दक्षिणी भारत र उत्तरी चिन जोड्ने सबैभन्दा छोटो दुरीको कालीगण्डकी करिडोरलाई १० मिटरको बनाइने भएको छ । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको कालिगण्डकी करिडोरअन्र्तगत गुल्मी खण्डबाट सुरु भएको १० मिटर चौडा गर्ने काम बागलुङ खण्डबाट पनि हुने जनाइएको हो ।

कालिगण्डकी करिडोरको गुल्मी र बागलुङ खण्डको अवलोकन गर्न बागलुङ आएको टोलीले बागलुङका सांसद डाक्टर सूर्य पाठकसँग अन्र्तक्रिया गरी बागलुङ खण्डमा भइरहेको प्रगतिका बारेमा जानकारी गराएको थियो । अन्र्तक्रियामा सडक विभागका महानिर्देशक रविन्द्र श्रेष्ठ, भौतिक योजना मन्त्रालय, योजना शाखाका सहसचिव राजेन्द्र शर्मा, रक्षा मन्त्रालयका सहसचिव भरत गौतम लगायतले सडक निर्माणमा भइरहेको प्रगतिका बारेमा आफ्ना धारणा राख्नुभएको थियो।

सडक विभागका महानिर्देशक रविन्द्र श्रेष्ठले नेपाली सेनाले कालिगण्डकी करिडोरको ट्रयाक खोल्ने काम सम्पन्न भइसकाले अब सडक विस्तारका लागि योजना बनाएर अगाडि बढ्ने बताउनुभएको थियो । उहाँले सडकको पुरै ट्रयाक खुलिसकेको र विभिन्न ठाउँमा सडक चौडा गर्ने काम समेत भइरहेकाले अब बाँकी रहेको क्षेत्रमा सडक चौडा गरी पिच गर्ने प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।

बागलुङका सांसद डाक्टर सूर्य पाठकले कालिगण्डकी करिडोर नेपालको लाइफलाइन बन्न सक्ने भन्दै समयमै सम्पन्न गर्न आग्रह गर्नुभएको थियो । दक्षिण सिमादेखि उत्तरी सिमासम्म पुगेर करिडोरको अवलोकन गरेको भन्दै सांसद पाठकले मुस्ताङ क्षेत्रमा करिडोर निर्माणमा भइरहेको प्रगतिले करिडोर छिट्टै खुल्नेमा विश्वास व्यक्त गर्नुभयो । ‘म केही समय अगाडि उत्तरी सिमासम्म पुगेर आएको छु, सिमामा चिनियाँ पक्षले कोरल्ला नाका खोल्नका लागि भौतिक संरचनाहरु निर्माण गरिसकेकाले सडक निर्माणलाई थप गति दिन आवश्यक छ ।’ पाठकले भन्नुभयो ।

पाठकले करिडोरको ट्रयाक खुलेपछि नियमित सवारी साधनहरु सञ्चालन भइरहेकाले सडक चौडाइको काम छिटो सक्नका लागि बागलुङको मालढुङ्गाबाट सडक चौडा गर्ने काम सुरु गर्न आग्रह गर्नुभएको थियो । सरकारी तवरबाट करिडोर निर्माणमा बजेट अभाव हुन नदिने भन्दै पाठकले सडक चौडासँगै मालढुङ्गादेखि बेनीसम्मको खण्डलाई बागलुङपट्टीबाट लैजादा सहज र थोरै क्षतीमा सडक निर्माण गर्न सकिने बताउनुभयो ।