घायलश्री/तपाई म्याग्दी जिल्लाभित्रका कुनै पनि कार्यक्रममा जानुभएको छ भने पातलो अनि शरिर अनुसारको मिल्दो उचाई भएको एक ब्यक्तिले हातमा डायरी लिएर केही लेखिरहेकोे तपाई देख्नुहुनेछ । यति भैसकेपछि तपाई उसलाई चिनिसक्नुहुनेछ । नभए अनुमान लगाई सक्नुहुनेछ कि यो पक्कैपनि पत्रकार हुनुपर्छ ।

तपाईले अनुमान सहि लगाउनु भएको छ । यी ब्यक्ति हुन् म्याग्दीका पत्रकार सन्तोष गौतम । म्याग्दी जिल्लाभित्र हुने गरेका हरेक कार्यक्रमहरुमा प्रायः सहभागिता जनाउछन् उनी । स्थलमै पुगेर समाचार सङ्कलन् गर्छन् । यो उनको आफ्नै विशेषता हो ।२०६१ सालमा उच्च शिक्षा अध्ययन गर्न ताकमदेखि बेनी झरेपछि उनका सङ्घर्षका दिनहरु शुरु भएका हुन् । म्याग्दी बहुमुखी क्याम्पसमा आई कम भर्ना भएसँगै अनेरास्ववियु क्रान्तिकारीबाट राजनीति शुरु गरेका उनी क्याम्पस इकाई कमिटी अध्यक्ष भएर विद्यार्थी राजनीतिमा सामेल भए ।

सिङ्गो पार्टी नै शान्ति प्रकृयामा आएपछि मात्र उनले ब्यवसायिक पत्रकारिता शुरु गरेका हुन् । क्रान्तिकारी पत्रकार सङ्घ म्याग्दी– २०६५को सचिव हुँदै ६९मा अध्यक्षको भूमिकामा रहेका उनले आफ्नो कार्यकालमा ‘कृष्णसेन ईच्छुक क्रियाशील पत्रकारिता पुरस्कार– २०६९’ स्थापना गरे जसमा कमल खत्री, सन्दिप खत्री, पदम वि.क. लगायतको ठूलो सहयोग रहेको थियो ।

शुरुवाती दिनहरुमा पोखरा पत्रको वितरक भए । त्यसैसमय सक्रिय साथीहरु (उनी लगायत अगन्धर तिवारी, हरिकृष्ण गौतम, ठाकुर आचार्य, दिपेन्द्र श्रेष्ठ लगायत) मिलेर नव विकल्प साप्ताहिक पत्रिका प्रकाशन गरे । त्यसैसमय राससमा पनि काम गर्ने अवशर पाएका उनले २०६४ बाट सगरमाथा टि. भी.मा संवाद दाताको रुपमा अनुवन्दित भए । २०६४ सालमा म्याग्दी काली एफ. एम स्थापनासँगै वरिष्ठ संवाद दाताको रुपमा काम गर्ने अवसर पाए ।

२०७० सालमा धौलागिरी टि.भी, ७० मै रातोपाटी अनलाइन्, २०७३ मा आर्थिक कारवार राष्ट्रिय दैनिक, २०७५ बाट अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा आवद्ध हुँदै राष्ट्रिय दैनिक तथा मूल धारका पत्रिकाहरुमा आफ्नो बलियो उपस्थिति जनाए । २०७५ सालबाट ‘रिखार’ दैनिक पत्रिकाको प्रकाशकको भूमिकामा रहेका उनी नेपाल पत्रकार महासङ्घको केन्द्रिय पार्सद तथा पत्रकार महासङ्घ गण्डकी प्रदेसको प्रदेस सदस्य समेत रहेका छन् । मेहेनति, लगनशीलता र आफूप्रतिको जिम्मेबारीलाई गहन रुपमा पूरा गर्ने भएकै कारण उनले छोटोे समयमा ठूलो सफलता पाएका छन् ।

जिविसले प्रधान गर्ने ‘विकास पत्रकारिता पुरस्कार– २०६२’ बाट सम्मानीत उनी ‘शिक्षा पत्रकारिता लेखनबृत्ति पुरस्कार– २०६४’ बाट पनि पुरस्कृत भएका छन् । त्यस्तै ‘कृषि पत्रकारिता पुरस्कार– २०६४,’ राससबाट उत्कृष्ट समाचारदाता– २०६२, ‘कृयाशील पत्रकारिता पुरस्कार– २०७४’ लगायत दर्जनौ पुरस्कार र सम्मान पाएका गौतम समाचारकै माध्यमबाट राम्रा कामहरुको प्रोत्साहन र नराम्रा कामहरुको खवरदारी गरिरहेका छन् । पत्रकारिता मार्फत नै आफ्नो जिविको पार्जन गरि सामाजिक दायित्व पनि पूरा गरेका छन् ।

पत्रकारिता क्षेत्र संवेदनशील हुँदाहुँदैपनि यसप्रति अझैपनि कतिको नकारात्मक धारणा रहेको उनको बुझाई छ । घटना स्थलमा पुगेर सत्य तथ्य र निष्पक्ष समाचार प्रस्तुत गर्ने, स्थलगत रिपोट तयार गर्ने उनी जस्ता श्रमजिवि पत्रकारहरुलाई जुनसुकै समाजले महत्व दिएकै हुन्छ र दिनुपनि पर्दछ । उनका आगामी दिनहरु सत्य, तथ्य र खोजि पत्रकारितामा बितोस्, हार्दिक शुभकामना ।