आत्मविश्वास सफलताको सूत्र हो । आत्मविश्वासले मानिसलाई अगाडि बढ्न र नयाँ काम गर्न प्रेरणा दिन्छ । प्रायः सफल व्यक्तिका पछाडि आत्मविश्वासको ठूलो भूमिका हुन्छ । तसर्थ, कुनै काममा सफलता हासिल गर्न आफैँमाथि विश्वास हुन जरुरी छ । आफैँमा विश्वास जगाउन निम्न कुरा चाहिन्छ :

सकारात्मक सोच 
नकारात्मक भावनाले हुन लागेको कामलाई समेत बाधा पुर्‍याउँछ । ससाना अवरोध आउँदा पनि रिस उठ्ने भएमा त्यो सफलताका लागि झनै बाधक हुन्छ । सकारात्मक सोच नभएकासँग आफन्त, सहकर्मी र साथीभाइसमेत बिस्तारै टाढिन्छन् । तसर्थ, जुनसुकै कामको सफलताका लागि पनि सकारात्मक सोचको विकास गर्न जरुरी छ ।

पर्याप्त ज्ञान
विश्व, देश र समाजका सम्पूर्ण गतिविधिको जानकारी लिएर आफ्नो ज्ञानको भण्डार बढाउन आवश्यक छ । यदि, तपाईंसँग पर्याप्त ज्ञान छ भने कुनै ठाउँमा पनि पछि हट्नुपर्ने अवस्था आउँदैन । त्यसका लागि दैनिक नयाँ कुरा सिक्ने, पुस्तक पढ्ने गर्नुपर्छ । विषयवस्तुबारे आवश्यक ज्ञान छ भने कामको सिलसिलामा आउने अवरोधलाई सहज ढंगले समाधान गर्न सकिन्छ ।

डर हटाउने
आत्मविश्वास बढाउनका लागि सबैभन्दा पहिला आफूभित्रको डरलाई हटाउन जरुरी हुन्छ । कुनै अन्य व्यक्तिले चाहँदैमा तपाईंको आत्मविश्वास बढ्दैन । जसका लागि आफ्नो क्षमताको पहिचान गर्नुपर्छ ।

डाइट र फिटनेस
फिटनेस, सन्तुलित आहारजस्ता कुराले आत्मविश्वासमा भूमिका खेलेका हुन्छन् । आत्मविश्वास बढाउन फिटनेस आवश्यक छ । त्यसका लागि खानपानमा पनि ध्यान दिन
जरुरी हुन्छ ।

व्यक्तित्व विकास
मानिसको पहिलो दृष्टि तपाईंको बाहिरी आवरणमा पर्छ । तसर्थ, आत्मविश्वास बढाउन लवाइखवाइमा पनि ध्यान पुर्‍याउन जरुरी छ । नसुहाउने ड्रेसअपमा हिँड्दा अरूलाई मात्र नभएर कतिपय अवस्थामा आफैँलाई पनि असहज महसुस भइरहेको हुन्छ । सफा र स्विटेबल ड्रेसअपले तपाईंको व्यक्तित्व झल्काउँछ ।

निरन्तर मिहिनेत
कोही पनि मानिस स्वतः उचाइमा पुगेका हुँदैनन् । जुनसुकै क्षेत्रका पनि हरेक सफल व्यक्ति आत्मविश्वासी हुनुमा निरन्तर मिहिनेत हुन्छ । निरन्तर मिहिनेत गर्दा स्वतः आत्मविश्वास बढ्छ । काममा व्यस्त रहनु मात्रै मिहिनेत नहुने भएकाले आफूले गरेको कामको प्रतिफलसमेत मापन गर्नुपर्ने हुन्छ । जसले आत्मविश्वास थप बढाओस् । नयाँ पत्रिका