घायलश्री / ‘हुने विरुवाको चिल्लो पात, नहुने विरुवाको फुर्सो पात’ भनेर स्कुलमा गुरुले पढाउनु भएको कुरा एक किसिमले हो जस्तो र ठिकै जस्तो पनि लाग्छ तर अस्ताउँदो सूर्यलाई नियाल्ने हो भने अस्ताउँदो सूर्यबाट यो कुरा पनि सिक्न सकिन्छ कि सुन्दर भन्ने कुरा मेटिने बेलामा पनि देख्न र भेट्न सकिँदो रहेछ । बरु जीवनलाई कुमालेको हातको काँचो माटोसँग तुलना गर्न भने अवस्य सकिन्छ । काँचो माटो खेलाएरै कुमालेले आफूले चाहेको जस्तो भाँडाहरु बनाउन सक्छ त्यसरी नै खेलाएर बनाउन जाने आफूले चाहे जस्तो बन्छ मान्छेको जीवन पनि ।
आठ बर्षिया बालिका श्रद्धा क्षेत्री पनि जन्मिदै कला लिएर जन्मिएकी होइनन् । बाबु राजकुमार क्षेत्री र आमा शोभा क्षेत्रीको कोखबाट २०६८ साल चैत्र १४ गते बानपा–६, सिम थापाबारीमा जन्मिएकी उनीभित्र विविध प्रतिभाहरु रहेका छन् । गुराँस विद्या सदन बागलुङको कक्षा–२ मा अध्ययनरत श्रद्धा आफ्नो उमेरको पाँच बर्ष अर्थात् २०७३ सालको तीजको अवसरमा राखिएको कार्यक्रमबाट आफूभित्रको प्रतिभा प्रष्फुटन गर्ने अवसर प्राप्त गरिन् ।
पहिलोपटक तीज गीतमा नृत्य गर्दा प्रथम भएर पुरस्कृत भएकी श्रद्धालाई त्यही कार्यक्रम र पुरस्कार जीवनको पहिलो सफलताको खुड्किलो बन्यो जुन सफलताले अहिलेसम्म पनि पछ्याइरहेको छ । उनी जुन कार्यक्रममा जान्छिन् पुरस्कार लिएर मात्र फर्कन्छिन् । प्रतिश्पर्धी कार्यक्रमहरुको अलावा म्याग्दी, पर्वत, बागलुङमा हुने महोत्सवहरुबाट धेरैपटक सम्मान र पुरस्कार समेत प्राप्त गरेकी छन् ।
खेलकुद मन्त्री जगत विश्वकर्मा देखि लिएर इण्डियन आइडल प्रशान्त तामाङको हातबाट समेत पुरस्कार प्राप्त गरेकी उनलाई आफूभित्रको इच्छा शक्ति, रुचि र वातावरणले गर्दा नै यति धेरै सफलता मिलेको हो । श्रद्धा नृत्यमा मात्र होइन वक्तृत्वकला, खेलकुद र पढाइमा पनि उत्तिकै अब्बल छिन् । त्यति मात्र होइन ‘मन परेको फूल’ नामक नेपाली फिल्ममा पनि मूख्य भूमिका निभाएकी श्रद्धालाई गुराँस विद्या सदन बागलुङका अध्यक्ष राजु खड्का, प्रिन्सिपल निशान खड्का, नृत्य शिक्षक रोमन घमालको प्रत्यक्ष सहयोगले गर्दा पनि आफूलाई निकै सजिलो भएको कुरा श्रद्धाले बताउँछिन् ।
पुरस्कार र सम्मान पत्रहरुले भरिएको उनको कोठा हेर्दा लाग्छ सानो उमेरमा यति धेरै प्रगति गर्ने ब्यक्ति भेट्टाउन निकै मुस्किल पर्छ । जुत्ता राम्रो भएर मात्र पनि हुँदो रहेनछ । जुत्ताभित्र छिरेको एउटा गिटीले मात्रपनि हिँड्न गा–हे बनाए जस्तै आफूभित्रको समस्या पत्ता लगाएर हिँड्न सकेको खण्डमा अवस्य सफलता मिल्दछ । ‘डायनामिक डान्स सेन्टर’ बागलुङमा नृत्य सम्वन्धि तालिम लिइरहेकी उनी उमेरले सानी छिन् तर बहुप्रतिभाले सम्पन्न छिन् ।
जति हिँडेपनि र जति दौडिए पनि हामीले हाम्रो जीवनमा चाल्ने भनेको दुई पाइला मात्र रहेछन्, एउटा पाइला भनेको डर र अर्को आशा । फूल बनेर फक्रिँदै गरेकी श्रद्धाभित्रको प्रतिभा देख्दा आमा शोभा क्षेत्रीलाई डर पनि लाग्दो रहेछ कि रुचि र प्रतिभा कै कारण श्रद्धाको पढाइ वीचैमात रोकिदैन ? तत्काल शोभाको मनभित्र आशाहरु पनि पलाउँदा रहेछन् कि ‘प्रतिभावान छोरी समयसँगै हिँड्न पनि जान्नेछिन् ।’
उनी पुनः थप्छिन्– ‘नानुको इच्छा अनुसार नै उनले रोजेको बाटो हिँड्न दिनेछौँ ।’ बाबु राजकुमार पनि कक्षामा समेत सधैं प्रथम हुने श्रद्धा हिँडेको बाटोलाई पूर्ण रुपमा समर्थन् गर्नुहुन्छ । कुमालेको हातको काँचो माटो जस्तै आफ्नो काँचो जीवनलाई आफूले चाहेको जस्तो सुन्दर भाँडो बनाउन सकुन् । म्याग्देली भाञ्जी श्रद्धाको प्रतिभाको बास्ना गाउँ, टोल, सहर हुँदै राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा फैलिँदै जाओस्, हार्दिक शुभकामना ।
म्याग्दी सञ्चार साप्ताहिक