हाम्रो समाजको परिवेश हेर्ने हो भने दाँत तथा मुख रोगलाई सबै भन्दा कम ध्यान दिइने गरिन्छ ।हुन त दाँत तथा मुख रोगको समस्याको ज्ञान, जनचेतनाको अभाव भएर पनि होला अप्ठ्यारो भएपछि मात्र उपचारको लागि भौँतारीन्छौँ ।सुगमभन्दा अझबढी दुर्गममा दाँत सम्बन्धि रोगप्रति जनचेतनाको अभाव,बेवास्तापन र हेलचेक्रयाई भएको देखिन्छ ।

भदौको चर्को घामसँगै बिरामीको बाक्लो घुइँचो, गर्मी झनै बढेको प्रष्ट संकेत गरिरहेको थियो । नियमित जसो ओ.पि.डी.मा डाक्टरले बिरामी जाँच गरिरहेको क्रममा दिनको करीब २ः३० बजेतिर एकजना दिदीले सानो नानी लिएर आउनुभयो । उहाँको आँखामा चिन्ता र थकान प्रष्ट देखिन्थ्यो । भर्खरै ११ वर्ष पुगेकी ती नानीलाई दुईदिन देखि बाँया गालामा निकै दुखाई भएको रहेछ ।घरेलु उपचार तथा नजिकको मेडिकलबाट औषधी खाएतापनि केही फरक नपरेको भनेर आमाले भनिन् ।

नानीको बाँया पट्टिको गाला सुनिएको थियो ,जुन फैलिएर घाँटीको माथिल्लो भागसम्म पुगेको अवस्था थियो , मुख खोल्न पनि निकै गाह्रो हुन्थ्यो। त्यस्तो अवस्था हुनुको मुख्य कारण चाही दात्ाँमा किरा लागेर जरैसम्म इन्फेक्सन् भएपछि गाला,घाँटितिर फैलिएर cellulitis भएको पत्ता लाग्यो ।तीनवर्ष अघि त्यस्तै भएर उनीहरुले पोखराको महँगो अस्पतालमा देखाएको रहेछन्, त्यतिबेला पुरै शरीर बेहोस बनाएर गालाको तल्लोपट्टि घाँटितिर ठुलै घाउ बनाएर पीप सफा गरेको रहेछ ।त्यँहाको अस्पतालले रोगकोकारण,बाँकी उपचार प्रष्ट नगरी घर पठाएछन, त्यही समस्या फेरी दोहोरीएको थियो ।

यति कुरा सुनेपछि हामीले नानीको आमालाई अगाडि के–कसोे उपचार गर्ने भनेर जानकारी दियौँ ।हामीले उहाँलाईपोखरा जानु नपर्ने , कम खर्चमै सही उपचार पाउने बिश्वास दिलायाँै ।नानीलाई तुरुन्तै भर्ना गर्ने सल्लाह पनि दियौँ ।ती नानीलाईतीनदिन हाम्रै अस्पतालको वार्डमा राखियो ।

पिप निकाल्न मिल्ने भएपछि आवस्यक रगतको जाँच गरी दन्त चिकित्सक र हाम्रो टोली मिलेर पिप निकालेर स˚ा गर्यौँ । मुख नखुलेको कारण मुख खुलाउने तरिका (mouth opening exercise) सिकायौँ।नानी ठिक भएपछि डिस्चार्ज गरी ,एक हप्ताको फलोअपमा बोलायौँ । फलोअपमा आउँदा नानीमा धेरै सुधार पाउनुका साथै आमाबुवामा पनि सन्तुिष्ट देख्यौँ । किराले खाएको दाँतलाई जरैदेखि उपचार गर्यौँ ।आफ्नै ठाँउमा कमखर्चमा सही उपचार पाएर उहाँहरु निकै हर्षित देखिनुभएको थियो ।

दाँतको समस्यालाई धेरै हेलचेक्राई र बेवास्ता गरिन्छ । दाँतमा समस्या हुने बित्तिकै नजिकको अस्पतालमा एकपटक चेकअप गर्न जाने हो भने कम खर्चमा सही उपचार पाउन सकिन्छ । समस्या बढ्दै गएपछि खर्चिलो हुने र समाधान हुन पनि समय लाग्ने हुनाले, सबैले बेलैमा सचेत हुन आवश्यक छ ।दाँतले धेरै गाह्रो नबनाएसम्म नजिकैको मेडिकलबाट आफुखुसी औषधी प्रयोग गरी जटिल र गम्भीर समस्याको निम्तो प्राय आफैँलेनै दिने गरिन्छ ।

मेडिकलको औषधीले भन्दा एकपटकडाक्टरकै सल्लाह बमोजिम चेकअप गरेर उपचार अगाडि बढाइयो भने धेरै सहज हुन्छ ।स्वास्थ्य क्षेत्र आफैँमा संवेदनशील छ । मुख तथा दाँत स्वास्थ्य हेर्दा सामान्य देखिएतापनि समयमै सचेत नहुने हो भने यसले धेरै गम्भीर रुप लिन पनि सक्छ । हामीले मँहगो र नामी अस्पतालबाट उपचार गरेर पनि फेरी पहिलेकै अवस्था दोहोरिएको बिरामीलाई एउटा चुनौतीको रुपमा लिएर दुर्गम जिल्ला अस्पतालमा नै स˚ल उपचार गर्याँै ।

स्माइली राना मगर, डेन्टल हाईजेनिष्ट, बेनी अस्पताल

Leave a Reply