---Advertisement---

प्रशासन, प्रहरी विरुद्ध बन्दी प्रत्यक्षीकरणको मुद्धा दायर

By -
On: April 28, 2019 11:46 PM
Follow Us:

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा संलग्न रहेको आरोपमा म्याग्दी प्रहरीको थुनामा रहेका प्रविण सापकोटाका बाबु कृष्णप्रसाद शर्माले प्रशासन र प्रहरीलाई विपक्षी बनाई अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्धा दायर गरेका छन् । बागलुङ नगरपालिका–४ का शर्माले आईतबार उच्च अदालत पोखरा बागलुङ इजलासमा जिल्ला प्रशासन कार्यालय बागलुङ, जिल्ला प्रहरी कार्यालय बागलुङ र जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई विपक्षी बनाई बन्दी प्रत्यक्षीकरणको मुद्धा दायर गरेका हुन् ।

२२ वर्षीय छोरा सापकोटालाई झुटा मुद्धा लगाई म्याग्दी जिल्ला प्रहरीले गैरकानुनी थुनामा राखेको भन्दै थुनामुक्त गर्न शर्माले माग गरेका छन् । शर्माले मुद्धामा प्रहरीले मानव अधिकारको गम्भिर उल्लंघन गरेको उल्लेख गरेका छन् । ‘झुटा मुद्धा सिर्जना गरि मानव अधिकारको गम्भिर उल्लंघन गरिएको, शान्तिपूर्वक बाँच्न पाउने, हिँडडुल गर्न पाउने, आवत जावत गर्न पाउने, पढ्न पाउने, स्वतन्त्रतापूर्वक सम्मान पूर्वक बस्न पाउने संवैधानिक एवं नागरिक अधिकारबाट बञ्चित गरिएको छ ।’–दायर गरिएको मुद्धामा लेखिएको छ ।

मुद्धामा–‘नेपालको संविधानको धारा १६, १७, १८, २०, २२, ३१ तथा मुलुकी देवानी संहिता २०७४ को दफा १७, १८, २० समेतका अधिकारबाट बञ्चित गरिएकोले नेपालको संविधान २०७४ को दफा २६ तथा उच्च अदालत नियमावली २०७३ को नियम ३५, ३६ समेतका आधारमा यो निवेदन गरेको छु, गैरकानुनी हिरासतमा रहेको छोरा प्रविण सापकोटालाई थुनामुक्त गरि पाउँ ।’ उल्लेख गरिएको छ ।

सापकोटालाई जिल्ला प्रहरी बागलुङले पक्राऊ गरेको समय र स्थानबारे समेत गलत जानकारी दिएको मुद्धामा लेखिएको छ । धवलागिरी बहुमुखी क्याम्पस बागलुङमा स्नातक तह चौथो वर्षमा अध्ययनरत सापकोटालाई बा.न.पा–४ स्थित रमेटारमा घरबाट क्याम्पस तर्फ आउँदै गर्दा विहान ७.०० बजेको समयमा सादा पोशाकमा जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले पक्राऊ गरेको उल्लेख गरिएको छ ।

तर प्रहरीले भने उनलाई २०७५ चैत्र १८ गते सोमबार साझ ५ः०० बजे लोकतान्त्रिक चोकबाट पक्राऊ गरिएको बताएको थियो । सापकोटालाई आइतबार मात्रै जिल्ला प्रहरी कार्यालय म्याग्दीले अभद्र व्यवाहार सम्बन्धी मुद्धा दर्ता गरि म्याद थप गरेको छ । उनलाई शुक्रबार जिल्ला प्रशासन कार्यालय बागलुङले १० हजार धरौटीमा छोड्न आदेश दिए पनि जिल्ला प्रहरीले भने म्याग्दी प्रहरीहरुलाई बुझाएको थियो ।

उनलाई बागलुङ जिल्ला प्रहरीले २६ दिन भन्दा बढी समय हिरासतमा राखी म्याग्दी पठाएको थियो, प्रहरीको त्यो चरित्र गलत भएको अधिवक्ता रामशर्माले बताए ।कानुनतः एकजना व्यक्तिलाई एउटै मुद्धामा पटक–पटक थुनामा राख्न पाईदैन तर प्रहरीले बागलुङ, म्याग्दी घुमाउँदै थुनामा राखेर कानुनको उपहास गरेको शर्माको भनाई छ ।बन्दी प्रतिक्षीकरणको मुद्धा अधिवक्ता केशवराज पराजुलीले लेखेका हुन् । eparinews.com

 

-