OLYMPUS DIGITAL CAMERA

सुशीलबाबु थकाली/ हिमाली जिल्ला मुस्ताङमा पाइने चौरीको रगतको गुणस्तर परीक्षण गरिने भएको छ । मुस्ताङमा चौरीको आलो रगत पिउने चलन रहेको र यो सिजनमा मेला आयोजना गरेर सर्वसाधारणलाई रगत पिउन दिइएको थियो । आलो रगत पिउन योग्य भए नभएको पत्ता लगाउनकै लागि पहिलोपटक रगत परीक्षण गर्न थालिएको हो ।

नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको राष्ट्रिय गाइ अनुसन्धान कार्यक्रमका संयोजक डा. माधवप्रसाद आचार्यले चौरीको आलो रगत पिउन योग्य भए नभएको पत्ता लगाउन परीक्षण गर्न थालिएको बताए । उनका अनुसार पहिलोपटक मुस्ताङबाट चौरीको आलो रगतको नमुना निकालेर परीक्षणका लागि लगिएको छ । चितवनस्थित राष्ट्रिय गाइ अनुसन्धान कार्यक्रमको प्रयोगशालामा रगतको नमुना परीक्षण गरिने उनले बताए ।

‘आलो रगत पिउने चलन वर्षाैदेखि सुन्दै आएका थियौ । तर, परीक्षण भएको थिएन,’ आचार्यले भने, ‘यो पटक हामी आफैले नमुना संकलन गरेर ल्याएका छौ । हिमाली क्षेत्रको चौरीको रगत पिउन योग्य भए नभएको पत्ता लगाउन खोजेका हौ ।’ विभिन्न पाँचवटा जिल्लाका चौरीको रगत परीक्षण गर्न थालिएको उनले बताए । आचार्यका अनुसार ताप्लेजुंग, डोल्पा, रसुवा, मनाङ र मुस्ताङका चौरीको रगत परीक्षण गरिनेछ । ती मध्ये अब मनाङका चौरीको मात्र रगतको नमुना संकलन गर्न बाँकी रहेको उनले बताए ।

‘आलो रगतमा जिवाणु कुन अवस्था छ । रगतमा आवश्यक तत्व भए नभएको पनि थाहा हुनेछ । रगत पिउँदा मानव शरिरलाई फाइदा वा बेफाइदा के हुन्छ भनेर पनि परीक्षणका क्रममा पत्ता लाग्नेछ,’ उनले भने, ‘पाँचवटा जिल्लाका चौरीको रगतमा हुने पोषण, मिनरल्सको फरकपन पनि थाहा हुनेछ ।’

आचार्यका अनुसार अहिलेसम्म हिमाली जडिबुटी खाएर हुर्केको विश्वासका आधारमा मुस्ताङमा मात्र चौरीको आलो रगत पिउने चलन छ । चौरीको रगत स्वास्थ्यका लागि फाइदाजनक भन्ने विश्वास छ । पहिलो पटक परीक्षण गर्न थालिको रगतमा जडिबुटीको प्रभाव कस्तो छ भन्ने पनि थाहा हुने उनले बताए । बनस्पति विभागसँग सहकार्य गरेर जडिबुटी बारे अध्ययन गरिने पनि उनले बताए ।

‘हिमाली जडिबुटी खाएका पशु र त्यसले मानव स्वास्थ्यमा फाइदा हुने् विश्वासका साथ अहिले रगत पिउने गरिएको छ,’ उनले भने, ‘तर, वास्तविक तथ्य थाहा छैन ।’उनका अनुसार आगामि साउनमा मुस्ताङमा फेरि यस्तै मेला लाग्दैछ । त्यो बेला पनि चौरीको आलो रगतको नमूना संकलन गरिनेछ । प्रि–मनसुन र पोष्ट मनसुनको अवस्था पनि पत्ता लगाउने उनले बताए । सबै जिल्लाका चौरीको २० वटाका दरले नमुना संकलन गरिएको छ । अगामि साउनसम्म पहिलो चरणको परीक्षण सकिने उनले बताए ।

‘आलो रगत साच्चै पिउनका लागि योग्य भए हामीले शिफारिस गर्छाे र यसलाई अझ व्यावसायिक बनाउन सकिन्छ,’ आचार्यले भने, ’शरिरलाई हानी पु¥याउने तत्व रगतमा भेटिएमा आगामि दिनमा रगत पिउन निरुत्साहि गरिनेछ ।’ रगत पिउन उपयुक्त पाईएमा पर्यटनका हिसाबले पनि प्रवद्र्धन गर्न सकिने उनले बताए । अहिले चौरीको रगत निकाल्ने क्रममा घाटीमा चक्कु रोपेर रगत निकाल्ने गरिएको छ । यो प्रविधि वैज्ञानिक नभएको उनले बताए । एउटै चौरीबाट ३५ गिलाससम्म रगत निकाल्ने गरिएको छ । एउटै पशुबाट त्यत्ति धेरै रगत निकाल्नु पनि उपयुक्त नरहेको उनले बताए ।

त्यसबाहेक रगत निकालेपछि पशुलाई उपचारबिना छाड्ने गरिएको छ । पशुको रगत निकालिएको ठाउँमा सामान्य उपचार समेत हुने गरेको छैन । ‘अहिले रगत निकाल्ने तरिका पनि वैज्ञानिक छैन । किनभने पशुलाई साह्रै सकस दिएर रगत निकालिने गरेको छ,’ उनले भने, ‘रगत पिउन योग्य प्रमाणित भएमा यो प्रविधिलाई पनि आधुनिकता दिन जरुरी छ । यो कार्यक्रम अन्तर्गत चौरीको गोबर पनि परीक्षण गरिने आचार्यले बताए । गोबरमा परजिवीको अवस्था पत्ता लगाउन परीक्षण गर्न थालिएको उनले बताए ।

बिशेष गरि मुस्ताङको थासाङ गाउँपालिकाको मुलि, ह्याङ्देन, बोक्सिखोला र मार्चेमा यो मेला लाग्छ चौरीको आलो रगत पिउने संस्कार यहाँको निकै नै पुरानो चलन हो । करिब ६–७ दशक पुरानो यो संस्कारको रुपमा जिउँदो चौरीको आलो रगत पिउने परम्परा अझै पनि बाचेको छ । नयाँ पुस्ताले उत्तिसारो थाहा नपाएको र नबुझेको संस्कारमा चौरीको आलो रगत पिउने चलन रहेको स्थानीयले बताएका छन् ।

केहीदिन अघि मात्र मुस्ताङको थासाङ गाउँपालिका–२ बोक्सिखोलामा यतिबेला चौरीको आलो रगत पिउने मेला सकिएको छ । गण्डकी प्रदेश अन्तरगत बागलुङ, म्याग्दी, पर्वत र कास्कीको पोखरा लगायत अन्य जिल्लाबाट समेत सर्वसाधारण मेलामा सहभागि हुन पुग्ने गरेका थिए । यो पटक मेलामा सबैभन्दा बढी म्याग्दी जिल्लाबाट सर्वसाधारण आएको धौलागिरी चौरी समुहका अध्यक्ष गोबिन्द शेरचनले बताए ।

खासगरी हिमाली लेकको जडिबुटी र हरिया घासपात खाएका चौरि तन्दुरुस्त हुने उनको भनाइ रहेको छ । प्रयाप्त मात्रामा जडिबुटी र हरिया घासपात खाएका चौरिको आलो रगत सेवन गर्दा ग्यास्ट्रीक, गानोगोला, अपच, हाडजोर्नी दुखाइ कम गर्नुका साथै शरीरमा भएको आलश्यपन सबै बिस्तारै निको हुने जनविश्वास रहेको उनले बताए । ‘शारिरिक फाइदाका कारणले गर्दा पनि सर्वसाधारणको भीड बढेको हो,’ उनले भने । बिगत ३० र ४० वर्षदेखी निरन्तर रुपमा चौरिको आलो रगतको व्यावसाय गर्दै आएको र अझैसम्म पनि यसको महत्व नघटेको शेरचनको भनाई रहेको छ । मेलामा आलो रगत सेवन गरे बापत प्रति गिलास २ सय ५० रुपैयाँ लिने शेरचनले बताए ।

Leave a Reply