सुशीलबाबु थकाली, मुस्ताङ । समुद्री सतहदेखि करिब ४ हजार मिटर उचाइमा पनि प्रशस्त मात्रामा पाइने रायोको सागको अहिले जताततै माग बढ्न थालेको छ । हिमाली जिल्ला मुस्ताङमा पाइने रायो सागलाइ अहिले जिल्ला बाहिर पनि बढी मात्रामा रुचाइन थालेको छ । रायो चौडा पातको नामले प्रख्यात रायो सागको उत्पादन बढाउन मुस्ताङका कृषकहरुलाई अहिले भ्याइनभ्याई छ । बिगत लामो समयदेखि फल्दै आएपनि रायो साग जिल्लाभित्र मात्रै सीमित रहेको थियो । अहिले मोटर बाटोको सहजता र सञ्चार माध्यमको कारण मुस्ताङको रायोले हिमाल नाघेर सबै तिर पुग्न थालेको हो ।

घरपझोङ गाउँपालिका १ छैरो गाउँका स्थानीय कृषक सिंहराज लामाका अनुसार मुस्ताङको रायोको साग देशका विभिन्न सहरहरूमा पुग्ने गरेको छ । रायोको साग ३० रुपैयाँ केजीको दरले खरिद गरि ५० देखि ६० रुपैयाँसम्म बिक्रि हुने गरेको छ। हिमाली जिल्ला भएता पनि साग लगायत अन्य धेरै थरिका तरकारीहरु मुस्ताङमा सहजै उत्पादन हुने गरेको छ ।

मुस्ताङमा उत्पादित रायो चौडा पात अहिले बारीबाटै बिक्रि हुने गरेको सितोष्ण बागबानी बिकास केन्द्र मुस्ताङले जनाएको छ । असार र श्रावणमा लगाएको सागलाइ मंसिर, पुसमा एकपटक प्रयोगमा ल्याउन सकिन्छ । यसैगरी त्यही बोटको सागलाई पुनः चैत्र बैशाखमा प्रयोगमा ल्याउन सकिन्छ ।

बागबानी बिकास अधिकृत भीमनाथ घिमिरेले मंसिर, पुषको साग खान मिठो र स्वादिलो हुने र मंसिरमा टिपेर बाँकी रहेको ठेट्नाबाट पुनः साग पलाउने जस्लाई बैशाख जेठमा प्रयोगमा ल्याउन सकिने जानकारी गरिनु भयो ।मुस्ताङ जिल्लाबाट अनुमानित १० हजार केजी भन्दा बढी हरियो रायोको साग जिल्ला बाहिर बिक्रि हुने गरेको बागवानी विकास केन्द्रले जनाएको छ ।

Leave a Reply