घायलश्री/पञ्चाङ्गका अनुसार चैत्र कृष्ण पक्षको एघारौं तिथिलाई एकादशीलाई पाप मोचनी एकादशी भनिन्छ । प्रत्येक एकादशीको महत्व अलग–अलग हुने हुँदा पाप मोचनी एकादशीको पनि निकै महत्व रहेको छ । यो एकादशी हरेक सालको अन्तिम एकादशी हो । यो एकादशीलाई होलिका दहनका दिन र बाँकी नवरात्रीको मध्यमा पर्ने भएकोले यसको नाम पाप मोचनी एकादशी रहन गएको हो ।
धार्मिक ग्रन्थहरुमा भएको प्रमाण अनुसार पाप मोचनीको अर्थ पापबाट मोचन वा नष्ट गर्ने सामथ्र्य राखेको हुन्छ । संसारका जुनसुकै मानवले कुनै न कुनै पाप जानजान वा अन्जानमा गरेका हुन्छन नै । ती सवैका लागि भएपनि यस पाप मोचनी एकादशी ब्रतको महत्व र आवश्यकता बुझ्नु र बुझाउनु जरुरी देखिन्छ । पापका कारण प्राप्त हुने दण्डबाट बच्न र बचाउनका लागि पाप मोचनी एकादशीको ठूलो महत्व रहेको हुन्छ ।
महाभारत युद्धमा अर्जुनलाई श्रीकृष्ण भगवानले सम्झाउने क्रममा पाप मोचनी एकादशी ब्रतको प्रसंग समेत उल्लेख गरिएको छ । पाप मोचनी एकादशीको ब्रतमा भगवान् विष्णुको चतुर्भुज रूपको पूजा गरिन्छ । अघिल्लो दिन सात्विक भोजन एकपटक गर्नुपर्दछ । मनमा रहेको भोगविलासको भावना त्याग गर्दै भगवान बिष्णुको नाउँ लिनु पर्दछ । एकादशीका दिन सूर्योदय कालमै स्नान गरी विधिपुर्वक ब्रत संकल्प गर्नु पर्दछ ।
यसरी ब्रत संकल्प गरेर षोडशोपचार विधिले श्री विष्णुको पूजा गर्नु पर्दछ । एकादशी ब्रत समाप्ति पश्चात निराहार रहि रात्री जागरण गर्नु पर्दछ । यसो गर्नाले अझ धेरै गुणा पुण्य लाभ हुने धार्मिक विश्वास रहेको छ । एकादशीको भोलिपल्ट द्वादशीका दिन समेत स्नान गरी विष्णु भगवानको पूजा गर्नु पर्दछ । त्यसपछि ब्राह्मण भोजन गराएर दक्षिणा सहित विदा गर्नु पर्दछ र आफूले पनि भोजन गर्नु पर्दछ । त्यसैगरि यसैदिन ‘विश्व मूर्ख दिवस’ अर्थात् ‘अप्रिल फूल’ पनि रहेको छ ।
दिनानुदिन विश्वभरि नैे हर्ष–उल्लासका साथ ‘विश्व मूर्ख दिवस’ अर्थात् ‘अप्रिल फूल’ मनाउने प्रचलन बढिरहेको छ । अघिल्ला वर्षहरु जस्तै यो वर्ष चैत्र १८ गते सोमबारका दिन ‘अप्रिल फूल’ अर्थात् ‘विश्व मूर्ख दिवस’ परेको छ । अङ्ग्रेजी पात्रोको हरेक वर्षको अप्रिल एक तारिखका दिन मनाइने ‘विश्व मूर्ख दिवस’ अर्थात् ‘अप्रिल फूल’का बारेमा विभिन्न रोचक अवधारणाहरु एवं ऐतिहासिक विवरणहरु पनि उपलब्ध रहेको छ तर यही कारण यो दिवस मनाइन्छ भन्ने मूख्य प्रमाण अहिलेसम्म पनि भेटिएको छैन ।
बढि प्रचलित अवधारणा अनुसार प्राचीनकालमा रोमन मानिसहरु त्यसबेलाको प्रचलित जुलियन क्यालेन्डर अनुसार अप्रिल महिनाको पहिलो दिनलाई वर्षको प्रथम दिन मानेर नयाँ वर्षको शुरुवात् गरिन्थ्यो भने त्यहीं मध्यकालीन यूरोपमा २५ मार्च उप्रान्तलाई नव वर्षको शुभारम्भको उपलक्ष्य मानेर अप्रिल प्रथम दिनसम्ममा उत्सव मनाइने गरिन्थ्यो । पछि गएर सन् १८५२ मा ‘ग्रेगरी अष्ठमेल’ नामका पोपले ग्रेगेरियन क्यालेन्डर (वर्तमान अंग्रेजी क्यालेण्डर) को घोषणा गरी त्यसको आधारमा जनवरीलाई नव वर्षको शुरुवात् गरियो ।
कालान्तरमा जनश्रुतिको आधारमा यूरोपका अनेक राष्ट्रका मानिसहरुले ग्रेगेरियन क्यालेण्डरलाई स्वीकारेका थिएनन् त कतै मानिसहरुलाई यसरी पात्रो परिवर्तन भएको जानकारी नै थिएन । जसका कारण नयाँ अङ्ग्रेजी क्यालेण्डर अनुसार जनवरीको पहिलो दिनलाई नयाँ वर्ष मनाउने मानिसहरुले त्यही पुरानै जुलियन क्यालेण्डर अनुसार अप्रिल महिनाको पहिलो दिनलाई नै नयाँ वर्ष मान्ने मानिसहरुलाई मूर्ख तथा परम्परावादी मान्न थालेका र पछि विस्तारै त्यसबेलादेखि विश्वभर अप्रिल प्रथम दिनलाई ‘अप्रिल फूल’ अर्थात् ‘विश्व मूर्ख दिवस’का रुपमा मनाउने संस्कारको प्रचलन बढ्दै गएको भन्ने भनाई छ ।
विशेषगरी बालबालिका र युवा पुस्ताका माझ बढि लोकप्रिय ‘अप्रिल फूल’ अर्थात् ‘विश्व मूर्ख दिवस’ले एक–आपसमा ठट्टा, हँसी–मजाक, व्यङ्ग्य गर्न यसदिन सबै वर्ग–जातिका मानिसहरुलाई लोभ्याएको देखिन्छ । नेपालमा पनि पछिल्ला वर्षहरुमा अप्रिल फूल मनाउँदै आइएको छ्र । यस दिनमा मानिसहरुले आफूले चिने–जानेका साथीभाइ, इष्टमित्र, नातागोता, छरछिमेकी लगायतलाई मूर्ख बनाउने अथवा हँसी–मजाक गरी झुक्याउने गरिंदै आएको छ ।
अति विकसित राष्ट्रहरु जस्तैः क्यानडा, अमेरिका, बेलायत, अष्ट्रेलिया लगायत विशेषतः पश्चिमा देशहरुमा ‘अप्रिल फूल’ अर्थात् ‘विश्व मूर्ख दिवस’ मनाउने प्रचलन बढि नै छ । पछिल्ला वर्षहरुमा एक अयायीत संस्कृतिका रुपमा नेपाली युवा पुस्तामाँझ ‘अप्रिल फूल’ मनाउने चलन विकसित एवं लोकप्रिय हुँदै गएको र यसले नेपालमा जग बसालेको अवस्था छ्र जसका कारण अनेकन सामाजिक विकृतिका रुपमा फैलिने र कुसंस्कारको रुपमा बढ्ने डर, चिन्ता पनि रहिरहन्छ ।
म्याग्दी सञ्चार साप्ताहिकबाट