विद्यालयस्तरमा संस्कृत शिक्षाको पठनपाठन नहँुदा योग्य पुरोहितको अभावमा कर्मकाण्ड र पूजापाठ प्रभावित हुँदै गएका छन् । ब्राह्मणकै अभावमा जन्म, चूडाकर्म, विवाह र मृत्यु संस्कारसमेत प्रभावित हुन थालेपछि स्थानीयहरु चिन्तित हुन थालेका छन् । संस्कृत शिक्षा पढेर रोजगारी नपाइने र आधुनिक समाजसँग मेल नखाने सोचाइका साथ ब्राह्मणहरुले पनि संस्कृत पढन् छाडेपछि जिल्लामा धार्मिक कार्य र अनुष्ठानका लागि पुरोहित ब्राह्मणको अभाव हुन थालेको स्थानीयवासी बताउँछन् ।
वेद, उपनिषत्, पुराण, रुद्रीलगायतका ग्रन्थलाई आधार मानेर गरिने कर्मकाण्ड जन्मेदेखि मृत्यु पर्यन्त आवश्यक भए पनि पुरोहितको अभावमा समस्या उत्पन्न हुन थालेको बेनी नगरपालिका–२ का भीमबहादुर रिजालले बताउनुभयो ।
“हिजोआज संस्कृत पढ्ने चलन नै हराउन थालिसक्यो”, रिजालले भन्नुभयो, “संस्कृतको ज्ञान नभएका व्यक्तिले कर्मकाण्ड गराउन नसक्ने हुँदा न्वारन, विवाह र मृत्युसंस्कारजस्ता नगरी नहुने कर्महरु गर्न पनि समस्या हुनथालेको छ ।” संस्कृत शिक्षा हिन्दूहरुको जीवन पद्धतिसँग जोडिएको शिक्षा भए पनि हिजोआज संस्कृतप्रति सबैको मोह घट्दै गएको पाइएको छ ।
गाउँघरतिर संस्कृत नपढेका, बेरोजगार भएर बसेका, नैतिकरूपमा स्खलित भएका र अन्य कुनै उपाय नभएपछि कर्मकाण्डमा लागेका बाहुनले आफूखुसी ‘धूपं समर्पयामी, नैवेद्यं चढायामी’ भनेर पूजा गराउने गरेको र संकल्पमा सम्वत्सर, नक्षत्र, तिथिसमेत गलत उच्चारण गर्ने गरेको आफूले पाएको पण्डित भीमनाथ पराजुलीले बताउनुभयो । “शुद्धसँग वेदका ऋचा उच्चारण गर्न नसक्ने र आफ्नो आचरणमा नरहेका ब्राह्मणले पनि अरु कुनै पेशा गर्न नसकेर कर्मकाण्डमा लाग्दा ब्राह्मणको समेत बदनाम भएको छ”, उहाँले भन्नुभयो ।
“अहिले संस्कृत पढेर सुनिश्चित भविष्य नहुने र कर्मकाण्ड व्यावसायिक पेशा अझै हुननसकेकाले संस्कृतप्रति मानिसको उदासीनता बढेको हुनसक्ने म्याग्दी बहुमुखी क्याम्पसका नेपाली विषयका उपप्रध्यापक नारायण सुवेदीले बताउनुभयो । कर्मकाण्ड गर्ने बूढापाका ब्राह्मणको शेषपछि पुरोहितको अभाव शुरु हुनथालेको हो । अहिले म्याग्दीमा पुराणवाचन गर्ने पण्डितको सङ्ख्या दुई÷तीनभन्दा बढी नरहेको र कर्मकाण्ड गर्ने पनि घट्दै गएको ब्राह्मण समाज म्याग्दीले जनाएको छ ।