बेनी नगरपालिका वडा नं १ का वडा अध्यक्ष टेकबहादुर रावल पूर्व भारतीय सेनाका अवकाशप्राप्त हुन् । साढे दुईदशक अगाडी अवकाशपछि सामाजिक क्षेत्रमा सक्रिय रहेका रावल वडा अध्यक्षमा निर्वाचित भएपछि जनताकै घरदैलोमा हुने काममा ब्यस्त छन् ।

भुपुहरूको सेवामुलक गतिविधि समेत समेत समय ब्यवस्थापन गरिरहेका रावलले जनप्रतिनिधिको रुपमा जनतालाई आवश्यक पर्ने योजनामा जनताकै पहुँचमा राख्न रुचाउँछन् । नगरपालिकाभित्र डमी उपभोक्ता समितिको दुर्गन्धन फैलिरहेको अवस्थामा वडामा उपभोक्ता समितिमार्फत नै योजनाहरू सञ्चालनमा प्राथमिकता दिएका छन् । वडा अध्यक्ष टेकबहादुर रावलसँग गरिएको कुराकानी

चालु आवमा बजेट कार्यान्वयनको अवस्था कस्तो छ त ?

सर्वप्रथम धन्यवाद, वडाभित्र विनियोजित बजेटबाट छनौटमा परेका योजनाको भौतिक प्रगति उत्साहजनक छ । बस्तीस्तरको ५० लाख, नगरपालिकास्तरको ४५ लाख बजेटलाई वडास्तरमा छनौट गरिएका योजनाहरूमा विनियोजित गरिएको थियो । उपभोक्ताबाट छनौट भएका योजनाहरुमै केन्द्रित भएकाले पनि कुनैपनि योजनाको रकमान्तार गरिएको छैन् । विकास निर्माण, सचेतनामुलक कार्यक्रमका साथै हरेक योजना उपभोक्ता समितिमार्फत गरिएकाले पनि तपाईसँग कुराकानी गर्दाको अवस्थामा भौतिक प्रगतिको अवस्था करिव ८५ प्रतिशत छ भने बाँकी दुईमहिनाको अवधिमा २० प्रतिशत काम सम्पन्न गर्नेछौ ।

जनप्रतिनिधिको भएर कार्यभार सम्हाल्नुभएको दुईबर्षमा वडामा के– के उल्लेखनीय काम गर्नुभयो ?
निर्वाचित भएको पहिलोबर्ष अलमलमै वित्यो। विनियोजित बजेटलाई कार्यान्वयन गरिएपनि वडास्तरका योजनाहरुलाई प्राथमिकताका आधारमा बजेट विनियोजनमा केही समस्या देखिएको थियो तरपनि दुईबर्षमा केही नयाँ योजनाहरुमा काम गर्न सफल भएको छु । वडामा रहेको स्वास्थ्य चौकीलाई बर्थिङ सेन्टर, विपद् ब्यवस्थापन भवन निर्माण, बस्तीस्तरका जनतालाई घरदैलोमै पुगेर सेवा, अर्जममा गाउँघर क्लिनिक, प्रहरी विटको ब्यवस्थापन, बुढोपोखरी संरक्षण, सचेतनामुलक कार्यक्रम, सारेमारेको झोलुङ्गे पुल निर्माणमा देखिएको समस्या समाधानमा सक्रियता, वडास्तरमा ९ वटा शौचालय निर्माण, बालबालिका, ज्येष्ठ नागरिक, आमा समुहको सञ्जाल गठन लगाएत विभिन्न योजनामा काम गरिएको छ । बजेटको अभावका कारण केही महतवपूर्ण योजननामा काम गर्न सकिएको छैन् ।

रत्नेचारैलाई पर्यटकीय गन्तब्य बनाउन सकिने सम्भावना कत्तिको देख्नुहुन्छ त ?
बागलुङको सिमाना जोडिएको रत्नेचौरलाई धार्मिक तथा पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सकिने प्रसस्तै सम्भावना छ । साविकको धौलागिरि अञ्चलमै पहिलो पटक सन् १८४० मा निर्माण गरिएको पहिलो मानवनिर्मित पोखरी यही छ । रत्नेचौर, ज्यामरुककोट तथा भकिम्ली जोड्ने पदमार्ग बनाउन चालु आवमा ६ लाखको बजेट विनियोजन गरिएको छ । जसबाट करिव डेढ सय मिटर पदमार्ग सम्पन्न भएको छ ।त्यस्तै भ्यूटावर सहित ग्रामिण सडकलाई मर्मत गरी सदरमुकाम बेनीबाहेक तीनवटा वडालाई लक्षित गरी पर्यटनको गुरुयोजना बनाउन सकिन्छ । रत्नेचौरबाट धवलागिरी सहितका हिमश्रृृंखला समेत नजिक देखिन्छ । त्यसैले एकदिनको यात्राका लागि छोटो र सुन्दर गन्तब्य बनाउन सकिन्छ ।

वडामा के कस्ता समस्या देख्नुहुन्छ ?
वडाभित्र समस्या धेरै छन् । सडक सहित अन्य भौतिक पूर्वाधार निर्माणको क्रममा आवश्यक मापदण्डका बारेमा स्थानीयलाई अझै प्रष्ट जानकारी छैन् । जनशक्तीको अभाव, टोलस्तरमा हुने सेवा, लघुउद्यमीहरूलाई प्रोत्साहन गर्ने, स्थानीय उद्योगलाई दर्ता प्रक्रियामा समस्या, विद्युत अनियमित, खानेपानीको समस्या, ग्रामिण क्षेत्र जोड्ने सडकको नियमित मर्मत, बस्तीस्तरमा हुने विकास निर्माणमा जनश्रमदानको अभाव, शिक्षा, स्वास्थ्य लगाएत विभिन्न समस्या छन् । वडास्तरमा आवश्यकता धेरै भएपनि बजेटको अभावका कारण जनताको आवश्यकता तत्कालै पुरा गर्न सकिएको छैन् ।

आगामी आर्थिक बर्षमा तपाईको विकासको मोडेल कस्तो हुन्छ त ?
विगतमा टुक्रे योजनाले कार्यसम्पदानमा समस्या देखियो। ५ लाखभन्दा माथिको योजना बनाउने तयारीमा छौ। पदमार्ग निर्माणका लागि नियमित, बर्थिङ सेन्टर सञ्चालन,आधारभुत तहका विद्यालयलाई मर्जरको प्रस्ताव, एक वडा एक उत्पादन अन्तरगत हामीले गोलभेडा खेतीका लागि प्रोत्साहन गर्ने कार्यक्रम अन्तरगत पहिलो चरणमा २० जनालाई तालिम, रत्नेचौरबाट बागलुङ जोड्ने झोलुङ्गे पुल सहित नियमित योजनालाई नै प्राथमिकता दिने प्रयासमा छौ । विगतमा साना बजेटका कारण प्रगति भएपनि बस्तीस्तरमा परिवर्तन नदेखिएको अवस्थामा दिर्घकालिन प्रभाव पर्ने कार्यक्रमलाई केन्द्रित गरेका छौ ।

रत्नेचौरमा मानव निर्मित ठूलो पोखरी पनि छ, यसको संरक्षणमा वडाबाट प्राथमिकता दिनुभएको छ त ?
सन् १८४० मा निर्माण गरिएको पहिलो मानवनिर्मित पोखरी संरक्षणको पखाईमा छ । गृवार्ण यूद्धको पालामा बाजे लडाईमा मृत्युभएपछि बसन्त बोगटी सन् १८३६ मा रत्नेचारमा बस्ती विस्तारको क्रममा खानेपानीका लागि पोखरी बनाएका थिए । तत्कालिन समयमा लडाईमा बसन्तका बाजेले नेपालको तर्फबाट ठुला लडाईमा खेलेको भूमिकाबाट खुसी भई दिएको उपहारका रुपमा समेत पोखरीलाई लिने गरिन्छ । बेनी–रत्नेचौर हुदै बागलुङ सडकखण्ड नजिकै रहेको पोखरीबाट यहाँ पर्यटक तान्न सकिने एउटा महत्वपूर्ण आधार पनि हो ।

करिव ५०मिटर चौडाई र ७० मिटर लम्बाई रहेको पोखरी आसपासको क्षेत्रमा समेत बगैचा विस्तार गर्न ७ रोपनी जग्गा रहेको छ । पोखरीबाट करिव २२ मिटर माथी ढोरेनी खोलाबाट ल्याइएको पानी पोखरीमा हालेपछि स्थानीयले प्रयोग गर्ने गरेका थिए । नजिकै देखिने हिमश्रंखला, मनोरम दृष्य र निलो पोखरी अवलोकन गर्ने जाने गरिएपनि विस्तारै पानीको मुहान तथा संरक्षण नभएपछि चालु आवमा २ लाख, विगतमा १ लाख ५० मर्मतमा खर्च गरिएको छ । पोखरीमा घेराबार गर्ने, बस्ने ठाउँ बनाउने, वरीपरी फुलको बोट विस्तार गर्ने योजना छ । नगरपालिका र प्रदेश सरकारलाई समेत सहयोगको अनुरोध गरेका छौ ।

रत्नेचौरमा क्षेत्रीयस्तरको खेलकुद मैदान पनि छ, त्यसको पूर्वाधार विस्तारका लागि कति बजेटको आवश्यकता पर्छ होला ?

गाउँमै क्षेत्रीयस्तरको खेलमैदान भएपनि पूर्वाधारको अभावमा अलपत्र परेको थियो । खेलमैदानमा पूर्वाधार विस्तारका लागि विभिन्न चरणमा बजेट विनियोजन भएको छ । चालु आवमा खेलकुद मन्त्रालयबाट १० लाखको मञ्च निर्माण भइसकेको छ । स्टेज सहितको तयार भएको छ । तीनबर्षसम्म लगातार ३० लाख खर्च भएको छ । केहीसमय अगाडी काठमाण्डौबाट आएको टोलीले प्रारम्भीक लागतमा करिव २७ करोडमा क्षेत्रीयस्तरमा आवश्यक पर्ने पूर्वाधार बनाउन सकिने जनाएको थियो । मैदानमा सार्वजनिक शौचालय, स्टोडियमको संरचना, खाली जग्गामा बास्केटबल, भलिबल सहितका खेलकुद गतिविधि सञ्चालन गर्न मिल्ने गरी पूर्वाधार विस्तारमा यूवा तथा खेलकुद मन्त्रालयबाट चासो ब्यक्त भएको छ ।

Leave a Reply