नजिकै देखिने चाँदी जस्तै टल्कने हिमाल, बिहान उदाउने सूर्य गुर्जा, चुरेन र पुथा हिमालमा पर्दा सुनजस्तै टल्किने गूर्जामा आइतबार रातीदेखि परेको हिमपातले गाउँ आसपासका अग्ला डाँडाहरु हिउँले सेताम्मे भएका छन् । हिमपातले गुजमुज्ज गाउँका सबै घरधुरी सेतो घुम्तो ओढेकी बेहुली झैं देखिन्छ ।

समुन्द्री सतह देखी ३ हजार २ सय २० मिटर उचाईमा अवस्थित जिल्लाकै सबैभन्दा विकट अर्थात लुकेको बस्तीको रुपमा चिनिने गूर्जामा यो सिजनकै पहिलो हिमपातले स्थानीयबासी उत्साहित छन् ।हिउँमा बालबालिका देखि तन्नेरी सम्म रमाइरहेका छन भने अन्नबालीमा राम्रो हुने भन्दै कृषक मख्ख छन् ।हिउँले चम्किएको गूर्जामा अन्य बस्तीबाट हिउँमा रमाउन जाने सम्भावना भएपनि त्यही रहेका स्थानीय, कर्मचारी, शिक्षकहरुले आफ्नो मोवाईलमा हिउँको सेल्फी खिच्दै रमाइरहेको देखिन्छ ।

गूर्जा आसपासका अग्ला डाँडाँ नजिकबाट बस्तीमा हेर्दा आफ्नै घर समेत नचिन्ने गरी हिमपात भएपछि पूराना तथा मौलिका घरको माथी राखिएको दाउरा हिउँले छोपेको छ । गाउँ आसपासमा रहेका लोपउन्मुख थार, घोरल, झारल, नाउर जस्ता जंगली जनावर, चराचुरुङीको आवाज समेत हिमपातले सुनिदैन् । सुनसान जस्तै देखिने घनाजंगलभित्र जनावरले समेत सुरक्षित बासस्थान खोजिरहेको जस्तै देखिएको स्थानीयको अनुभुति छ।

हिमपात बाहेकपनि गाउँको प्राकृतिक सून्दरताको जति बख्यान गर्न मुस्किल हुने गूर्जामा हिमपात भएपछि हिउँले नै सबैका ध्यान तानेको छ । नेपालकै एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको दुईवटा ब्लक पर्ने गाउँ आसपासमै थार, झारल, नाउर, मृग जस्ता सुन्दर र चञ्चल बन्यजन्तु पाखारुमा भेटिने गरेको अवस्थामा हिमपातले बस्ती नजिक भेटिने बन्यजन्तुहरु समेत घना जंगलमा प्रवेश गरेका छन् ।

गाउँको पुछार भएर बग्ने धौलागिरी हिमालबाट म्याग्दी खोलाको सहायक खण्ड, गुर्जा खोला लगाएतका सहायक नदीले समेत गुर्जा खोलामा समेत सेताम्मे हिउँ बगेको छ । एउटै बस्तीमा एक सय ४२ घरपरिवारले बसोबास गर्ने गूर्जाबासीले हिमपातले खेतबारीमा लगाएको अन्नबाली बृद्धि हुने भन्दै निरन्तर हिमपातको कामना गरेका छन् । तस्वीर सौजन्य गुनराम छन्त्याल