अष्टमी गुरुङ र आत्महत्याको बाटो !

0

मनिकला महतरा 

हिजो परदेशमा आत्महत्या गर्न बाध्य बनाइएकि चेली अष्टमि गुरुङको मृत्युको समाचारले म जस्ता हजारौँ युवा युवती विचलित भएका होलान् ।अष्टमिको आत्माको चिर शान्तिको कामना गर्दै उनलाई आत्महत्या गर्न विवश बनाउने त्यो नरपिपाशुलाइ कानुनको कटघरामा ल्याइ कडा भन्दा कडा कारबाही गर्न देश सफल होस भन्ने कामना गर्छु।

विभिन्न कारणले देश छोड्न बाध्य बनेका हरेक युवायुवतीहरुको लागि परदेश झन् पछि झन् कठिन बन्दै गई रहेको छ ।अष्टमि गुरुङ त एक प्रतिनिधि पात्र मात्रै हुन ।उनी जस्ता हजारौँ युवायुवती त्यसरी नै कुनै न कुनै शोषणको सिकार बनेका छन् ।यसरी शोषणको सिकार बन्नेमा लगभग पुरुष पनि छन् तर पुरुष समाजको झुठो परम्पराको आडमा आफुहरुलाई कमजोर भएको हेर्न नचाहेको कारण उनीहरू पनि आत्महत्याको बाटो रोज्छ्न।

पछिल्लो समयमा परदेशबाट बिना कारण आत्महत्याका समाचारहरु बढ्दै गईरहेका छन्। हाम्रो देशको कुरा गरौँ भने विकास र समृद्धिको सम्भावनाको तुलनामा अरू देश भन्दा कयौँ गुणा अघि छ तर भ्रष्ट राजनितिकरणले देश आज पनि गरिब देशहरूको सुचिमा पर्द्छ । देशमा अर्थिक उन्नतिको बाटो नदेखे पछि हजारौँको सङ्ख्यामा युवा देश छोड्न बाध्य हुन्छन् ।

आखाभरी सुनौलो रहर,काधमा जिम्मेवारी ,हातमा राहदानी बोकेर मृत्युलाई किनेर हिडे्का युवाहरू अचानक परदेश पुग्दा बितिकै कमजोर बनि  हाल्छ्न र त अधिकांशले आत्महत्याको बाटो रोज्छन। के अन्यायमा पर्न बितिकै आत्महत्या गर्नु न्याय हो त ? परदेशी भूमिमा न्याय खोज्नु आफैमा चुनौतीपूर्ण छ तर असम्भव त पक्कै छैन ।

हरेक देशमा मानव अधिकारका कानुनहरू बनेका छ्न। हरेक देशमा नागरिक अधिकार सबैमा समान रूपले लागू हुन्छ।हरेक देशमा हरेक देशका राजदूतावास बनेका छन् ।विभिन्न संघसंस्थाहरु खोलिएका छन् ।अन्यायमा परेकाहरुको न्यायको लागि नै आप्रवासी सघहरु गठन पनि भएका छन् ।हुनत नेपाली राजदूतावासको प्रसङ्ग अरू देश भन्दा ठिक उल्टो छ। सोझासाझा,गरिब,निमुखा र खास गरी महिलाहरूको लागि नेपाली राजदूतावासबाट सास्ती नभोग्नु पर्ने र न्याय पाउनु एक भ्रम हो ।

सर्वप्रथम त देश छोडनु आफैमा एक चुनौती हो ।खास गरी महिलाहरूको लागि त झन् ठुलो चुनौती हो।समाजले हेर्ने विदेश पसेका महिलाहरू प्रतिको सोचलाई त पर राखौं ।विदेश पसिसकेपछि आउने चुनौतीहरुको लागि महिला आफै किन दृढ़ भएर खडा हुन नसक्ने?अन्यायमा पर्दा बितिकै किन अपराधीलाई उसको अपराधको सजाय नदिने र आत्महत्याको बाटो रोज्ने ? किन आत्महत्या गरेर आफू कमजोर भएको प्रमाण दिने ? यदि आफ्नो सुरक्षा आफैँ गर्ने साहस सम्म पनि राख्नु हुँदैन,अन्यायमा परेमा मर्नु बाहेक अरू कुनै विकल्प नै देख्नु हुँदैन भने विदेश किन पलायन हुने त ?

देश छाडिसकेपछि अर्को देशमा विभिन्न किसिमका मान्छेहरू सङ हामी जुध्न पुग्छौं ।फरक भाषा,फरक धर्म ,फरक संस्कृतिसङ कहिले कहीँ हामी सन्तुलन बनाउन असमर्थ पनि हुन्छौं ।कयौँ पटक हामी छुट्टाछुट्टै मुलुकका गलत र सही दुवै किसिमका मान्छेहरू भेट्छौँ ।गलत मान्छेहरूले आफ्ना कुकृतीहरु पटक पटक दोहोर्याइ राखेका हुन्छन्।त्यस्ताबाट दुरिहरु बनाइ राख्नु पर्छ।परेको खण्डमा त्यसता विरुद्ध प्रतिकार गर्नु जरुरी हुन्छ।कुविचारका नियत भएका देखि सदैव सावधान रहनु पर्दछ।साथै संबंधित निकाय,व्यक्तिहरूलाई पनि खबर गराउन सकेमा पनि केहीँ हदसम्म सुरक्षित हुन सकिन्छ ।

अन्त्यमा जब हामी विभिन्न चुनौतीहरू पार गर्दै देश छाड्न विवश हुन्छौं ।जब त्रिभुवन विमानस्थल पुग्छौं तब एक अठोट गरौँ ।आफूहरुलाइ आइ पर्ने हरेक चुनौतीहरुको सामना गर्ने ।आफूलाई दुर्ववहार गर्ने ,शोषण गर्न खोज्ने,हेप्न खोज्ने विरुद्ध आफुहरुलाइ बलियो गरी खडा गर्ने।हामी गरिब देशका कामदार मात्रै हो भनेर नहेपिने।समय परिस्थितिले यदि शोषणमा परि सक्नु भए पनि आत्महत्या कुनै समस्याको समाधान होइन ।निर्दोष आत्महत्याले एकतर्फ अपराधीहरुलाइ झन् अपराध गर्न हौसला दिन्छ भने अर्को तर्फ शोषणमा परेका झन् हतोत्साहित भई रहेका हुन्छन् ।

तसर्थ अपराध र अपराधिहरु जहाँ फैलिरहेका छ्न दुवैलाई त्यही नै मेटाउन जरुरी छ।तपाईँको अलिकति साहस र हिम्मतले अपराध हुन बाट रोकिन सक्छ।तपाईँको अलिकति हिम्मतले अरू धेरैलाई हिम्मत मिल्न सक्छ। आत्माहत्यलाइ विकल्प नबनौं ।आत्माहत्या गर्नु पूर्व एक मिनेटको लागि आफूले गरेको सङ्घर्ष सम्झिनुहोस।परिवार प्रतिको जिम्मेवारी सम्झ्नुहोस ।अपराधीलाई सजाय दिने र आफूलाई न्याय दिलाउने अठोट गर्नुहोस् ।