आशा र शान्तिको कामना गर्दै उपल्लो मुस्ताङवासीले ऐतिहाँसिक तेन्जी अर्थात् तिजी पर्व मनाएका छन् । लोमान्थाङ र लोध्याकर दामोदर कुण्ड गाउँपालिकाको आयोजनामा पर्व मनाइएको छ । १५ औ शताब्दी देखि उपल्लो मुस्ताङका विष्ट, लोवा, गुरूङ लगाएतका जातिले एकैठाउँमा मनाउने गरेको पर्वले एँतिहासिक, सांस्कृतिक महत्व बोकेको छ ।
लोमान्थाङको ध्ये प्राङ्गणमा ‐लोमान्थाङ दरबार अगाडी) हर्षोल्लासपूर्वक मनाइएको तिजीमा उपल्लो मुस्ताङका धमी, चराङ, सुर्खाङ, लोमान्थाङ, छोन्हुप र छोसेरमा बसोबास गर्ने मुस्ताङीका साथै स्वदेश तथा विदेशमा रहेकाहरू समेत पुजाआजाका लागि जाने गरेका छन् । तिजीको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथिवि गुरुङको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको छ ।
बुद्धधर्मका लामा दोर्जी सुनुको पुनर्जन्मसँग सम्बन्धित पर्वमा लामा विद्यालयले तीन दिनसम्म विशेष प्रस्तुति गरेका थिए ।
पर्वमा लामा नाच, मुकुट नाच प्रमुख आर्कषण रहेको छ । ‘शताब्दी देखिको पर्वको लोकप्रियता हरेक बर्ष बढ्दै गइरहेको छ,‘तिजीको अवलोकन गर्न मात्रै विदेशी मुस्ताङसम्म पुग्न थालेका छन्’ गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्ट भन्छन् । उनले नयाँ पुस्तालाई तिजीका हरेक गतिविधिमा सहभागिता जनाउने गरी स्थानीय सरकारबाट समेत सहयोगको आवश्यकता रहेको बताउँदै तिजीको महत्व विश्वका कुना–कुनामा रहेकाले यसलाई थप प्रचारप्रसारका लागि प्रदेश सरकारलाई समेत अनुरोध गरिएको बताउँछन्।
‘सुनुले पुनर्जन्म लिई पृथ्वीमा राक्षसको भय र हिंसा हटाएर शान्ति र सुव्यवस्था कायम गरेको विश्वासमा तिजी मनाउने गरिन्छ’ एक स्थानीयले भने । तिजीको अवसरमा लामा शिक्षातर्फ आर्कषित भइरहेका बालबालिकाले समेत नृत्य प्रस्तुत गर्ने गरेका छन । लोमान्थाङ दरवारको आगनमा भेला भई पर्वका अवसरमा एकआपसमा बर्षभरी भएका सुख–दुख साटासाट गर्ने, आफ्ना समस्या समाधान गर्ने, ग्रहदशाबाट मुक्त पाउन पनि पर्वमा पुग्ने धेरै मुस्ताङी भेटिन्छन् ।
तिजी पर्वका बारेमा उल्लेख धार्मिक पुस्तकमा गाउँका बासिन्दा माथि भएको अन्याय गर्ने माथि विजय प्राप्त गरिएको दिन यो पर्वको अर्को महत्वपुर्ण पक्ष रुपमा समेत तिजीलाई हेर्ने गरिन्छ । पर्वलाई निरन्तरता दिन नसकेमा निरन्तर समस्या उत्पन्न हुने, प्राकृतिक विपत्ति आउने, मनोकामना पूरा नहुने जस्ता समस्या देखिने किम्वदन्ती रहेकाले पनि प्रत्येक वर्ष यो पर्वमा सहभागिता जनाउन उपल्लो मुस्ताङी एकै स्थानमा भेला हुन्छन् ।
पर्वको अवसरमा पदभासम्भा नामक ठ्रूलो आकारको थाङ्का भित्तामा प्रर्दशन गरेर ईश्वरका विभिन्न रुप र शक्ति पनि देखाइन्छ ।ड्रम बजाएर प्रस्तुत गरिने लामा नाच यहाँको प्रमुख आकर्षण हुन । पर्वमा प्रस्तुत गरिएका नृत्यको तस्वीर लिनका लागि आन्तरिक तथा बाह्य पर्यटकले शुल्क समेत तिर्ने गरेका छन् ।
तिजीलाई लक्षित गरी लोमान्थाङ प्रवेश गर्ने क्षेत्रमा स्वागत गेट, गाउँलाई चिटिक्कै सरसफाई सहित अतिथिको स्वागत तथा बस्ने ब्यवस्था समेत गर्ने गरिन्छ । तिजीलाई अन्नपूर्ण संरक्षण आयोजना एक्यापले समेत सहयोग गर्ने गरेको छ । तिजीलाई स्थानीय संस्कृतिको मुख्य आधार मान्ने गरिन्छ । मुस्ताङको सदरमुकाम जोमसोमदेखी लोमान्थाङ हुदै कोरला नाकासम्म सडक सञ्जालले छोएपछि आन्तरिक तथा बाह्य पर्यटक तिजीकै अवसरमा पुग्ने गरेका छन् । तिजी विविध समस्याका कारण १९९२ देखि १९९४ सम्म रोकिएको थियो । कुनैसमय तिब्वतीहरु समेत मुस्ताङीसंगै पर्व मनाउने गरेका थिए ।
तत्कालिन समयमा घोडामा तिब्वतीहरु मुस्ताङमा भित्रिने गरेका थिए । मुस्ताङीले समेत तिब्वतीलाई निम्तो दिएर तिजीमा बोलाउने गरेको समेत स्थानीय बुढापाका बताउँछन् ।
मुस्ताङ र तिब्वती बीचको सम्बन्धलाई समेत तिजी पर्वले जोड्ने गरेको छ । मुस्ताङी राजा, यूवराज लगाएतले तिब्वतबाट विवाह गरेका छन् । तिजीमा आपसी स्नेह साटासाट, विश्वशान्ति र दैवीप्रकोप कम होस् भन्ने कामना गर्न तिब्वतीहरु सहजै आवतजावत गर्न नपाउने भएकाले पनि पछिल्लो समय टेलिफोनबाटै शुभकामना आदानप्रदान गर्ने गरेको स्थानीयको भनाई छ । Photo Source: Mustang Lowa