लक्षित वर्गको कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि महिला सञ्जालहरु गठन भएका छन् । समुदायस्तरमा क्रियाशिल रहेका आमा समूहलाई एकीकृत गरी उनीहरुसमक्ष स्थानीय सरकारको कार्यक्रममार्फत सक्षम बनाउन महिलाहरु आबद्ध सञ्जाल गठन गरिएको हो ।

यसैक्रममा सोमबार म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा २ नम्बर वडा ज्यामरुककोटमा बबिता सापकोटाको अध्यक्षतामा वडास्तरीय महिला सञ्जाल गठन भएको छ । सञ्जालको उपाध्यक्षमा जमुना घिमिरे, सचिवमा भगवती बोहोरा र कोषाध्यक्षमा विष्णु विक रहेका छन् । यसैगरी सदस्यहरुमा चन्द्रकली सुवेदी, राधिका पौडेल, खड्गकुमारी खड्का, लीला घिमिरे र दुर्गा सुवेदी चयन भएका छन् ।

त्यस्तै बेनपा–३, भकिम्लीमा अध्यक्षमा ओममाया रानामगर, उपाध्यक्षमा सन्तु विक, सचिवमा कमला निउरे, कोषाध्यक्षमा हरिमाया रानामगर र सहसचिवमा सरस्वती शर्मा रहेका छन् । सञ्जालको सदस्यहरुमा विष्णुकुमारी श्रीस, पूर्णमाया जिसी, दिलमति विश्वकर्मा, कल्पना रोका, लीलामति श्रीषमगर, धना पुनमगर, प्रतिकला रानामगर, देउकला घर्तीमगर र लालकुमारी पुन रहेका छन् । दुवै वडामा रहेका आमा समूहबाट एकएक जनाको प्रतिनिधित्व रहने गरी सञ्जाल निर्माण गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले समुदायस्तरमा छरिएर रहेका आमा समूहहरुलाई व्यवस्थित गरी नगरपालिकाको सहयोगमा विभिन्न कार्यक्रमहरु महिलाको माझमा पु¥याउन सञ्जालको अवधारणा ल्याइएको बताइन् । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नगर कार्यपालिका सदस्य दुर्गा कार्की बानियाँले ग्रामीण भेगका महिलाहरुको व्यक्तित्व र नेतृत्वको विकास गरेर उनीहरुलाई आयआर्जन तथा सिपमूलक कार्यक्रममा सहभागी बनाउन कार्यक्रम सञ्जाल गठनलाई अगाडि बढाइएको बताएकी छिन् ।

कार्यक्रममा सहभागी महिलाहरुले आमा समूह भवन निर्माण तथा मर्मत, उद्घोषण तथा भाषणकला तालिम, विभिन्न किसिमका आत्मनिर्भर बन्ने सिपमूलक एवं व्यावसायिक तालिमहरु आवश्यक रहेको माग गरेका छन् । कार्यक्रममा नगर कार्यपालिका सदस्यहरु टकसरा राना, गोरी दर्जी, गौमती नेपालीसहित वडाका जनप्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रम ज्यामरुककोटमा वडा अध्यक्ष हिराबहादुर थापा, भकिम्लीमा कार्यवाहक अध्यक्ष रत्नबहादुर जिसीको अध्यक्षता र बेनी नगरपालिकाका सहायक महिला विकास निरीक्षक लक्ष्मी केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply