औषधि पानीसँग खानुपर्ने हुन्छ । तर, कतिपय अवस्थामा पानीविनै औषधि खानेसमेत गरिन्छ । पानी नभएको वेला यस्तो गरिन्छ । खासमा पानीविना औषधि निल्नु स्वास्थ्यका लागि हानिकारक छ । यस्तो बानीले रोग निको हुनुको साटो उल्टै स्वास्थ्यमा हानि पु¥याउँछ । विनापानी औषधि निल्दा यी बेफाइदा :

विनापानी औषधि निल्दा एसोफेगस अर्थात् घाँटीको नलीमा क्षति पुग्ने गर्छ । यसकै कारण औषधि निल्ने समय कहिलेकाहीँ आँखाबाट आँसु पनि झर्ने गर्छ ।पानीविना औषधि निल्दा घाँटीको नली पोल्ने गर्छ । त्यति मात्र होइन, सुत्ने समयमा समेत दुख्ने र पोल्ने समस्या हुन्छ । यस्तो दुखाइ औषधिको आकारमा पनि निर्भर गर्छ ।

हाम्रो घाँटीको नली कमजोर मांसपेशीबाट बनेको हुन्छ । त्यसैले निल्न खोजेको औषधि घाँटीको नलीमा अल्झिए सम्बन्धित ठाउँमा निकै ठूलो हानि पु-याउँछ । यसले घाँटीका विभिन्न तन्त्रमा दुखाइको समस्या निम्त्याउँछ । यसकै परिणाम श्वासप्रश्वासमा समेत अवरोध सिर्जना हुन्छ ।

विनापानी औषधि प्रयोग गर्दा अल्सर हुने सम्भावना पनि उत्तिकै हुन्छ । टर्कीमा भएको एक अध्ययनअनुसार कुनै पनि ड्रग्सबाट एसोफेगसमा अल्सर हुने गर्छ । भिटामिन सीको चक्की चपाएर खाँदा पनि यस्तो समस्या निम्तिन सक्छ ।

यसो गरौँ

कम्तीमा एक गिलास पानीसँग औषधि निल्ने गरौँ ।

कहिल्यै पनि सुतेर औषधि खाने बानी गर्नु हुँदैन । औषधि उभिएर वा बसेर खाने गर्नुपर्छ ।

दैनिक कम्तीमा आठ गिलास पानी पिउनुपर्छ । यसो गर्दा एसोफेगसमा हुने खतरा कम हुन्छ ।

नयाँ पत्रिका