घायलश्री/होचो कद, हल्का कालो तर हँसिलो अनुहार, फिजारिएको कपाल, ओठहरु सधैं गुलाबी लालीले सिगार्ने सुरिलो स्वरकी धनी म्याग्देली नव गायिकाको नाम हो विमला श्रेष्ठ । २०५० साल अषाण २१ गतेका दिन पिता निमप्रसाद श्रेष्ठ र माता मीनाकुमारी श्रेष्ठको पहिलोे सन्तानको रुपमा मङ्गला गाउँपालिका– २ तल्लो डडुवा, म्याग्दीमा जन्मिएकी उनी सानैदेखि हकी स्वभावकी छन् । उत्तिकै मिलनसार र दयालु पनि छन् । सफल जिन्दगी भनेकै सङ्घर्ष हो भन्ने बुझेकी उनी सङ्घर्षबाटै यहाँसम्म आईपुगेकी हुन् ।

गीत सङ्गीतलाई सानैदेखि माया गर्ने र मन पराउने भएपनि २०७२ सालमा युवराज आचार्यको सहयोगमा अर्जमको तीजको मेलामा गएर गीत गाउने अवसर पाएपछि भने साच्चिकै उनी गीत गाएर म अगाडि बढ्न सक्छु भन्ने अठोटका साथ साङ्गीतिक दुनियाँमा आईपुगेकी हुन् । त्यपछि नै उनी साङ्गीतिक साथीहरुसँग सम्पर्क बढाउन थालिन् । सहयोगी हातहरुपनि बढ्न थाले । २०७३ सालमा ‘खुसी आँसुले लैदियो’ लोक दोहोरी गीत निकाल्न सफल पनि भइन् । उनलाई म्याग्दी लोक तारा–२ का विजेता शक्ति छिनालले गायनमा साथ दिए ।

बाबुराम रसाईलीको शव्द सङ्कलन रहेको उक्त गीतमा ध्रुव जिसी र शारिका केसीको मोडलिङ रहेको थियो । भुपेन बानियाँको निर्देशनमा तयार भएको उक्त गीतको भिडियो बजारमा आएपछि उनमा आत्म विस्वास बढ्दै र चुनौतीहरु पनि थपिदै गए । २०७४ मा कमल सुशान्त सिंहसँग ‘के आयो जमाना’ तीजको गीत गाएकी विमलाले प्रकास रसाईलीको साथमा ‘चोखो माया सानुले’ २०७५ छिट्टै बजारमा ल्याउने तयारीमा छिन् ।

शिक्षण पेसामा आवद्ध विमला निरन्तर गीत÷सङ्गीतमा लाग्ने योजना बनाएकी छन् । उनले अहिलेसम्म कुनैपनि गीतहरुमा आफूले लगानि गर्नुपरेको छैन । बागलुङ, पर्वत, म्याग्दी, नवलपरासी, कास्की, तनहुँमा गरि लगभग तीन दर्जन स्टेज कार्यक्रमहरुमा आफ्नो प्रस्तुती दिईसकेकी उनलाई आफूले सोचे अनुसार पढ्न नसकेको कुराले भने बारम्बार सताइरहन्छ । सामान्य किसान परिवारमा जन्मिएकी उनी २०६८ सालमा जनकल्याण मा.वि. पुलाचौरबाट दुःखले एस. एल. सी पास गरेपछि भने उनको पढाई त्यहाँभन्दा अगाडि बढ्न सकेन । पढ्न नसक्नुको दुःखको कहानी उनले आफ्नैे छातीभित्र लुकाएकी छन् ।

आफ्नो पढाई अधुरो भएपनि दुई बहिनी र एक भाइलाई पढाउने गहन जिम्मेवारी बोकेकी उनले सुमधुर गीत त गाउछिन् नै, त्यसको अलावा उनी भलिवल खेलाडी पनि हुन् । स्कुले जीवनमा धेरैपटक भलिवल खेलेर पुरस्कार समेत जितेकी विमला अहिलेसम्म अविवाहित नै छन् । समय आएपछि विहेको लगनले आफैंलाई खोज्दै आउने उनको विचार र भावि योजनाहरु सफल बनून्, हार्दिक शुभकामना ।