म्याग्दीलाई राजमार्गसंग जोड्ने पोखरा-बागलुङ सडकको पर्वत खण्ड पौष १२ गते बिहीबार देखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सडक फराकिलो र स्तरउन्नतीका लागि मध्यपहाडी लोकमार्ग सडक बिस्तारका लागि पर्वतको सिमाना अँधेरीखोलादेखि डिमुवाबजारसम्म दैनिक सात घण्टा घण्टा गर्ने निर्णय भएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्वतको संयोजनमा सोमबार बसेको बैठकले बिहान १० बजे देखि साँझ ४ बजे सम्म सडक बन्द गर्ने निर्णय भएको हो । लोकमार्गको पर्वत खण्डमा पर्ने डिमुवा देखि बेतनी बिचको माहुरी भिरमा सडक फराकिलो बनाउने काम गर्न सडक बन्द गर्न लागिएको मध्य पहाडी सडक आयोजनाले जनाएको छ । ‘पर्वतको डिमुवा र नयाँपुलको बिचमा रहेको महभीरमा सडक फराकिलो बनाउन पहरा कटान गर्न दैनिक छ घण्टा सडक बन्द गर्ने निर्णय भएको हो’ आयोजना प्रमुख आशिष थापा मगरले भन्नुभयो ।

बैठकमा सरोकारवालाहरुले सडक निर्माण कार्यप्रभावित नहुने र यात्रुलाई समेत सास्ती नहुने गरि निर्माण अगाडी बढाउन सुझाब दिएका छन । जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले आयोजनाको काम तोकिएकै समयमा सक्नुपर्ने तर नागरिकलाई समेत मर्का नपरी काम गर्न आग्रह गर्नुभयो । ‘नागरिकलाई दुःख नहुने गरि सके सम्म बैकल्पिक सडक बनाएर काम गर्नुपर्छ’ उहाँको भनाई थियो । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सडक बिस्तारको काम समयमा सक्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।

आयोजनाको पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरउन्नतीको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । कम्पनीले ८३ करोड ९८ लाख रुपैयामा पर्वत खण्ड स्तरउन्नतीको कामको ठेक्का लिएको छ । अहिले सम्म ३० प्रतिशत काम सकिएको म्यानेजर गोबिन्दप्रसाद भुसालले जानकारी दिनुभयो । अहिले सबै ठाउँबाट काम शुरु गरिएको र दशै तिहारपछि कामलाई अझै तीब्र बनाउने काम भैरहेको निर्माण कम्पनीले जनाएको छ । ‘हामीले असार सम्ममा ९० प्रतिशत काम सक्ने लक्ष्य सहित काम गरिरहेका छौ।’ उहाँले भन्नुभयो –‘कार्तिक र मंसिरमा काम केही सुस्त भएपनि कम्तीमा ८० प्रतिशत सक्ने योजनामा छौ’

मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ्ग खण्ड लाई नयाँ स्वरुपमा ढाल्ने गरि मर्मत सम्भार तीब्र पारिरहेको छ । लोकमार्ग पुरै नयाँ स्वरुपमा बिस्तार र स्तरोन्नती गर्न चारवटा प्याकेज बनाएर काम भैरहेको छ । मध्यपहाडी सडक आयोजनाले दिएको जानकारी अनुसार तीन वर्ष पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पुरै नयाँ बन्नेछ । २०५० सालमा निर्माण सम्पन्न भएको सडकका् धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँठाउँमा जाम समेत हुने गरेको थियो । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी संचालनमा समेत जोखिम थियो ।