अहिले जमराको जुस निकै चर्चामा छ । हरेक रोगको अचुक उपचार कै हदसम्म जमराको जुस सेवनको प्रचारप्रसार भइरहेको छ र मानिसहरुले त्यसमाथि अन्धधुन्ध विश्वास पनि गर्न थालेका छन् । त्यही कुराको प्रमाण हो, आजभोलि चोक चोकमा, गल्ली गल्लीमा र हुँदाहुँदा त मर्निङ वाक हिँड्ने समयमा समेत ठाउँठाउँमा जमराको जुसको व्यापार गर्नेहरुको संख्या पनि बढ्दै गइरहेका छन् ।

खासगरी, चिकित्साका विविध उपाय र विधिहरु अपनाउँदा पनि निको हुन नसकेको रोग जमराको जुसको सेवनले विसेक भएको, क्यान्सर निको भएको, डाइबिटिज ठीक भएको जस्ता चर्चा परिचर्चाले जमराको जुसको सेवन गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ । हुँदा हुँदा त विभिन्न अनलाइन तथा भाँडाका व्यापार गर्नेहरुले जमराको जुस निचोर्ने विशेष मेशिनकै समेत व्यापार व्यापक रुपमा गर्ने गरेका छन् ।

तर जमराको जुसको अन्धधुन्ध प्रयोग स्वास्थ्यको लागि खतरनाक हुन सक्ने चेतावनी विशेषज्ञले दिएका छन् । विशेष गरी, जमराको जुसले मानिसको रोग निको पार्छ भन्ने बारे हालसम्म नेपालमा कुनै ठोस अनुसन्धान भइनसकेको र तत्सम्बनधी वैज्ञानिक प्रमाण समेत उपलब्ध नभइनसकेको कारण जमराको जुसलाई ‘अहिले हरेक रोगहरुको रामवाण औषधि’को रुपमा प्रचार गरेजस्तो औषधि मान्न नसकिने’ चिकित्सक बताउँछन् ।

‘क्यान्सर ठीक भयो, सबै रोगहरु जमराको जुसले नै निको पारिदियो’

तर विगत ३ वर्षदेखि काठमाडौँमा जमरा जुसको व्यापार गर्दै आइरहेकी सीता भट्टराई भने आफूलाई जमराको जुसले नयाँ जिन्दगी दिएको बताउँछिन् । कसरी ठिक भयो त जमराको जुसले रोग भन्नेबारे आफूलाई नेपालकै पहिलो जमरा जुस उत्पादकको दावी गर्ने सीताले जमराको जुसबारेको उनले रातोपाटीसँग बाँडेको अनुभव र त्यसले निको पारेको उनको ‘असाध्य’ रोगको कथा निम्नानुसार छः

सुरुवातको समयमा बौँद्ध जोरपाटीमा जमरा जुस उत्पादन गर्दै आएकी सीताले अहिले माकलवारीमा यो व्यवसाय सञ्चालन गरिरहेकी छिन् । दैनिक धेरैलाई जमराको जुस खुवाउने गरेकी छिन् । एक जनालाई दिनमा ३० एमएल दिने गरेकी छिन् । उनी कहाँ जमराको जुस खाना आउनेमा सबै प्रकारको बिरामी छन् भने स्वास्थ्य मानिसले पनि जमराको जुस पिउने गरेका छन् ।

उनलाई २१, २१ वर्षको उमेरमा रक्तअल्पता (शरीरमा रगतको कमी हुने रोग एनिमिया) भयो । उपचारको लागि उनी एक महिनासम्म हङकङको अस्पतालमा बसिन् तर रोग पत्ता लागेन् । त्यस पछि भारतको एक अस्पतालमा सन् २००२ मा उपचार गर्न जाँदा छातीमा टि.वि. रोग देखियो । चिकित्सकले ९ महिनाको औषधि लेखिदिए । ६ महिनासम्म औषधि खाँदा खाँदै सीताको तौल बढेर ८९ किलो पुग्यो, जसले गर्दा उनको जीवन कष्टकर बन्दै गयो । दैनिक कामको लागि पनि अरुको साहरा चाहिने भयो । बिस्तारै उनमा माईग्रेन, आन्द्रा सम्बन्धी रोग, यूरिक इसिड, ग्यास्ट्रिक जस्ता बहुसमस्याहरु देखापर्न थाल्यो, हुँदाहुँदै घाँटी सुन्नियो ।  विभिन्न परिक्षणहरुले उनमा क्यान्सर भएको देखियो ।  उपचारको लागि परिवारले दिल्ली लगे । ३ महिनाको दिल्लीको बसाइमा भएको सबै पैसा सकियो । सास छउन्जेल आस भने जस्तै आफ्नो घर नै बैँकमा राखेर उपचार गरिन्, तर निको भएन । क्यान्सर लागेपछि बाचिन्छ होला भन्ने आश उनमा कम थियो, आफ्नो मृत्युपछि घर स्याहार्ने मान्छे चाहिन्छ भनेर एक जना युवती खोजेर ल्याइन् । समयमा उपचार भएको कारण क्यान्सरले ठूलो रुप देखाएन । तर तनावले गर्दा उनको माइग्रेन बढ्दै गयो ।

औषधि उपचार सबै गरिन् तर शरीरमा लागेको माईग्रेनलगायतका रोगहरु निको भएन । समस्याले  झर्ने घेर्दै लग्यो । त्यही बेलामा जमरा जुसले स्वास्थ्यलाई राम्रो हुन्छ भन्ने कुरा एक अमेरिकाको अनुसन्धानबाट देखिएको भन्नेबारे उनले सुनिन्, थाहा पाइन् । ‘मर्नुभन्दा बहुलाउनु निको’ भने झै उनले पनि पनि जमराको जुसलाई औषधि मान्दै खान थालिन् । त्यसको सकारात्मक प्रभाव पनि देखियो । बिस्तारै उनका समस्याहरु कम हुँदै गए, शरीरमा देखपरेका रोग कम हुँदै गए ।

असाध्य विरामीले गाँजेका सीताको रोग ठीक हुँदै गएको चर्चा एक कान, दुई कान हुँदै छरछिमेकमा चल्न थाल्यो । नजिकका आफन्त, छरछिमेकीकमा मानिसहरुले उनको कुरा सुने, पत्याए ।  जमराको जुसले आफूलाई फाइदा भएपछि उनले आफू जस्तै रोगका समस्यामा परेकाहरुलाई जमरा जुस बेच्न थालिन् । आफ्नो सबै रोग जमरा जुसले निको भएको सीता दाबी गर्छिन् । महिनावारी समयमा नहुने, आँखा डेरो हेर्ने, प्यारालाईसिस, उच्च रक्तचाप लगायत सबै प्रकारको बिरामीले जमराको जुस खाएर निको भएको सीता बताउँछिन् । जुस खान थालेको यो ३ वर्षमा आफ्ना सबै रोग निको भएको र अस्पतालको औषधि खानु नपरेको उनी बताउँछिन् ।

तर विशेषज्ञ भन्छन्ः जमरा जुस औषधि होइन

यसरी जमराको जुसले आफ्नो असाध्ये रोग निको भएको दावी गर्नेहरु र खानेको लर्को लागिरहँदा विशेषज्ञ चिकित्सक भने जमराको जुसले औषधिको रुपमा काम गर्ने कुरा प्रमाणित भइनसकेको बताउँछन् । वीर अस्पतालका कलेजो रोग विशेषज्ञ प्रोफेसर डाक्टर सुधाम्सु केसी ‘जमराको जुसको फाइदा वेफाइदाको बारेमा नेपालमा अहिले सम्म कुनै पनि अनुसन्धान नभएको हुँदा त्यसलाई औषधि मान्न र रोगहरुको उपचार गर्ने औषधिको रुपमा प्रयोग गर्न नहुने’ बताउँछन् ।

डाक्टर केसी भन्छन् ‘जुसमा केही फाइदा छ भने पनि जमराको जुस के रोगको लागि हो भन्ने बारेमा अध्ययन अनुसन्धान गरेर उत्पादन गर्ने हो भने व्यवसाय गर्ने र खाने दुवैलाई फाइदा हुने थियो ।’ डा. केसीका अनुसार, ‘अहिले आम रुपमा विश्वास र चर्चा गरिए जस्तो गरी जमराको जुसले हरेक रोगमा फाइदै फाइदा गर्छ भन्ने कुनै ग्यारेन्टी छैन । हो, त्यसमा भएको औषधीय तत्त्वहरुलाई प्रशोधन गरेर निकाल्ने र प्रयोग गर्ने हो भने त्यसले स्वास्थ्यलाई राम्रो गर्न सक्ला तर यहाँ त अन्धधुन्ध सबै रोगहरुको उपचार गर्ने औषधिको रुपमा त्यसलाई जुसको रुपमा खाइरहेका छौँ ।’

कलेजोको बिरामीमा समस्या देखियो ।

कलेजोका विरामीका लागि त जमराको जुस खतरनाक हुन सक्ने चेतावनी दिँदै डाक्टर केसी ‘कलेजोका रोगीले जमराको जुस नखाँदा नै राम्रो हुने’ बताउँछन् । कलेजो रोग विशेषज्ञ डा. केसीको अनुभवमा उनले उपचार गरेका कलेजो रोगीहरुलाई जमराको जुसले फाइदा गर्नुको साटो उल्टै नकारात्मक असर गरेको र धेरै समस्याहरु आएको कारण यस्ता बिरामीको लागि जमराको जुस हुँदैन ।

डाक्टर केसी आफ्नो अनुभव रातोपाटीलाई बाँड्ने क्रममा भन्छन् ‘ मेरो नियमित बिरामी स्वास्थ्य परिक्षणमा आए । उनको जन्डिस सामान्य अवस्थामा थियो र मैले सामान्यतया यस्ता बिरामीलाई १ देखि ३ महिनाको अन्तरमा फलोअपको लागि बोलाउने गर्थें । सो बिरामीलाई २ महिनामा बोलाएँ तर उनी १५ दिनमै आए । उनको अवस्था अस्पतालबाट गएको भन्दा झनै गम्भीर थियो । तत्कालै बिरामीलाई अस्पतालमा भर्ना गरियो ।  कुनै आयुर्वेदिक औषधि खाएको हो या रक्सी खाएको हो भन्ने प्रश्न पटक पटक गरें, तर बोलेनन् । पछि रगतको रिपोर्ट आएपछि फेरि सोधें । धेरै पटकको केरकारपछि विरामीले ‘अस्पतालबाट घरगएपछि बिहान–बेलुका जमराको जुस खाँएको बताए । उक्त घटना भएको केही दिन पछि फेरि त्यस्तै केस दोहोरियो । म जमरासम्बन्धी वैज्ञानिक अनुसन्धान गरेको विज्ञ मान्छे होइन तर कलेजोका रोगीहरुमा जमराको जुसले फाइदा गर्नुको साटो उल्टै समस्या बढेको  व्यवहारमा देखेपछि मैले त्यस्ता बिरामीले जमराको जुस नखानु भनेको हो ।’

साथै डाक्टर केसीले ‘जमराको जुसमा कुनै किसिमको क्यान्सरलाई ठिक पार्ने तत्त्व छ भन्ने मुसामा गरिएको परिक्षणबाट देखिएको तर मानव स्वास्थ्यमा त्यो परिक्षण भइनसकेका हुँदा  हल्लाको भरमा हरेक रोग निको पार्छ भन्ने अन्धविश्वासका साथ जमराको जुस नखान’ आग्रह गरे । ‘हाम्रो नेपालमा कुनै पनि जडीबुटीबाट बनेका औषधीहरुले साईडइफेक्ट नगर्ने नेपालीहरुको विश्वास रहेको  डाक्टर केसी भन्छन् ‘उदाहरणको लागि, जन्डिस भएको अधिकाश बिरामीले त्यस्ता औषधिहरु खाने गरेका छन् ,‘ जन्डिस भएका मान्छेहरु चिकित्सक कहाँभन्दा पनि जस्तोपायो त्यस्तै आयुर्वेदिक उपचारको शरणमा जाने धेरै छन् तर तीमध्ये धेरै चाहिँ रोग निको हुनुको साटो उल्टै बढाएर अस्पताल आउने गरेका छन् ।’

उदाहरण दिँदै डा. केसी भन्छन्, लामो समयसम्म रक्सी खाने व्यक्तिलाई जण्डिस हुन्छ । जण्डिस कलेजो बिग्रेर हुने हो यो जडीबुट्टीले निको हुन्न । सामान्यतः मेरो अनुभवमा हामीकहाँ दुई किसिमका बिरामी छन्, एक किसिमकोले जडिबुट्टी खान्छन् रक्सी छोड्छन् निको हुने अवस्थामा छ भने जडिबुट्टी खाएर होइन रक्सी छोडेर ठिक भएको हो । अर्काथरि बिरामी कस्ता छन् भने रोगले असाध्यै च्यापिसकेका मान्छे जडिबुट्टी खान्छन्, जसले गर्दा रोग बढ्दै जाने खुट्टा सुन्निने जस्ता समस्याहरु लिएर अस्पताल आउँछन् ।’

जमराको जुसको सवालमा भने कतिपय ब्लगहरुमा जमराको जुसले मलाई फाइदा ग¥यो भन्ने धेरै कुराहरु छन् । हिन्दूधर्म अनुसार ९ दिनको जमरा राखेर १० औ दिनमा सिरमा लगाउँने चलन छ । नौँ दिनको जमरा मुसालाई खुवाउदा क्यान्सर कम भएको भन्ने सन्दर्भमा डा. केसी भन्छन्, ‘यो अनुसन्धान मुसामा भएको हो तर मुसाको क्यान्सर निको पार्यो भन्दैमा मान्छेको क्यान्सर निको हुन्छ भन्ने कुनै ग्यारेण्टी छैन ।’ त्यस्तै, ‘कलेजो, मृगौलामा समस्या छ भने  पनि त्यस्ता व्यक्तिले जमराको जुस नखाँदा नै राम्रो हुने डाक्टर केसीको सुझाब छ । चेतावनीका भाषामा डा. केसी भन्छन्ः आयुर्वेदिक औषधिले स्वास्थ्यमा असर पार्दैन भन्ने भ्रम नराख्दा नै राम्रो ! अहिले यहाँ त आयुर्वेदिक औषधिले असर हुँदैन भनेर बिना अनुसन्धान, बिना प्रमाण खाने र खुवाउने काम भइरहेको छ,  यो गलत हो ।’ copyright: ratopati.com