गाडीमा भेटिएको सुनका गहना सहितको झोला पर्वतकी महिलाले भेटाएर सम्बन्धित व्याक्तिलाई बुझाउनुभएको छ । पर्वत जिल्लाको फलेवास नगरपालिका – ३ शंकरपोखरीकी अमृता तिवारीले स्याङजाको आँधिखोला गाउँपालिका १ पञ्चमुलबाट आउँदै गर्दा भेटिएको झोला सहितका गरगहना बुझाएर उदाहरणीय काम गर्नुभएको छ ।

पञ्चमुल मामाघर भई हाल बुटवल बस्दै आएकी बिन्दु लम्सालको झोला अमृताले हिजो भेट्नुभएको थियो । स्याङजाको पञ्चमुल बाट अमृता र बिन्दु एउटै बसमा आउँदै गर्दा कार्किनेटाबाट छुट्नेबेलामा अमृता तिवारी संग बिन्दुको झोला साटिएको थियो ।हरियो जेव्रा झोला बोकेर घरमा आएपछि मात्रै अमृताले अरुको झोला बोकेर आएको याद गर्नुभएको थियो । दुबैजनाको झोलाको रंग र साईज एउटै भएकाले साटिएको जनाइएको छ ।

झोलामा भएको माईली तिलहरी, झुम्का एक थान, कालोमाला, दुईवटा हातमा लगाउने बाला, चन्द्रमा, दुईटा औठी, एउटा लकेट सहितको सिक्री गरि ६ तोला सुन सहित १८ हजार ३ सय पाँच रुपैयाँ नगद समेत झोलामा थियो ।

अमृता तिवारीले आफुले घरमा आएर झोला खोल्दा अरुको झोला भएको थाहा पाएपछि पहिले कार्किनेटा प्रहरीलाई खवर गर्नुभयो । त्यसपछि तिवारीकै भतिजी सुनिता चापागाई पनि सोहि बसमा सवार भएको थाहा पाएपछि सुनिता मार्फत नै झोला साटिएकी बिन्दु लम्साललाई सम्पर्क गरेर झोला सहित बहुमुल्य गहना र नगद आज फिर्ता गर्नुभएको हो ।

फलेवास नगरपालिका ३ को वडा कार्यालयमा आज एक कार्यक्रम गरि बिन्दुका मामा भोजराज ढकाल र माईजु भावना ढकाललाई झोला हस्तान्तरण गरिएको हो । वडाध्यक्ष अर्जुनबहादुर कार्कि, वडासचिव कृष्णप्रसाद पौडेल, वडासदस्यहरु, स्थानीय शिक्षक र बुद्धिजिबीहरुको रोहवरमा अमृताले झोला सहित गरगहना र नगद हस्तान्तरण गरेको जानकारी दिनुभयो । वडाध्यक्ष अर्जुनबहादुर कार्किले तिवारीले इमान्दारिता देखाएको भन्दै वडाको तर्फबाट प्रसंसा सहित धन्यवाद दिनुभएको छ