संगम घर्तीमगर / कार्यक्रमको नाम सुन्दै अनौठौ लाग्ने । नेपाली संस्कृति विदेशी प्रस्तुती । नेपालको संस्कार र संस्कृति पनि कसैले सिकेको छ होला र ? भन्ने प्रश्नहरु प्रसस्त आउँछन् । अहिले नेपालमा निकै बहस भैरहेको विषय हो, नेपालको संस्कार र संस्कृति विस्तारै हराउँदै गयो । पाश्चात्य संस्कारले नेपालीपनको मौलिकता पनि हराउने अवस्था आयो भनेर यत्रतत्र चिन्ता जाहेर हुन्छ । यद्यपी यस विषयमा चिन्तन भएको कमै पाईन्छ । महारात्री अबसर ।
अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (ईस्कोन) बागलुङको आयोजना । कार्यक्रमको नाम ‘नेपाली संस्कृति विदेशी प्रस्तुती’ । दिन ओरालो लाग्दै गयो, बागलुङको कालिगण्डकी चलचित्र मन्दिरमा एक—एक गरेर दर्शकको उपस्थीति बाक्लियो । पछिल्ला दिनहरुमा यहाँका चलचित्र मन्दिरले हाउसफुल दर्शक नदेखेको सायद महिनौं बित्यो क्यारे ।
तर यो कार्यक्रममका लागि भने हाउसफुलको बोर्ड लगाए पनि नथामिने गरी दर्शकको आईरो लाग्यो । अँध्यारो बन्द हलभित्र हल क्षमता भन्दा बढि खचाखच दर्शकले भरिएपछि दिनको साढे चार बजे ‘सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली’ बोलको नेपाली राष्ट्रिय गानले हल गुन्जायमान भयो ।
स्टेजमा नेपालको राष्ट्रिय झण्डा पहराउँदै विदेशी अनुहारका कलाकारहरु देखा परे । दर्शक दिर्घाको बाक्लो उपस्थीतिले चर्को हुटिङ लगायो । केही अचम्म मान्दै कानेखुसी गर्न लागे । कहिल्यै राष्ट्रिय गान नगुनगुनाएकाहरु पनि आफ्नो कुर्चीबाट उठेर विदेशी कलाकारसंगै राष्ट्रिय गान गाउन थाले । सुरुवातमै रोचक माहोल सिर्जना भयो ।
दुर्लभ रुपमा खचाखच हुने कालिगण्डकी चलचित्र मन्दिरको हलमा पुरै भरिभराउ दर्शकले विकल्पको कल्पना गर्न नपाउँदै चार घण्टा लामो नेपाली संस्कृतिको प्रस्तुत सकियो । विश्वका १० वटा देशबाट बागलुङ आएका कलाकारहरुको जादुयी प्रस्तुतीले कैयौं नास्तिक सोंच राख्नेहरुलाई एक पटक पूर्वीय दर्शन र भगवानको बारेमा सोंच्ने र धार्मिक किताबहरु किनेर पढ्ने विचार जन्माईदियो ।
चलचित्रको पर्दामाझै बिना रोकावत चलेको प्रस्तुतीले मनोरञ्जन र ज्ञान दुबै प्रदान ग¥यो । छिनभरमै नेपाली भजनमा नृत्य र छिनभरमै चलचित्रको नाटक जस्तो हाउभाउ र प्रस्तुती । चार घण्टा लामो प्रस्तुती बागलुङका दर्शकलाई छोटो लाग्यो । कहिले सुन्दर परीको भेषमा कहिले खतरनाक नागिनको भेषमा कलाकारहरु स्टेजमा आउँदा दर्शकहरु सम्मोहित देखिन्थे ।
‘मैले धार्मिक संस्थाले गरेको कार्यक्रम धर्मसम्बन्धी प्रवचनहरु होला भन्ठानेको थिएँ,’ कार्यक्रम हेर्न हलमा पुगेका नविन शिसिरले भने,‘काममा अल्झिनु परेकाले सुरुको केही भाग हेर्न गुमाएँ, यो निकै रोचक प्रस्तुती रहेछ, आज म यहाँ नआएको भए जीवनमा निकै ठूलो अवसर गुमाउने रहेछु ।’ विभिन्न १० देशका ३० अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुती रहेको चार घण्टाको नाटक सहितको कार्यक्रमले उपस्थित दर्शकको मन जित्यो ।
विदेशी भएर पनि नेपाली भेषभुषा र संस्कृतिमा गरिएको प्रस्तुतिले शुरुदेखी अन्त्य सम्मनै वाहवाही पाईरह्यो । भेदा नामक अन्तराष्ट्रिय सांस्कृतिक समूहको समन्वयमा रसिया, युक्रेन, अमेरिका, हंगेरी, पोल्याण्ड ,बंगलादेश, भारत, नेपाल र अफगानिस्तानका कलाकारले गित, नाँच र नाटक प्रस्तुत गरेका थिए । चार घण्टाको अवधीमा विदेशी कलाकारले भागवत गिता र पूर्वीय दर्शनसंग सम्बन्धीत तीन वटा नाटक, १३ वटा नृत्य र चार वटा गीत, एउटा सेमिनार प्रचन प्रस्तुत गरे । गज्जबको साउण्ड सिस्टम र लाईट तथा प्रस्तुतीको तारतम्यले दर्शकलाई एकहोरो स्टेज तर्फ तानिरह्यो ।
नाटकमा भगवान कृष्णका लिला तथा भगवान र नाग सम्बन्धी कथालाई कलात्मक प्रस्तुती गरियो । नाटकीय प्रस्तुती कुनै हिन्दी च्यानलमा आउने सिरियल जस्तै देखिन्थ्यो । भगवान र नाग सम्बन्धी प्रस्तुती चल्दै गर्दा युवतीले साथीसंग कानेखुी गर्दै थिईन,‘हिन्दी च्यानल कलर्समा आउने नागिन सिरियल जस्तै रहेछ है ?’ उद्घोषक डा. देवराज श्रेष्ठको नापतौलयुक्त उद्घोषणले दर्शकलाई ‘बोर’ हुने मौका दिएन ।
मनोरञ्जनात्मक र सांस्कृतिक प्रस्तुतीहरुका लागि दर्शकको राम्रै सहभागिता हुने भए पनि प्रवचन सुरु भएपछि भने अधिकाँस हल बाहिर निस्कीने, आपसमा कुराकानी गरेर बस्ने चलन देखिन्छ । त्यहाँ भने त्यस्तो भएन । रसियन पूर्व आर्मी अफिसर रहेका प्रोफेसर डा. इगोर ओभलोङकोभ (पत्री दास)ले नेपाली भाषामै अभिवादन गर्दै प्रवचन सुरु गरेपछि सबैको आँखा र ध्यान उनी तर्फ नै केन्द्रीत भयो ।
पत्री दास उही दिन बागलुङमा कार्यक्रम देखाउनका लागि चितवनबाट बागलुङ आएका थिए । निकै हँसिला र रमाईलो स्वभावका उनले प्रस्तुतीको सुरुमै बागलुङ पोखरा सडकखण्ड प्रति व्यङ्ग्य कसिहाले,‘म त आजै कार्यक्रमका लागि यहाँ आएको, यहाँको बाटोमा त फ्रि मा मसाज मिल्दो रहेछ ।’ ‘बाटोमा आउँदा मलाई निकै गाह्रो भैरहेको थियो,’ अँग्रेजी लवज मिसाएर नेपाली बोल्दै उनले दर्शकलाई आफुतिर केन्द्रीत गर्दै भने,‘अहिले यहाँ तपाईहरुलाई भेटेपछि सबै थकाई बिर्सिएँ ।’ करिब आधा घण्टाको प्रवचनमा उनले नेपाली संस्कृति अमूल्य सम्पतिको रुपमा रहे पनि नेपालीले नजिकको तिर्थ हेला भने जस्तो गरेको गुनासो गरे ।
‘आज यहाँ हामी यहाँ आएर तपाईहरुलाई तपाईहरुकै संस्कार र संस्कृतिबारेमा भनिरहेका छौं,’उनले भने,‘यो त ईन्द्रको अगाडी स्वर्गको बयान भने जस्तो भएन र ? तपाईहरुले आफ्नो संस्कार र संस्कृति भुल्दै गएको देख्दा मलाई नरमाईलो लाग्छ ।’ नेपाली पुराना उखान टुक्का सहित मञ्चमा भजन गाएका उनले विदेशीले समेत वैदिक संस्कृति अँगालिरहँदा नेपालीले आफ्नो मौलिकता सहितको संस्कृतिबारे प्रचार प्रसार गर्न हिच्किचाउने गरेको बताए ।
यस सम्बन्धी उनले गज्जबे उदाहरण दिए । ‘मेरो घर नजिकै रेल स्टेसन थियो, घर नजिकै स्टेसन भएकाले म पुगिहाल्छु भन्ने लाग्यो । रेल गुड्न थालेपछि साथीले मलाई हतार हतार स्टेसन छोड्न आयो, रेल गुडिसकेकाले आत्तिएर साथी हतारमा रेलमा चढ्यो, नजानुपर्ने साथी रेलमा गयो, म छुटे,’ पत्रीदासले भने,‘अहिले नेपालमा आएर हामीलेतपाईहरुलाई धर्म संस्कृति सिकाईरहेका छौं । तपाईहरु जानुपर्ने रेलमा हामी चढे जस्तै भएको छ ।’ कार्यक्रममा चर्चित गायक थानेश्वर गौतमले पनि भजन गाएका थिए ।
नेपाल जस्तो सु–संस्कृत देश दुनियाँमै अर्को पाउन मुस्किल भए पनि पछिल्लो समय पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएकाले नेपालीलाई आफ्नो संस्कार सस्कृतिको संरक्षणका लागि जागरण पैदा गर्न कार्यक्रम गरिएको ईस्कोन बागलुङका प्रमुख परमेश्वर अच्युतकृष्ण दासले बताए ।‘पूर्वीय दर्शन र नेपाली संस्कृति साँच्चै विश्वलाई चकित पार्ने खालको छ, यस सम्बन्धीमा विश्वका मानिसहरुले अध्ययन अनुसन्धान गरिरहेका छन्,’ उनले भने,‘हामी भने बत्ती मुनीको अध्याँरो जस्तो भएर अर्काको देखासिकी गरेर विदेशी संस्कार अँगालीरहेका छौं ।
हाम्रो संस्कार बारेमा सिक्ने हुतहुती होस् भनेर यो कार्यक्रम गरेका हौं ।’ कार्यक्रम हेरेपछि अधिकाँस दर्शकले यसको प्रसंसा गरे । ‘यो बागलुङेहरुका लागि दुर्लभ अबसर थियो,’ पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले भने,‘मैले बागलुङमा अहिलेसम्म यस्तो कार्यक्रम हेरेको थिईनँ । धार्मिक मात्र होईन यो कार्यक्रम ज्ञानवद्र्धक पनि थियो, धर्ममा आस्था नराख्नेहरुका लागि यसले केही चेत अवस्य दिएको छ ।’ धौलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक विष्णु काफ्लेले विदेशी कलाकारले नेपाली संस्कार र दर्शनको ऐन देखाएको प्रतिक्रिया दिए ।
‘अहिले सबैले स्वीकार गरेको कुरा के सत्य हो भने पहिले ज्ञान र त्यसपछि विज्ञानको विकास भएको हो,’ विज्ञान विषय अध्ययापन गराउने काफ्लेले भने,‘ हामीले भागवत गिता पढ्यौं भने पागल भईन्छ त्यसलाई त पूजा गरेर राख्नुपर्छ भन्यौं। विदेशी आएर अहिले हामीलाई हाम्रो संस्कार बारे जानकारी गराउँदा कता कता लज्जा बोध समेत हुने गरेको छ ।’ अल्पविकसित देशका नागरिकहरु भौतिक सुख सुविधाको पछि लाग्दा आफ्नो संस्कार विर्सने गरेको उनको भनाई छ ।
‘मैले ती विदेशी कलाकारहरुसंग बसेर कुरा पनि गरे, उनीहरुको देशमा भौतिक सुख सुविधा सबै पुग्यो,’ काफ्ले भन्छन्,‘अब खुसी के मा पाईन्छ भनेर खोजी गर्ने क्रममा पूर्वीय दर्शनले धेरै पश्चिमाहरु लोभ्याएको पाईन्छ उनीहरुसंगको कुराकानीबाट यही कुरा थाहा हुन्छ ।’ भौतिक सुख सुविधाको पछि लागरे मानिसहरु यन्त्र जस्तै भएको बेला धार्मिक ज्ञानहरुको महत्व झन बढेर गएको र यसले आपसी सद्भाव र भाईचाराको विकास गर्ने उनी बताउँछन् ।
नेपाली संस्कृति सम्बन्धी नाटक तथा नृत्य प्रस्तुत गर्दै विदेश कलाकारहरु ।