निर्मला पन्तको बलात्कारपछि गरिएको हत्यामा न्याय खोज्दै यहाँका महिलाहरु सडकमै सुतेका छन् । नेपाल महिला संघको अगुवाईमा सदरमुकामस्थित बाघचोकमा भेला भएका झण्डै दुई सय महिला सडकमै सुतेका हुन् ।

‘एउटी अबोध बालिकाले न्याय नपाएपछि दवावस्वरुप सडकमै सुतेका हौं’ संघकी अध्यक्ष शकुन्तला शर्माले भनिन्, ‘दैनिक भइरहेका बलात्कारका दोषीलाई राज्य संयन्त्रले संस्थागत रुपमै उम्काउने प्रयास गरिरहेको छ।’ यस्ता घटनामा राज्य संयन्त्र चुप लाग्नुले दुई तिहाई मतको सरकारको बेइज्जत भएको उनको टिप्पणी थियो।

चिसो भूइँमा झण्डै एकघण्टा सुतेका महिलाले निर्मला पन्तको फोटोसहितको व्यानर छातिमा टाँसेका थिए। सबै महिलाले टाउकोमा कालोपट्टीसमेत बाँधेर विरोध गरेका थिए। ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने नारा लेखिएको व्यानर र पोस्टर लिएर उनीहरुले दोषीलाई पक्राउ गर्न माग गरेका थिए।

सडकमै सुत्ने कार्यक्रममा ७० वर्षीयादेखि १५ वर्षीया किशोरीहरु पुगेका थिए। उनीहरुको मागको समर्थनमा कांग्रेससहितका अन्य राजनीतिक दलका नेता, नेपाल ट्रेड युनियन कांग्रेसका पदाधिकारी, कार्यकर्ता, अधिकारकर्मी तथा नेविसंघका कार्यकर्ता सहभागी थिए। उनीहरुको विरोधले सडकको आवागमन अवरुद्ध भएको थियो। www.kantipurdaily.com