सामाजिक रुपान्तरणमा अहम भूमिका खेल्ने मिडिया जगत जस प्रति आम नागरिकले आस र विश्वासका साथ नियालिरहेका हुन्छन | सामाजिक परिबर्तनको गति र दिशा निर्धारणमा यस क्षेत्रको महत्वपूर्ण योगदान हुन्छ | समाजलाई कुनै  बिकृतीबाट मुक्त गर्न यसले त्यस बिषय प्रतिको सम्बेदनशिलता बढाउनमा प्रमुख भूमिका खेल्नु पर्ने हुन्छ यस्तोमा महिलाको  शुन्य सक्रिय सहभागिता रुपी बिकासका बहस र विचार गोष्ठीहरुले अन्य सामाजिक संगठनहरुलाई कस्तो सन्देश देला ?

के कार्यक्रम उद्घोष गराउदा अथवा बती जलाउन वा रिबन काट्न चाहिने सामग्री राखेको  ट्रे महिलालाई बोकाउदा महिला सहभागिता हुन्छ भन्ने परम्परागत सोच अथवा लालपुर्जा नचाहिने आधा आकाशको मालिक महिला हो भन्ने अभिव्यक्तिको निरन्तरताले लैगिक समानता दर्शाउन सकिन्छ ?आर्थिक समृद्धि हुदैमा सामाजिक समृद्धि हुन्छ भनी ग्यारेन्टी गर्न सकिन्न | सामाजिक विकास र समृद्धिकालागी समाजमा बसेका एक अर्को को अस्तित्व स-सम्मान स्विकार्नु सुन्दर समाजको लागी पहिलो शर्त हुन्छ | जसका लागी सामाजिकीकरणका सम्पूर्ण एकाई संबेदनशील हुन जरुरी हुन्छ|

विश्वमा आफु सबभन्दा बिकसित रहेको भन्ने अमेरिका भन्दा जापानमा व्यक्तिको जीवन सुरक्षित रहेको कुरा अमेरिकाको पछिल्लो मानबिय क्षतिको आकडाले देखाउछ | यदि भौतिक सामग्रीको निर्माण र विकासले मात्रै मानबिय जीवन सुखी र सन्तुस्ट हुँदो हो भने अमेरिका बस्ने मानिस मात्रै सुखी, समृद्ध र सन्तुस्ट हुन्थे होला | किन खुलेआम त्यसरी मानिसहरुको हत्या गरिन्छ ? कहिले शिक्षक द्वारा विद्यार्थीलाई मरिन्छ भने कहिले विद्यार्थीले हतियार चलाउछन अनेक ज्यान लिनका लागी |

कतै निर्दोश बटुवा वा कामगरी गुजारा गर्ने समेत पर्छन  ? त्यसैले अहिलेको युगमा सम्बेदनशिलता बढाउनु अपरिहार्य भैसकेको छ जसको लागी प्रमुख जिम्मेबारी मिडियाको हुन्छ | कुन बिषय, विचार र कार्यलाई कसरी जनसमुदाय समक्ष पुर्याउने त्यो निकै महत्वपूर्ण हुन्छ | समाजिक न्याय देखि सामाजिक द्वन्द समेत निम्त्याउन सक्ने क्षमता मिडिया संग भएकोले यसका प्रत्येक कार्यको असर समाजमा सुशुप्त अवस्थामा परि रहेको हुन्छ अनि समय आएपछि त्यसको परिणाम अगाडी आउछ |

अहिले नेपाली समाजमा देखिएका सामाजिक – संस्कृतिक तथा ब्यबहारगत परिमार्जन र परिबर्तनको पछाडी यसको ठुलो भूमिका छ | आफ्नो हक अधिकार प्रतिको जागरुकताका साथै सेवा प्रदायक निकायहरुको जवाफदेहिता बढाउन सकेको महशुस आम नेपालीलाई गराउन सकेको मिडिया माथि देशको राजनीतिक अवस्था, बिश्व-ब्यपिकरणका चुनौती  अनि अन्तराष्ट्रिय मानव अधिकार प्रतिको चासो र गुनासोको थप जिम्मेबारी समेत छ |समाजमा रहेको पितृसत्तात्मक सोचले निर्माण गरेका संरचनाहरु महिला मैत्री छैनन |

यसले महिलाका क्षमता ब्रिधि गर्नमा  अनेक समस्या र अवरोधहरु खडा गरिदिएका छन | संग संगै नीति भन्दा नियतमा  समस्या भएको अवस्थाले गर्दा महिलाको प्रतिनिधित्व हरेक क्षेत्रमा सोचेको जति परिणाम ल्याउन सकेको छैन | चुनाब पश्चात अगाडी आएका  महिला प्रतिनिधिहरुलाई बढी प्रभाबकारी रुपमा कार्य गर्न सक्ने बाताबरण कसरी  जुटाउने भनि  समस्याको रुपमा विश्लेषण गर्न थालिएको बर्तमान अवस्थामा मिडियाले सकारात्मक भूमिका खेल्नु जरुरी छ |

आफुलाई दाताको रुपमा मान्ने  परम्पराबादी सोच बोकेका  राजनीतिक दलहरु जो कुनै पनि परिबर्तनलाई आफ्नो अधिकार खोसिने डरको रुपमा लिने गरेका छन तिनका कार्य र ब्यबहार महिला प्रतिनिधिलाई प्रोत्साहित गर्दै तिनका बिश्वास  बढाउने  प्रति इमान्दारी पुर्बक उन्मुख छन वा छैनन भनी ऐना देखाउने कार्य गरि लैंगिक संबेदनशीलता बढाउनमा सहयोगी भूमिका खेल्नु पर्ने मिडिया नै हो जसले गर्दा आगामी दिनहरुमा राजनीतिक संस्कार महिला मैत्री बन्न सकोस  |

नीतिमा महिला समाबेशीकरणलाई जति नै स्पस्टरुपमा लेखिएको भए पनि नियतले गर्दा त्यो उपलब्धि सजिलो नरहेको अवस्था परिवर्तित हुन् सकोस |सामाजिक विकास प्रति चिन्ता र चासो भएका प्रत्येक नेपालीले महशुस गरेको कुरा, अहिले स्थानीय, प्रान्तीय र केन्द्र सरकारमा संबिधानको बाध्यकारी प्राबधानले महिलाको संख्यात्मक उपस्थिति बढेको भए पनि तिनका विचार सुनिने, मनन गरिने र कार्यान्बयन तर्फ सकारात्मक पहल गरिने बाताबरण सिर्जना गर्नु अहिलेको राजनीति क्षेत्रको ठुलो चुनौती हो |

युगौ देखि समाज र राज्य द्वारा पछाडी पारिएका महिलाका निम्ति पनि कम चुनौतीपूर्ण रहने छैन आउदो यो अवस्था जसका दोषी न कुनै पुरुष हुन् न त कुनै महिला नै | यसका प्रमुख जिम्मेबार त पितृसत्तात्मक संरचना द्वारा निर्मित सोच हो जसलाई परिबर्तन गर्न संयुक्त प्रयास अनिवार्य छ | यस्तोमा देशका मिडियाको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने कुरा बुझाउन पछिल्ला केहि घटनाक्रम  नै पर्याप्त छन जसमा भ्रष्टाचारीलाई नंग्याउने देखि सरोकार वाला सबै पक्षलाई थप जिम्मेबार हुनुपर्ने आवश्यकता औल्याएका प्रसस्त सराहनीय कार्यहरुका अनेक उदाहरणहरु छन तैपनि एक सचेतकका रुपमा प्रमुख निगरानीकर्ता भनेको मिडिया नै हो जसले गर्दा बिषय प्रति सम्बेदनशील हुदै परिबर्तन र परिमार्जनका आधारहरु तय गरिन्छ त्यसैले मिडियाको आबद्धतामा गरिने हरेक कार्यक्रमहरु प्रति आयोजक संबेदनशील हुन् आवश्यक छ |

नेपालको संबिधान २०७२ ले दिएको उपलब्धिहरुलाई संस्थागत गर्दै त्यस अनुरुप राज्यका अंगहरुद्वारा  समाबेशी संरचनालाई आत्मसात गरे नगरेको निगरानी राज्यको चौथो अंगको रुपमा रहेको मिडिया को काँधमा छ  जसले गर्दा आफ्ना हक अधिकार संरचनागत विभेदका कारण खोसिएका उपेक्षित महसुस गरेका महिलालाई सुरक्षित र अपनत्वको अनुभूति गराउन सकियोस |

लैंगिक समानता कुनै एक पक्षको फाइदा वा बेफाइदाको बिषय होइन यसबाट  त  समाजका सबै व्यक्ति  लाभान्वित हुन्छ | चाहे महिला पिडित होउन वा पुरुष, पिडा त एउटा परिवार र  समाज मै हुन्छ जसको समाधान लैंगिक सम्बेदनशिलता बढाएर मात्रै सम्भव छ | शब्द एउटै भएपनि त्यसलाई उच्चारण गरिने शैली, आवाज र हाउभाउले फरक फरक अनुभूति गराउन सकिन्छ त्यस्तै लैंगिक सम्बेदनशिलता नहुदा बिपरित लिंगका मनोदशा बुझ्न सहज हुदैन अनि आफु जुन रुपले सामाजिकीकरण गरिएको हो त्यसै अनुरुपको ब्यबहार गरिन्छ |

यस्तोमा गलतलाई सच्याउनको लागी पहिला त त्यो गलत हो भनी बुझाउन जरुरी हुन्छ जसका लागी यी मिडिया क्षेत्र सम्बेदनशील भइ भूमिका खेल्न जरुरी छ | टेबलमा बस्ने सम्पादक चाहे पुरुष हुन् वा महिला यदि लैंगिक संबेदनशील छैनन भने बाहिर फिल्डबाट आएका समाचारहरुले ठाउँ पाउने, नपाउने वा कसरी पाउने भन्ने कुरामा निर्णायक भूमिका खेल्छ त्यस्तै समाजमा बिध्यमान समस्या र आउँदा दिनका विकासका लक्ष्यहरु प्राप्तिका लागी पनि यसको महत्वपूर्ण भूमिका रहेको हुन्छ |

संयुक्त राष्ट्र संघको पक्ष राष्ट्रका रुपमा रहेको नेपाल सन् २०३० सम्म हरेक क्षेत्रमा महिला –पुरुष ५०/५० सहभागिता तथा दिगो विकास लक्ष्य -५ प्राप्त गर्नका लागी लैंगिक सम्बेदनशिलता बढाउन सबैको सामुहिक प्रयास जरुरी छ | समाजमा सकारात्मक परिबर्तनका लागी अन्य निकायलाई समेत सम्बन्धित बिषय प्रति संबेदनशील बनाउने जिम्मेबारी बोकेको मिडियाको सामाजिक भूमिका कति छ थप भनी राख्नु नपर्ला | (वीणा झा – समाजशास्त्री )