुतीकरण छैन भने आफ्नो विशेषता र बिचारले अरुलाई प्रभावित पार्न सक्दैन अनि  चाहे व्यक्तिगत जीवन होस् वा पेशागत सफल हुन् सकिदैन |

ब्यबहारिक ज्ञान पनि अति महत्वपूर्ण हुन्छ सफलताको लागी |जस्तो कि मानौ किताबको कुनै पानामा मोटरसाइकल चलाउन सबै प्रक्रिया सिकाईएको छ | चाबी लगाउने, स्टार्ट गर्ने अनि एक्सेलेटर दबाई अगाडी बढाउने | यो सबै कण्ठ पारेर लिखित जाँचमा उत्कृस्ट नतिजा ल्याउने विद्यार्थी बास्तबिक रुपमा मोटरसाइकल चलाउन सक्ने ग्यारेन्टी हुन्न | त्यस्तै ब्याचलर पढ्ने क्रममा उसलाई कार्यक्रमहरुको योजना बनाउने, संचालन गर्ने, कार्य बिभाजन गर्ने, आइ परेका चुनौतीलाई सहि विश्लेषण गर्दै उचित ब्यबस्थापन गर्ने  जस्ता कार्यहरु गराइदैन भने उसले आफ्नो व्यक्तिगत जीवन वा ब्यबसायिक जीवन कतै पनि सफलता हासिल गर्न गार्हो पर्छ | अनि पेशागत क्षेत्रमा समेत ऊ आतिन्छ र नर्भस भै दिन्छ | त्यसैले ब्याचलर तहका लागी कलेज छान्दा निम्न कुराहरुलाई ध्यानमा राख्न ज्यादै महत्वपूर्ण छ ;-

  • आफुले सोचेको बिषय छ कि छैन |
  • संरचनागत अवस्था कस्तो छ |
  • बिषयगत विज्ञता भएका प्राध्यापकहरु छन कि छैनन् |
  • बिषयगत कक्षाहरु संचालनका तरिका र प्रबिधि कस्तो छ |
  • समुहगत कार्य, प्रस्तुतीकरण क्षमता विकासको अवसर का साथै कार्यक्रम ब्यबस्थापन लगायतका सफ्ट-स्किलका लागी के कस्तो ब्यबस्था छ |

यी यस्ता क्षमताहरु हुन् जुन हरेक पेशा र हरेक  देशमा  उपयोगी हुन्छ | चाहे देश भित्र बसुन वा विदेश जाऊन उसको पढाई लगाएत कार्यगत क्षमता समेत अभिबृद्धि गर्छ | त्यसैले समय मै सहि निर्णय गरि सहि बाटो हिड्ने हो भने लक्ष्य सम्म पुग्न सहज हुन्छ |

लेखक (वीणा झा-  वेस्ट पोइन्ट कलेजकी  प्रमुख )