‘व्यावसायिक शान्तिसुरक्षा, आजको आवश्यकता’ भन्ने नारासहित म्याग्दी सुनचाँदी व्यवसायी संघले जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई टेलिभिजन सेट सहयोग गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुनचाँदी व्यवसायी संघले एक सेट एलइडी टेलिभिजन सहयोग उपलब्ध गराएको हो ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, म्याग्दी सुनचाँदी व्यवसायी संघका अध्यक्ष चन्द्रप्रकाश बराईली, संघका केन्द्रीय सदस्य रामकृष्ण बराईली, संघका पूर्व जिल्ला अध्यक्ष जीवनबहादुर विश्वकर्माले संयुक्त रुपमा प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगरलाई उक्त टेलिभिजन सेट प्रदान गरेका थिए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत संघले प्रहरी कार्यालयको परिसरमा रहेको प्रतिक्षालयमा सन्देशमूलक सामग्रीहरु प्रचारप्रसार तथा प्रसारण गर्नका लागि ६३ हजार रुपैयाँ मुल्य बराबरको एलजी कम्पनीको एलईडी ४३ ईन्चको टेलिभिजन सहयोग गरिएको सुनचाँदी व्यवसायी संघका महासचिव कमल विश्वकर्माले बताउनुभयो । सो टेलिभिजनमा पेनड्राइभ राखेर कार्यक्रमहरु हेर्न सकिन्छ भने वाईफाई र एफएम रडियोको पनि सुविधा रहेको छ ।

प्रहरीले सञ्चालन गरेको समुदायसँग प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत संघले उपलब्ध गराएको टेलिभिजनलाई प्रहरी कार्यालयको प्रतिक्षालयमा सन्देशमूलक सामग्री प्रसारणको समेत सुचारु गरिएको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई विभिन्न जनचेतनामूलक तथा सन्देशमूलक सामग्री प्रदर्शन गर्न संघले उपलब्ध गराएको टेलिभिजनले सहयोग पुग्ने प्रनाउ बुढामगरले अपेक्षा गर्नुभएको छ ।

टेलिभिजन हस्तान्तरण गर्दै नगर प्रमुख श्रेष्ठले समुदाय–प्रहरी साझेदारी कार्यक्रम विद्यालय र टोलटोलमा पुगेको बताउनुभयो। उहाँले जुनसुकै मुलुकको विकासका लागि पनि शान्तिसुरक्षा पहिलो प्राथमिकता भएको बताउँदै समाजमा सु–शान्ति कायम र सुशासनको वातावरण बन्दै गैरहेको बताउनुभएको छ ।

कार्यक्रममा प्रजिअ अधिकारी, संघका केन्द्रीय सदस्य बराईली, पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्मा र संघका पूर्व अध्यक्ष विश्वकर्माले समुदाय–प्रहरीबीचको साझेदारी कार्यक्रमले समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सहयोग पुग्नेमा जोड दिनुभयो । कार्यक्रम संघका अध्यक्ष चन्द्रप्रकाश बराईलीको अध्यक्षता, पूर्व अध्यक्ष जीवन विश्वकर्माको स्वागत र वर्तमान महासचिव कमल विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो । यसअघि पनि प्रहरी कार्यालय परिसरमा प्रहरीको सक्रियता र स्थानीयको सहयोगमा महिलामैत्री भवन निर्माण गर्नुका साथै नगर प्रमुख श्रेष्ठले पनि एक सेट टेलिभिजन सहयोग गर्नुभएको थियो ।