नेपाली बाजा लोप हुँदै गएपछि लोक संस्कृति सङ्कटमा

0

रैथाने सीप र स्थानीय निर्माण सामग्रीको प्रयोग गरी बनाइने पराम्परागत नेपाली बाजा लोप हुँदै गएपछि म्याग्दीको लोक संस्कृति सङ्कटमा पर्न थालेको छ ।नयाँ पुस्ता पाश्चात्य गीत÷सङ्गीतको प्रभावमा पर्नु र पुरानो पुस्ताले सीप हस्तान्तरण गर्न नसक्नुजस्ता कारणले रैथाने सीप र स्थानीय निर्माण सामग्री प्रयोग गरी बनाइने मादल, मुरली, बाँसुरी, खैँजडी, डम्फु, मौरीबाजा, सारङ्गी, पियानोजस्ता बाजा लोप हुँदै गएका हुन् ।

कुनै बेला खुबै रुचाइने नेपाली मौलिक परम्परागत बाजा क्रमशः हराउँदै गएपछि मौलिक धुन पनि हराउँदै गएकोमा लोकगीत र लोकसङ्गीतका पारखीले चिन्ता व्यक्त गरेका छन् ।बेनी बजारका गीतकार, गायक तथा सङ्गीतकार सञ्जय श्रेष्ठले नयाँ पुस्ता गिटार, ड्रमसेट, किबोर्डजस्ता पश्चिमेली बाजाको प्रभावमा पर्दै गएपछि परम्परागत नेपालीबाजा लोप हुँदै गएको र मौलिक धुन पनि हराउँदै गएको बताउनुहुन्छ । नेपाली मौलिक बाजालाई विदेशी बाजाको प्रभावले विस्तारै ओझेलमा पार्न थालेको बताउँदै श्रेष्ठले परम्परागत बाजाको प्रयोग घट्दै गएकाले म्याग्दीको लोक संस्कृतिमाथि पनि सङ्कटको अवस्था उत्पन्न भएको बताउनुभयो ।

“म्याग्दीको पहिचान बोकेका यानीमाया, ख्याली, सालैजो जस्ता गीत गाउँदा बजाइने बाजा अहिले पाइनै छोडेका छन्”, सङ्गीतकार श्रेष्ठले भन्नुभयो, “आयातित पश्चिमेली बाजा प्रयोग गरेर यस्ता गीत गाउँदा न गीतको मर्म भेटिन्छ न त धुन र स्वरमा नै मिठास पाइन्छ ।” नेपाली लोकभाकामा अत्यधिक बज्ने मादल अहिले आधुनिक बाजा भित्रिएसँगै सङ्कटमा पर्दै गएको म्याग्दीका युवा गायक तथा हास्यकलाकार रवि कार्कीले बताउनुभयो । “यसले हाम्रो पहिचान र मौलिकपनालाई ओझेलमा त पारेको छ नै सँगसँगै यी बाजा बजाउने र बनाउनेको जीविकोपार्जनमा समेत समस्या पर्न थालेको छ ।”

पुर्खादेखि नै मादल बनाउने पेशामा संलग्न भकिम्ली चिनाखेतका धनबहादुर विक अहिले यो पेशाबाट मात्र गुजारा चलाउन समस्या भएपछि मादल बनाउन छोडेर डकर्मीको काममा लागेको बताउनुभयो । पच्चीस वर्षअघिसम्म मादलको राम्रै व्यापार भए पनि अहिले यो पेशाले जिउन समस्या परेको कारण पेशा परिवर्तन गर्नुपरेको उहाँको भनाइ रहेको छ ।

मादलका अतिरिक्ति नेपालीको अर्को मुख्य बाजा सारङ्गीको पनि अवस्था अहिले उस्तै रहेको छ । नौ वर्षको उमेरदेखि सारङ्गी बजाउने पेशाकै रूपमा लिएका दिलबहादुर गन्धर्वलाई अहिलेको अवस्थाले निकै विरक्त बनाएको छ । “नौ वर्षको उमेरमा सारङ्गी भिरेर घरबाट निस्केको हूँ, १०–१२ वर्ष अघिसम्म त सारङ्गी बजाएर गाउँघर डुल्दा खुब मानमनितो हुन्थ्यो, पैसा र अन्न पनि राम्रै पाइन्थ्यो”, ५४ वर्षीय दिलबहादुर गन्धर्वले भन्नुभयो, “अहिले त समय फेरियो, मान्छेले सुन्नै चाहँदैनन् ।” अरुका त के कुरा गन्धर्व समुदायले पनि यसप्रति बेवास्ता गर्दा यो बाजा लोप हुने हो कि रु भन्ने चिन्ता लाग्न लागेको उहाँको भनाइ रहेको छ ।