बेनी नगरपालिका–७ मा चालु आवमा अधिकांस योजना सम्पन्न भएका छन् । सदरमुकाम बेनीबजारका विभिन्न स्थानमा विनियोजन गरिएको योजना समपन्न भएका छन् । बजेट कार्यान्वयन सहित सम्रग वडाका बारेमा वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ गरिएको कुराकानीको यहाँ प्रस्तुत गरिएको छ ।

वडाका विनियोजित बजेट कार्यान्वयनको अवस्था कस्तो छ ?
सर्वप्रथम, धन्यवाद यो अवसर दिनुभएकोमा । वडामा विनियोजित बजेटको कार्यान्वयनको अवस्था उत्साहजनक छ । चालु आवमा विभिन्न शिर्षकमा विनियोजित बजेटबाट करिव ९० प्रतिशत प्रगति भएको छ । वडाभित्र प्राप्त ८० लाख बजेटबाट विकास निर्माण सहित विभिन्न शिर्षकमा विनियोजित बजेटबाट आवश्यकता अनुसारको काम गरिएको छ । अब मंगलाघाटमा बाढी नियन्त्रण र सुन्दरबस्तीमा नाली निर्माण, खुल्लामञ्चबाट खवरा जोड्ने झोलुङे पुलको स्थानान्तरको काम बाँकी छ । यसलाई अबको बैशाख–जेठ महिनामै सम्पन्न गर्ने छौ ।

वडाको समस्याहरू के के देख्नुहुन्छ ?
म्याग्दीको सदरमुकामभित्र धेरै चहलपहल हुने वडा भएकाले यहाँ प्रमुख समस्या म्याग्दी र कालिगण्डकी नदीको कटान नै हो । नदी कटानका कारण वडाभित्रैकै संगमचोकको तल्लो भागमा क्षती पुगेको छ भने म्याग्दी खोलाबाट मंगलाघाट देखी दोभानसम्म कटान, ट्राफिक ब्यवस्थापन, बेनीबजार संरक्षणसँगै निर्माणधिन अवस्थामा रहेको रिङरोड, बहुद्देश्यीय खेलमैदानको मर्मत तथा प्रयोग, विरेन्द्रचोकबाट बहुद्देश्यीय खेलमैदानसम्म जाने पुरानो बाटोलाई सुचारू गर्ने, वडाभित्र रहेका धार्मिक मठमन्दिरको संरक्षण तथा खुल्लामञ्चको नियमित मर्मत नै प्रमुख समस्या हुन् । कुरिलाखर्कमा खानेपानीको समस्या भएकाले त्यहाँ लिफ्ट सिचाँई मार्फत पानीको सुविधालाई चासो दिएका छौ । समस्यालाई प्राथमिकताका आधारमा समाधानको प्रयास पनि जारी नै छ ।

बाढीले पक्की पर्खाल भत्काएपछि बेनीबजार जोखिममा परेको छ । बजार संरक्षणको काममा ढिलासुस्ती भइरहेको छ नी ?
समयमै बजेट प्राप्त नहुदाँ कालिगण्डकी कटानबाट बजार संरक्षणका लागि भइरहेका कामले गति लिन सकेको छैन् । मेरो वडाभित्र संरक्षणको कामले तिब्रता पाएको छ । तर पनि, नियमित बर्षाका कारण कालिगण्डकीमा पानीको सतह बढेकाले निर्माणकार्यलाई समस्या भइरहेको छ । निर्माणकार्यमा वडाबाट नियमित अनुगमन सहित आवश्यकता अनुसारका सबै सहयोग गरेका छौ ।

बजेट विनियोजन सहित आवश्यकता अनुसारको प्रक्रियामा केही ढिला भएकै कारण पनि समस्या भएको हो तर पनि बजार संरक्षणमा दिनरात खटिएरै सम्पन्न गर्ने प्रयास जारी छ । बजार संरक्षणको कार्यमा ढुंगाको समस्या भइरहेको छ । खोलाभित्रका ढुंगा परिचालन भन्दा पनि बाहिरबाट ल्याएर प्रयोग गर्नुपर्ने अवस्था हो ।

वडामा सार्वजनिक जग्गा अतिक्रमणको अवस्था कस्तो छ ?
अहिलेसम्म गुनासो आएको छैन् । सार्वजनिक जग्गाको संरक्षणका लागि विभिन्न कार्यक्रमहरूमा जानकारी गराउने गरेका छौ । वडाभित्र सामुदायिक बन भएकाले पनि त्यहाँ अतिक्रमण भएको गुनासो बेलाबेलामा सुनिएपनि वडामा लिखित र मौखिक गुनासो आएका छैनन् । हामीले वडालाई ब्यवस्थित बनाउन सार्वजनिक जग्गा संरक्षणका लागि निरन्तर पहल गर्ने छौ । सार्वजनिक जग्गा सबैको साझा सम्पत्ती भएकाले संरक्षणमा समुदायले पनि चासो देखाउनुपर्छ । वडाभित्रका मठमन्दिरको संरक्षणमा आवश्यकता अनुसार प्राथमिकतामा राखेर बजेट विनियोजन भएको छ ।

छिमेकी वडासँगै जोडिएको कोट मन्दिर,सयौंबर्ष पुरानो शिवालय, लक्ष्मीनारायण मन्दिर , महारानीथानमा आवश्यकता अनुसार मर्मत तथा सरसफाईमा बजेट विनियोजनको कार्य भएको छ । मठमन्दिर ब्यवस्थापन समितिमा समेत वडाबाट प्रतिनिधित्व गरी सहयोग तथा सुझाव दिने गरेका छौ । धार्मिक मठमन्दिर सहित स्थानीय पुरानो कला र संस्कृतिको जर्गेना गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडी बढेको छु ।

आगामी बजेटमा वडामा के कस्ता नयाँ योजना ल्याउने प्रयासमा हुनुहुन्छ ?
नियमित योजनासँगै आगामी बर्ष खुल्लामञ्चलाई मिनी स्टेडियम बनाउने प्रयासमा निरन्तर सक्रिय छौ । साथै मंगलाघाटमा खेलमैदान निर्माण गरी फुटबल, भलिबलसँगै फुटशल खेल्न मिल्ने गरी मैदानका लागि योजना तयार भइसकेको छ । त्यस्तै महारानीथानबाट भिरमुनी जोड्ने छोटो दुरीको मोटरबोटालाई यसबर्ष १० लाख विनियोजन भएकोमा त्यसलाई आगामी बर्ष पनि थप गर्ने योजना छ । मंगलाघाटमा म्याग्दी नदीको कटान नियन्त्रण तथा वडाभित्र रहेका दुईवटा सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक स्तरउन्नतीको कार्यलाई पनि निरन्तरता दिनेछौ ।

Leave a Reply