नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आगामी असोज पहिलो साता ‘धौलागिरी फेस्टिबल’ आयोजना गर्ने भएको छ ।
महासंघका शाखा अध्यक्ष दिल शिरीषको अध्यक्षतामा बुधवार बसेको कार्यसमिति बैठकले असोज ३ र ४ गते बागलुङ बजारमा बिभिन्न साँस्कृतिक, सांगितिक, साहित्यिक र बहसमुलक कार्यक्रम सहित फेस्टिबल गर्ने निर्णय गरेको हो ।

महासंघको तिन तलाको भवन निर्माण कार्य अन्तिम चरणमा छ । भवन निर्माण कार्य सकिन लागे पनि भवनका लागि आवश्यक रकम अझै अपुग भएकाले आर्थिक संकलनको उद्धेश्य सहित कार्यक्रम गर्न लागिएको महासंघका अध्यक्ष दिल शिरीषले बताए । कुल १ करोड ३० लाख रुपैयाँको लागत अनुमान सहित निर्माण थालिएको भवन एक करोड रुपैयाँको लागत आसपासमै सक्ने महासंघको तयारी छ ।

‘हामी सबैको रहर, पत्रकार महासंघ बागलुङको घर’ अभियानबाट स्वतस्फुर्त रुपमा ८५ लाख भन्दा बढी रकम संकलन भएको छ । ‘धौलागिरी फेस्टिबल अलि पृथक शैली र स्वादको कार्यक्रम हुनेछ,’ अध्यक्ष शिरीषले भने, ‘महासंघ भवन निर्माणको अपुग रकम संकलन गर्ने प्रयासका अतिरिक्त धौलागिरीका परम्परागत नाँच, धौलागिरीका कलाकारका मौलिक गित, साहित्य, जिल्लाको सम्भावना र समसामयिक बिषयका बहस पनि समाहित गरिनेछ ।’

यस कार्यक्रमको अभियानबाट महासंघको भवन निर्माणलाई पूर्णता दिनुका साथै महासंघमा आधुनिक सूचना केन्द्र सञ्चालन र पत्रकार कल्याणकारी कोष पनि बृद्धि गर्ने लक्ष्य समेत राखिएको अध्यक्ष शिरीषले बताउनुभयो ।
दुई दिन फरक फरक टिकट प्रणालीमा हुने ‘धौलागिरी फेस्टिबल’बाट १५ लाख रुपैयाँ भन्दा बढी रकम संकलन गर्ने गरि

कार्यक्रम तय गरिएको महासघंका सचिव राम थापा ‘अविरल’ले जानकारी दिए । ‘यो कार्यक्रम यहाँ आयोजना हुने महोत्सव, महायज्ञ जस्तो होइन,’ सचिव थापाले भने, ‘कार्यक्रम मार्फत रकम संकलन मात्र पनि होइन, राम्रो स्वाद, सँस्कृति, शैली र सन्देश पस्कने पनि हाम्रो प्रयत्न हो ।’

बैठकले ससंदमा दर्ता भएको मिडिया काउन्सिल बिधेयकका प्रेस स्वतन्त्रता प्रतिकुलका बुँदा तत्काल संशोधन गर्न पनि सरकारसँग माग गरेको छ । महासंघमा आवद्ध साधारण सदस्यहरुलाई आगामी जेठ २० गते सम्म सदस्यता नविकरण गर्न र योग्यता पुगेका नयाँ सदस्यता लिन इच्छुक पत्रकारहरुलाई पनि तत्काल आवेदन खुल्ला गरिएको छ ।

सदस्यता नविकरण र नयाँ सदस्यताका लागि क्रियाशिलताको प्रमाणपत्र, तलब र कार्यअवधि सहितको नियुक्ति पत्र लगायतका कागजपत्र अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।महासंघले यो बर्षलाई तालिम बर्षको रुपमा मनाउने क्रममा यही जेष्ठ १२ र १३ गते फिचर लेखन तथा पत्रकारिताको भाषा र शैली सम्वन्धि तालिम सञ्चालन गर्ने निर्णय समेत गरेको सचिव थापाले बताए । तालिमकै क्रममा आगामी असार ८ र ९ गते बडिगाड गाउँपालिका सँगको सहकार्यमा बडिगाडमा खोज पत्रकारिता तालिम सञ्चालन गर्ने निर्णय समेत गरिएको महासंघले जनाएको छ ।

Leave a Reply