कुनै पनि औषधिको प्रयोग चिकित्सकको सिफारिसमा मात्र गर्नुपर्ने हो । तर हामी कहाँ जथाभावी एन्टिबायोटिकको प्रयोग गर्ने प्रवृत्ति छ । यसले जनस्वास्थ्यमा गम्भीर असर परेको जनाउँदै स्वास्थ्य मन्त्रालयले कुनै रोग लागेमा डाक्टरको सल्लाहमा मात्र एन्टिबायोटिक खान सुझाएको छ । सोमबार मन्त्रालयले नेपालमा एन्टिबायोटिकको दुरुपयोगको अवस्थाबारे गरेको छलफलमा यस्तो अपिल गरेको हो।

‘एन्टिबायोटिक प्रयोग गर्नुअघि सोचौं, डाक्टरको सल्लाहमा मात्र एन्टिबायोटिक खाऔं,’ कार्यक्रममा बोल्दै उपप्रधान तथा स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्री उपेन्द्र यादवले भने । ‘सानो रोग लाग्यो कि डाक्टरकोमा जानुको सट्टा मेडिकलमा गएर एन्टिबायोटिक खाने चलन छोडे मात्र स्वास्थ्यमा पर्ने नकारात्मक असर कम हुन्छ,’ मन्त्री यादवले भने।

चिकित्सकले सिफरिस गरेको पूरा औषधि नखाने, औषधि पसलेले उमेर र तौलको अनुपातमा एन्टिबायोटिकको मात्रा मिलाएर दिन नसक्ने, कतिपय चिकित्सकले किटाणुको जाँच नगरीकनै औषधि दिँदा एन्टिबायोटिकको गलत प्रयोग हुन पुगेको कार्यक्रममा सहभागी स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताए । उनीहरुका अनुसार एन्टिबायोटिकको सही प्रयोग नभएमा रोगको किटाणु मर्नुको सट्टा बलिया हुन्छन् । पछि त्यही औषधि प्रयोग गर्दा रोगका किटाणु मर्दैनन् । यो अवस्थालाई एन्टिबायोटिक रेसिसटेन्स अर्थात किटाणुको प्रतिरोध क्षमतामा वृद्धि भनिन्छ।

नेपालमा हाल क्षयरोगविरुद्धको औषधि, टाइफाइडविरुद्धको एन्टिबायोटिक सिफ्रोक्सिलिनलगायत औषधिले काम गर्न छोडिकसको चिकित्सकहरु बताउँछन् । जनस्वास्थ्य प्रयोगशाला टेकु र राष्ट्रिय रेफरेन्स प्रयोगशाला टेकुले २२ जिल्लामा औषधि प्रतिरोधी स्थितिको अध्ययन गरिरहेका छन् । सो अध्ययनसहित अन्य अध्ययनले नेपालमा मानिस र पशुपंक्षी दुवैमा जीवाणु बलियो हुँदै गइरहेको पाइएको छ । कतिपय संक्रमणमा पहिलो र दोस्रो तहका एन्टिबायोटिकले काम गर्न छोडिसकेको विज्ञहरु बताउँछन्।

पशु पंक्षीको उपचारमा हुने गलत एन्टिबायोटिकको प्रयोग र उपचारको अवधि पूरा नभई उपभोक्ता माझ पु-याउने चलन, अनुगमनको अभाव, आयातित कुखुराका दाना, कखुरामा समेत एन्टिबायोटिकको व्यापक प्रयोग हुनु र त्यसको अनुगमन नुहुनुले एन्टिबायोटिक रेसिसटेन्सको समस्या विकराल बन्दै गइरहेको पशु स्वास्थ्य विभागकी महानिर्देशक डा. सम्झना काफ्लेले बताइन्।

संक्रमणजन्य वातावरणले पनि जैविक प्रतिरोधी क्षमतालाई वृद्धि गरिरहेको उनले औंल्याइन् । खेतीमा प्रयोग हुने पेस्टिसाइडको अनियन्त्रित प्रयोग, कृषि तथा पशुपालन व्यवसायमा अनुगमन नहुँदा समस्या तीव्र भइरहेको महानिर्देशक काफ्लेले बताइन् । बजार अनुगमनमा खाद्य तथा गुण नियन्त्रण विभागको भूमिका पनि कमजोर भएको उनले औंल्याइन्।

विश्व स्वास्थ्य संगठनका अनुसार जिवाणु प्रतिरोधी संक्रमणको कारण विश्वभर हरेक वर्ष करिब सात लाख मानिसको मृत्यु हुने गरेको छ । यही अवस्था रहिरहेमा सन् २०५० सम्ममा वर्षेनी एक करोड मानिसको मृत्यु हुने र करिब ६६ अर्ब पाउण्ड आर्थिक क्षति हुने चेतावनी संगठनको छ । यसको सबैभन्दा ठूलो असर नेपाल लगायत एसिया तथा अफ्रिकाका विकासोन्मुख देशमा बढी पर्नेछ । विकसित देशले प्रतिरोधी जिवाणुविरुद्धका नयाँ एन्टिबायोटिक उत्पादन गर्ने क्षमता राख्छन् तर विकासोन्मुख देशको यस्तो क्षमता नभएकाले जैविक प्रतिरोधी संक्रमणको उच्च जोखिममा नेपाल रहेको छ । ‘सानो सानो संक्रमणले पनि मानिसको मृत्यु भइरहेको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा. दीपेन्दरमण सिंहले भने।

यो जोखिममबाट बच्नका लागि सन् २०१५ मा विश्व स्वास्थ्य संगठनले प्रतिजैविक प्रतिरोधी न्यूनीकरण गर्न विश्वव्यापी कार्ययोजना अपनाएको छ । यो योजनामा सन् २०१६ मा संयुक्त राष्ट्र संघले प्रतिबद्धता जनाएको छ।

एन्टिबायोटिक प्रतिरोधी संक्रमणको जोखिमबाट जनस्वास्थ्यलाई बचाउन एक पक्षको भूमिकाले मात्र सम्भव नभएकाले सफाइ, कृषिविज्ञ, खाद्य तथा गुण नियन्त्रण विभाग, पशुव्यवसायी तथा विज्ञ र उपभोक्ता र स्वास्थ्यकर्मी सबैको भूमिका आवश्यक भएको मन्त्रायलयले जनाएको छ।