विकास निर्माण र सेवा प्रवाहको बारेमा स्थानीयबासीको गुनासो, अपेक्षा, सुझाव संकलन तथा सम्बोधन गर्ने उद्देश्यले म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङमा शनिबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

धवलागिरी गाउँपालिकाको आयोजना, म्याग्दी मिडिया सोसाइटी, संगम र कदम म्याग्दीको व्यवस्थापन तथा सहजिकरणमा सुनुवाई गरिएको हो ।कार्यक्रममा मराङ र मल्कवाङका बासिन्दाहरुलाई गाउँपालिकाको केन्द्र टाढा हुँदा समस्या भएको, यातायात र सडक सुबिधालाई सहज बनाउन तथा सार्वजनिक सेवामा सहज पहुँच हुने वातावरण मिलाइदिन आग्रह गरेका थिए ।

यसैगरी विकास योजना छनौट देखि कार्यान्वयन प्रक्रियालाई सहभागितामुलक र पारदर्शी तथा मितब्ययी बनाउन सुझाव दिएका थिए ।कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले सार्वजनिक सेवा प्रवाहमा आम नागरिकको सहज पहुँच स्थापित गराउन प्राथमिकता दिएको बताउँदै शुसासनमा जोड दिनुभयो । प्रजिअ अधिकारीले एकिकृत घुम्ति शिविर, विपद् व्यवस्थापनका लागि एक वार्ड एक हेलिप्याड लगायतका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले भौगोलिक प्रतिकुलताका कारण विकास र सेवा प्रवाहमा धेरै चुनौति भएपनि त्यसलाई समाधानका लागि पूर्वाधार विकास, प्रशासनिक सुधार र सहजता गरिएको बताउनुभयो ।अध्यक्ष पुनले विद्युत, यातायात, खानेपानी, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा प्राथमिकता दिएको बताउँदै गाउँपालिकाका योजना तथा कार्यक्रमको कार्यान्वयमा जनताले सक्रियताका साथ सहयोग तथा सहभागिता जनाउनुपर्ने बताउनुभयो ।

उपाध्यक्ष रेशम छन्त्यालले भौतिक पूर्वाधार विकाससँगै धवलागिरी गाउँपालिकामा बालबिवाह, मदिरा, लागू औषधको प्रयोग न्युनीकरणका लागि अभियान चलाइएको बताउनुभयो । उहाँले अन्यायमा परेकाहरुलाई न्यायीक समितिबाट सेवा लिन आग्रह गर्नुभयो ।प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले गाउँपालिकाले चालू आर्थिक वर्षमा बजेट बिनियोजन गरेका १२० वटा मध्य हालसम्म ४५ वटा योजनाको सम्झौता भएको, पुजीगत बजेट १३ र समग्रमा २९ प्रतिशत वित्तिय प्रगति भएको जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षता, उपाध्यक्ष छन्त्यालको स्वागत र कदम म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलको सञ्चालनमा भएको कार्यक्रमको सहजिकरण पत्रकार महासंघका गण्डकी प्रदेश सदस्य तथा मिडिया सोसाइटीका प्रतिनिधि सन्तोष गौतमले गर्नुभएको थियो ।