परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई पर्वत जलजला गाउँपालिका वडा नं १ बासखर्क हाल हङकङमा बस्ने एक यूवाले ५० हजार सहयोग गरेका छन् । जिल्लामा आर्थिक विपन्नताका कारण उपचारमा आर्थिक समस्या झेलेका सर्वसाधारणको उपचारमा आर्थिक सहयोग गदैं आइरहेको कोषलाई मिक अल्फाका प्रमुख कार्यकारी अधिकृत सिए इन्द्र पूर्जाले ५० हजार सहयोग गरेका हुन् । मिक हङकङका संस्थापक अध्यक्ष राजु पुन सहित म्याग्दी आएका पूर्जाले कोषको अभियानबाट उत्साहित भएर उक्त सहयोग गरेका हुन् ।

उनले बेनी नजिक रहेको पर्यटकीयस्थल लभ्ली हिलमा कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त सहयोग हस्तान्तरण गरेका थिए । कोषले उपचारमा सघाउने गरी अक्षय कोष बनाउने अभियान सञ्चालन गरिरहेको छ । बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा आर्थिक जुटाइरहेको छ ।