(वीणा झा)

चाणक्यले भनेका छन कि कुनै पनि समाज ध्वस्त पार्नु छ भने त्यसको शिक्षालाई कमजोर पारिदिनु पर्छ अरु काम आफै हुन्छ | जुन  शिक्षाले मानवता, मिहिनेत, संबेदनशीलता, सिर्जनशीलता र  नैतिकता  सिकाउन सक्दैन अनि  शिक्षालाई रोजगारी  संग  जोड्न सक्दैन  किताबका शब्दहरु  संग  भाव र ज्ञान जोडिन पाएन भने जति सुकै गहकिला संबेदनशील शब्दले पनि आफ्नो जिम्मेवारी प्रति  उत्तरदायी नागरिक  बनाउन छोड्दै जान्छ  जसले  गर्दा  ज्ञानको उपयोग  निर्माणमा भन्दा बिनाशमा हुन थाल्छ र समाज ध्वस्त हुन्छ |

अहिले स्थानीय तहलाई शिक्षाको जिम्मा दिएको भनिए पनि चाहे श्रोत व्यक्तिको नियुक्तिको कुरा होस् वा कुनै प्रशिक्षकको प्रशंग जसको लागी बिषयगत दक्षता भन्दा पार्टीगत घनिष्टता अनिवार्य रहेको देखिन्छ जसले भोलीको शिक्षा कस्तो होला सहजै अनुमान गर्न सकिन्छ | त्यस्तै स्थानीय तहका अवसर र सम्भावनाहरु स्थानीय तह मै बुझाउन सके हराउदै जान  थालेका शिप, संस्कार र क्षमतालाई अवसर संग जोड्न सके  जरा बाट पौष्टिक आहार पाएको  वृक्ष झैँ हाम्रो सामाजिक संस्कतिक परम्परालाई निरन्तर रुपमा बलियो बनाउन सकिन्थ्यो |

समाजका यस्ता स-साना कुराहरु जुन सर्बसाधारणको  जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ त्यस प्रति संबेदनशिल भै त्यसलाई बिशेस महत्वका साथ कार्यन्वयन गरिनु जरुरी छ|विश्वका नेता नेल्शन मण्डेलाले भनेका छन कि शिक्षा एक यस्तो शक्तिशाली औजार हो जसको सहायताले सामाजिक रुपान्तरण गर्न सकिन्छ | हरेक राजनीतिक दलका चुनाबी अजेण्डामा प्रमुख बुँदाकोरुपमा   सामाजिक रुपान्तरणलाई राखेका रहेछन त्यसैले चाहे सरकारमा बसेकाहरु हुन् वा प्रतिपक्षमा, यो सामाजिक रुपान्तरण सबैको  साझा जिम्मेबारी भित्र पर्ने कुरामा विवाद नहोला जसको लागी सार्थक शिक्षाका लागी सामुहिक प्रयास गरिएला भनि आस र बिश्वास गर्न सकिन्छ |

दुई साता अगाडी लामो अन्तराल पछी भेट भएका  एक  साथीसंग राजनीतिक लगायत अन्य परिबर्तनहरु बारे छलफल गर्दा गर्दै बिषयले अर्कै मोड लिएको थियो  | उनले आफु एक बिद्यालयका गार्जियन दिवसमा सहभागी हुन गएका बेला कसरी बिद्यालय परिसर भित्र नेपाली बोल्ने बिद्यार्थी सजायको भागीदार हुनुपर्ने भन्दै बिद्यालय प्रशासन हेर्ने एक जना शुट-टाई लगाएका व्यक्तिले स्कुले नानीहरुलाई भन्दै गरेको सुन्दा महशुस गरेका पिडा व्यक्त गरे | शिक्षा प्रतिको उनको चासो र चिन्ताले मलाई पनि छोयो |

केहि अनुत्तरित प्रश्नहरु मनमा उब्जे , हामी सबै सपना देख्दा वा केहि सोच्दा , जुन हाम्रो बोलचालको भाषा हो त्यसैमा देख्छौं र सोच्छौं | यदी साना नानीहरुलाई उसले बोल्ने भाषा बोल्नमा डर देखाइयो भने तिनका प्रतिभा प्रस्फुटन र  क्रियाशील क्षमताको विकास होला ?  अनि बिद्यालय गएका केहि महिना भित्र अंग्रेजी शब्दहरु प्रयोग गर्न थालेका बच्चाहरु प्रति अभिभाबक दंग पर्नु पर्ने जरुरी छ कि छैन त ? जुन रैम (rhyme) को मतलब समेत बुझेका हुदैनन त्यो रटेर गाउँदा, सिकाईएका भाब-भंगीमा देखाउदा ज्ञान बढेको मान्नु पर्ला कि नपर्ला  ?

आवश्यकता अनुसार चाइनिज, कोरियन, जर्मनी जस्ता भाषाहरु बिभिन्न उमेर समुहका व्यक्तिहरु  सिक्दै गरेका प्रशस्त भेटिन्छन तर जीवनका अति मुल्यवान समय जुन बेला आत्म-बिश्वास बढाउनु पर्ने, जीवनका मुल्य मान्यताको बिउ राखिनु पर्ने,जान्ने जिज्ञासालाई झन् झन प्रोत्साहन दियिनु पर्ने त्यो बेला डर, त्रास अनि भनेको मान्ने र रटेर ल्याउने बाहेक केहि सोच्न नदिने बाताबरण दियियो भने भोलिको समाजले कस्तो पुस्ता पाउला ? के शिक्षा भनेको फरर अंग्रेजी बोल्नु मात्रै हो ?  यी प्रश्नहरुले मनमा उथलपुथल मच्चाउदै अर्को प्रसंगलाई सम्झाई दियो |करिब ३-४ महिना अगाडी बिद्यालयबाट एक पत्र आउंछ, आउन लागेको जाडो बिदामा नजिकैको विदेश भ्रमणमा नानीलाई पठाउने कि नपठाउने भनी सहि गरेर पठाउनु  |

पत्र हातमा लिई बच्चाको अनुहारमा हेर्दा, सबै साथी जानलागेको र आफु जान पाएन भने साथीहरुले गिज्याउला भन्ने पिडा अनि बाल सुलभ घुम्न जाने रहर | पत्रमा उल्लेखित खर्च रकम अनि उक्त भ्रमण तयारीको लागी चाहिने खर्च एक सामान्य परिवारकोलागी चुनौती | एकातिर मातृत्व अर्कोतिर आर्थिक शक्ति अनि बिद्यालयलाई कुनै सहज बिकल्प छ कि भनेर सोध्दा, अभिभाबकहरु कै अनुरोधले  यसपाली समेत यो शैक्षिक भ्रमण आयोजना गरिएको जानकारी | बडो उकुसमुकुसको अवस्था | एक्लो बृहस्पति त  झुठा बनाइन्छ भने म एक्लोको प्रयासले के हुन्छ भन्ने ती आमाको पीडादायी अभिव्यक्ति |

कुराहरु सुनिरहदा फेरी मन भित्र  अनुत्तरित  प्रश्नहरुको घुइंचो | के १४/ १५ बर्षका स्कुले नानीहरुलाई नेपाल भित्रका समाज डुलाउन र बुझाउन जरुरी कि बिदेशका ठुला ठुला भवन अनि प्रदूषण देखाउन ? मौसम अनुसारको ठाउँ रोजी नेपालको भौगोलिक विकटता, सामाजिक बिबिधता, संघर्षरत जीवनहरु देखाउदा समाजसंग अपनत्व बढ्थ्यो  अनि भोलिका दिनमा निर्णायक तहमा पुग्दा ती भ्रमणहरुले देखेका चुनौतीहरु भित्र अवसर खोज्न सक्थे कि ? भ्रमण कै क्रममा भेटेका समान उमेरका साथीहरु संगका आत्मीयताले तिनका शिक्षालाई मानवता संग जोड्न मदत गर्थ्यो कि ? जसले गर्दा बिबिधतामा एकता भन्ने कुरा शब्दमा होइन ब्यबहारमा महशुस गराउन सकिन्थ्यो कि ? उत्तर पाईएन बरु झन मन दुख्यो ती नानी जो आर्थिक कारणले भ्रमणबाट बन्चित भएको सुन्दा |

संगसंगै ति भ्रमणमा जानेका लागी पनि खुशी हुन् सकिन किनकी तिनीहरु  आफ्नो देश,भाषा,संस्कृति  बुझ्ने अवसरबाट बन्चित गरिए | कारण बिबिध होला, ट्राभल एजेन्सी र बिद्यालय बिचको सामिप्यता, आर्थिक क्षमताको आधारमा पाइने सामाजिक प्रतिस्ठा वा शिक्षाको मर्म नै न बुझेका शिक्षाका ठेकेदारहरुको बाहुल्यता तर कारण जे रहेपनि असर त अबोध नानीहरुलाई नै पर्यो अनि दिर्धगामी रुपमा  समाज र देशलाई पनि |

आज हामी सबैले कुनै न कुनै रुपमा भोग्दै गरेका अराजकता, सामाजिक स्वीकारोक्ति बिहिन निर्णयहरुका दुस्परीणाम अनि एक अर्को नेपालीको अस्तित्व प्रतिको बढ्दो  अविश्वास कतै सार्थक  शिक्षाको अभावले  त होइनन ? लिखित परिक्षामा उच्च अंक ल्याउनु मात्रै शिक्षा को उदेश्य  हो कि जीवन उपयोगी बुझाई र कला सिकाउनु ?

यदि शिक्षाको बास्तविक मर्म बुझी शैक्षिक कार्यक्रमहरु तय गरिने हो भने हामी संग त ठुलो अवसर छ किताबमा पढ्ने , पसलमा पाइने ति सबै बस्तुहरुका उत्पादन श्रोत, रुप रेखा र श्रमशिल हातहरु अनि किताबमा कोरिएका तराई,पहाडका  खेत र गोठका  चित्रहरु  प्रत्यक्ष अवलोकन गराउन सकिन्छ शिक्षा भनेको किताबी अक्षर मात्रै पढ्नु / पढाउनु कदापि होइन | सकारात्मक सोच, मानबता, सिर्जनशीलता र कर्तब्य परायणता समेत सार्थक शिक्षा भित्र पर्छ |

बिद्यालय जाने नानीहरु किताब बाहेकका थुप्रै कुराहरु शिक्षकका ब्यबहार, बिद्यालय प्रशाशनका नीति र कार्य तथा साथी समुहबाट पनि सिक्द्छ्न | यदि बिद्यालयमा स-साना अबोध नानीहरु आर्थिक क्षमताका आधरमा अवसर पाउने र गुमाउनु पर्ने बाताबरण भोग्छन  भने भोलिको समाज भ्रस्टाचार मुक्त बन्ला ? जुन शिक्षाले समानता, सम्बेदनशिलता र जिम्मेबारी बहन गर्न अनि एक अर्काको अस्तित्वलाई सम्मान गर्ने सिकाउदैन त्यसले सामाजिक रुपान्तरणका लागी सहयोगी भूमिका खेल्ला ? सामाजिक विकास र समृधि ल्याउला ?

त्यस्तै दिमागले सम्झाएको अर्को अस्ति भर्खरको प्रसंग,  एउटा  बिद्यालयमा कक्षा ९मा अध्यनरत एक साथीको नानी घर पुग्दा अचम्मको ब्यबहार गर्न थालिन, “मामु तपाई छिटै घर फर्किने गर्नुस ” भन्दै आफ्ना भएभरका छोटा फ्रक, स्कर्ट अनि बाहुला बिहिन सबै लुगाहरु जुन उसले कुनै समयमा आफै रोजेर बडो खुशीका साथ किनेका थिए, सबै थुपार्दै, “मामु, यो सब अब मलाई चाहिदैन, म लगाउदिन ” भन्न थालिन  |

अचानक को यस्तो परिवर्तित ब्यबहार प्रति अचम्भित आमा त्यति बेला केहि बोलिनन तर सुत्ने बेला काखमा नानीको टाउको राखी मायाले सुम्सुम्याउँदै सोध्दा, कारण जानेर दुखि मात्रै होइन क्रोधित पनि बनाएको भन्दै सुनाउदै गर्दाको मुटु नै छियाछिया भएको महशुस गरेको थिए | कारण के रहेछ भने ,त्यो नानीको नेपाली पढाउने शिक्षिकाले पाठ्यक्रममा रहेको महिला हिंसा भन्ने पाठ पढाए पछि निचोडमा भनेकी थिईन महिला हिंसाको कारण महिला आफै हो |

बलात्कारका बढ्दो घटना त्यतिकै भएको होइन, केटिहरुका छोटा लुगा र  ढिला सम्म घर बाहिर बस्ने बानी यसको प्रमुख कारण हुन् | त्यस कै  असर थियो त्यो नानीको अचानक परिवर्तित ब्यबहार | यो घटना सम्झिदा मनमा कुनै प्रश्न आएन बरु कतिपय उत्तर हिन प्रश्नहरु चुपचाप स्वीकार्न बाध्य भएँ | जस्तो कि  निर्णायक भूमिकामा रहेकाहरु शब्द, ब्यबहार र कार्य द्वारा महिलाको बराबरी अधिकार प्रति सकारात्मक सोच किन राख्दैनन् | किन न्याय को खोजीमा भौतारिनु पर्दा पीडादायी ब्यबहारहरु भोग्नु परेको हुन्छ महिलालाई |

कुनै जिम्मेबार पदका लागी लिईने अन्तर्वार्तामा किन एक महिलाको कार्य क्षमता भन्दा पनि पारिवारिक स्वीकृति छ कि छैन भन्ने जान्न खोजिन्छ | यी र यस्ता यावत प्रश्नहरुका जवाफ खोज्न आवश्यक लागेन बरु समानतामा आधारित समाजको परिकल्पना गर्न सकिन  अनि किताबका पानामा मात्रै राम्रा कुरा लेखेर नहुदो रहेछ त्यो पढाउने व्यक्ति पनि बिषय प्रति त्यतिकै संबेदनशील हुनु पर्दो रहेछ  भन्ने कुरा कहिले सर्बत्र महसुस गरिएला भनी चिन्ता लाग्यो |

अनि एक शिक्षकको भनाइ सम्झे “महात्मा गान्धीको जीवनी कन्ठै पारेका विद्यार्थीले  आचरणमा अहिंसा र सत्यता देखाउन सक्दैन भने त्यो शिक्षाले कसरी सामाजिक रुपान्तरण गर्ला ?”  हुन पनि हो जुन शिक्षाले उसको आमा-बाबा,परिवार, समाज र देशलाई माया गर्न सिकाउन सक्दैन त्यो शिक्षा आजको आबश्यकता हो ?

फेरी ति सबै अभिभावक जो आफ्ना अनेक आवश्यकतालाई कटौती गर्दै आफ्ना नानीहरुका उज्वल भविष्यका लागी राम्रो भन्दा राम्रो बिद्यालय खोजीमा ब्यस्त भएको देख्छु  “राम्रो ” को परिभाषा के ? जान्न  मन लाग्यो | अनि भन्न पनि मन लाग्यो, आफ्ना नानीहरु पाठ्य पुस्तकका अलाबा के के सिक्दै छन भनी चासो राख्नुका साथै बिद्यालयका अनाबस्यक कार्यक्रम यदि व्यक्तिगत रुपमा पनि चित्त बुझेन भने त्यसको बिरोध गर्नु आवश्यक छ न कि कसैले केहि भनेन भनी चुपचाप सहभागिता जनाउनु | सार्थक शिक्षा आजको आबश्यकता हो जसको लागी सामुहिक प्रयास जरुरी छ |

प्राध्यापक-न्यु वेस्ट प्वाइन्ट, बेनी