गोपाल आचार्य
धवलागिरी गाउँपालिका ७ मा रहेको ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय महत्वको ताकमकोत स्थित जगन्नाथ–अन्नपूर्ण मन्दिर पुनःनिर्माणका लागि शुक्रबार धारापानीका तेजेन्द्र थापाको अध्यक्षतामा निर्माण समिति गठन भएको छ ।

वडा अध्यक्ष कलानिधि सुवेदीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकबाट मन्दिर निर्माणको काम अघि बढाउन गठन गरिएको समितिको उपाध्यक्षमा नरकुमारी बुढा चयन हुनुभएको छ । सदस्यहरुमा छविलाल सुवेदी, गोविन्द पौडेल, टेकबहादुर फगामी, टेकसिं थापा, रामजी मल्ल, धनबहादुर फगामी र तेजिन्द्र थापा रहनुभएको छ । पुनःनिर्माणका लागि स्वदेश तथा विदेशमा सहयोग संकलन र समन्वयका लागि रिमप्रकाश थापाको संयोजकत्वमा यामबहादुर गर्बुजा, रेशमबहादुर भण्डारी, खड्गबहादुर थापा, यामलाल सुवेदी, शेरबहादुर बुढा र धनबहादुर गर्बुजा सदस्य रहेको समिति गठन भएको छ ।

१६ औ शताब्दीमा तत्कालिन थापा राजाले निर्माण गरेको मन्दिर वि.स २०७२ को भुकम्पका कारण जिर्ण बनेको थियो । साठी देखि असी लाख रुपैयाँ लागत अनुमान गरिएको मन्दिर पुनःनिर्माणका लागि स्थानीयबासी र प्रवासीबाट हालसम्म २९ लाख रुपैयाँ सहयोग घोषणा भएको छ । पुरातत्व विभागबाट अनुमति लिएर उसले स्विकृत गरेको डिजाइन अनुसार ऐतिहाँसीक महत्वका हात हतियार, मुर्ती, भाडाँकुडाहरु रहेको जगन्नाथ मन्दिरको भित्री संरचना र स्वरुपलाई यथावत राखेर पुनःनिर्माण गर्न लागिएको वडा अध्यक्ष सुवेदीले बताउनुभयो ।

कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहाँसीक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाल लगायतका हात हतियार छन् । सुरुङ्ग, छेलोको खत, ओखल, गस्ती स्थल, पर्खाल, ईटा, बंकर, ओदान, मन्दिर, मुर्ती, फलामको छाता, माटाको शंख, खानी, तामाका खड्कुला, कोइलाटा, गढी, किल्ला, तामाको आवाज आउने गल्छी, दमाहा स्वरुपको ढुंगा लगायत सामग्री छन् ।ताकम कोत म्याग्दीको प्रमुख शक्तिपिठ मानिन्छ । समुन्द्रि सतहदेखि दुई हजार ५०० मिटरको उचाईमा अवस्थित ताकमकोतबाट बाईसे चौबीसे राज्यका पालामा थापा राजाले दुई सय वर्षसम्म राज्य सञ्चालन गरेको ईतिहाँस छ ।

यहाँबाट गुर्जा, धौलागिरी, निलगिरी, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङखलाको साथै मनोरम पहाडी भुगोल, ग्रामिण बस्ती र सुर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ । मन्दिरमा जगन्नाथ, अन्नपूर्ण, दुर्गा लगायत देवी देवताको मुर्ती रहेका छन् ।पुजाआजा र भाकल गरेमा मनोकांक्षा पुरा हुने विश्वासका साथ नवदुर्गा, जेष्ठी पुर्णीमा, मंसिर पुर्णीमा, चैत्राष्टमी पर्वका अवसरमा पुजाआजा र भाकल गरि बली चढाउन भक्तजनको घँुईचो लाग्ने गर्छ । दैनिक पुजाआजा हुने ताकमकोतमा वडादसैको समयमा बिशेष मेला लाग्छ ।