सात सय पाँच वर्ष पछि बराह क्षेत्रको चतरा धाम सुनसरीमा हुन लागेको श्रीराम तारकब्रह्म महायज्ञका लागि म्याग्दीमा प्रचारप्रसार र सहयोग संकलन अभियान तिब्र पारिएको छ । महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान जगदुगुरु श्रीरामानन्दाचार्य सेवापीठको आयोजनामा यही माघ २७ देखि फागुन ७ गतेसम्म हुने महायज्ञमा वायुमण्डलको शुद्धता र पृथ्वीको उर्वराशक्ति बृद्धिको कामना गरिने श्रीराम तारकब्रह्म महायज्ञ सहयोग समितिका गण्डकी प्रदेशका सदस्य भोजवहादुर घिमिरेले बताउनुभयो ।

महायोगी सिद्धबाबाको सत्सङ्कल्पमा १ हजार २ सय साधकहरुद्धारा श्रीराम तारकब्रहम मन्त्रराजको १ अर्ब ६० करोड जप सहित १६ करोड हवनार्चन हुने घिमिरेले बताउनुभयो ।यस्तो महायज्ञ नेपालका लागि दुर्लभ भएको र संसारका चराचर प्राणीहरुको हितका लागि नाफा रहति उद्धेश्यले आयोजना गरिएको उहाँको भनाइ थियो । घिमिरेका अनुसार वि.सं १३७९मा पहिलो पटक रामानन्दीय श्रीवैष्णव सम्प्रदायका २२ औं आचार्य श्री राघवानन्दले पहिलो पटक नेपालमा यो महायज्ञ सम्पन्न गर्नुभएको थियो ।यस्तो यज्ञबाट उत्पन्न हुने धुवाँले प्रचुरमात्रामा अक्सिजनको उत्पादनका साथै ओजोन तहको घनत्व बृद्धि भई सूर्यबाट आउने हानिकारक विकिरणलाई छेकेर पृथ्वीलाई सुरक्षित गर्ने आयोजकको दावि रहेको छ ।–––