बेनी नगरपालिका–९, घतानमा शनिबारदेखि उद्घोषण तथा भाषणकला तालिम सुरु भएको छ । बेनी नगरपालिका–९, को वडा कार्यालयको आर्थिक सहयोग र वडास्तरीय महिला सञ्जाल घतानको आयोजनामा महिलाहरुलाई लक्षित गरेर उद्घोषण तथा भाषणकला तालिम सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले महिलाहरु सधैंभरी चुलोचौकोमा मात्रै सीमित नभई सामाजिक तथा राजनीतिक क्षेत्रमा पनि सक्रिय हुनुपर्ने बताइन् । उनले महिलाहरुको व्यक्तित्व र नेतृत्व विकासका लागि तालिम आयोजना गरिएकोमा जोड दिँदै सक्रिय रुपमा तालिम लिएर तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहारमा उतार्नुपर्ने बताइन् ।

बेनी नगरपालिका–९ का वडा अध्यक्ष बेलबहादुर चोखालले समाजमा महिलाहरुको सक्रियता र भूमिकालाई सशक्त बनाउनका लागि आफूले वडामार्फत महिलालक्षित कार्यक्रम सञ्चालन गर्न जोड दिएको बताएका छन् । कार्यक्रममा नगर कार्यपालिका सदस्य गौरी थापामगर र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सदस्य प्रताप बानियाँले मन्तव्य राखेका थिए ।

घतान वडा अन्तर्गत रहेका सबै आमा समूहका करिब ५० जनाले सहभागिता जनाएको उद्घोषण तथा भाषणकला तालिमको सञ्चारिक समूह गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष एवं पत्रकार जमुना वर्षा शर्माले सहजीकरण गरिरहेकी छिन् । तीन दिनसम्म चल्ने तालिममा उद्घोषण, भाषणकला, वैठक सञ्चालन, नेतृत्व विकासका विषयहरुमा सहजीकरण गरिने आयोजकले जनाएको छ । तालिमको उद्घाटनसत्र वडास्तरीय महिला सञ्जाल घतानका अध्यक्ष रश्मी बानियाँ खड्काको अध्यक्षता, सचिव अमिता खत्रीको सञ्चालन र कोषाध्यक्ष तोपकुमारी चोखालको स्वागतमा सम्पन्न भएको थियो ।

Leave a Reply