जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ६ घारमा नसर्ने रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको छ । ग्रामिण क्षेत्रका जनतालाई नसर्ने रोग सम्बन्धि जानकारीको अभावका कारण धेरै नेपालीको मृत्युको कारण बनेको नसर्ने रोगका बारेमा स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा नसर्ने रोगको पहिचान र निदानका उपायका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रमको उद्घाटन गदैं गाउँपालिका उपाध्यक्ष केशमायाँ मगरले जनचेतनाको अभावका कारण ग्रामिण क्षेत्रका जनतालाई सर्ने र नसर्ने रोगका बारेमा जानकारी नभएको अवस्थामा जनचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिने बताईन् ।
‘जनचेतनामुलक कार्यक्रमबाट पनि धेरै सचेत बनाउन सकिन्छ,‘स्वास्थ्यकर्मीलाई घरदैलोमै पुगेर सेवा दिने वातावरण बनाउँछौ’ मगरले भनिन् ।कार्यक्रममा वडा अध्यक्ष कृष्ण बहादुर बरुवालले शिविर तथा सचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए ।

उनले वडास्तरको बजेटले मात्रै अपुग हुने भएकाले गाउँपालिका तथा प्रदेश र केन्द्र सरकारले समेत जनतालाई स्वास्थ्य सम्बन्धि ज्ञान तथा घरदैलोमै सेवाको वातावरण बनाउनुपर्नेमा जोड दिए । सोही अवसरमा गाउँपालिका स्वास्थ्य संयोजक समुन्द्र बरुवाल सहितको टोलीले ४३ जनाको सुगर र प्रेसरको चेकजाँच गरेका थिए । जसमा केहीले नियमित औषधी सेवन गर्नुपर्ने बताइएको थियो ।

उच्च रक्तचाप, हृदयघात, मधुमेह, क्यान्सर, मृगौला, मष्तिष्कघात लगायत नसर्ने रोग न्युनीकरणका लागि समुदाय स्तरमा स्वस्थ्य खानपान, सक्रिय जिवनशैली अपनाउनुपर्नेमा जोड दिइएको थियो । म्याग्दीमा सुर्तिजन्य र पदीरा सेवन, अस्वस्थ खाना, अव्यवस्थित खानपान लगायतको कारण एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने तर दिर्घरोगबाट पिडित हुनेहरुको सख्ंया बढ्दो क्रममा देखिएको छ ।