उत्तरी पर्वतको मल्लाजस्थित जलजला गाउँपालिका–३, माझफाँटमा शुक्रबार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट २ सय जनाभन्दा बढी ज्येष्ठनागरिकहरु लाभान्वित भएका छन् । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजना र राष्ट्रिय ज्येष्ठनागरिक महासंघ गण्डकी प्रदेशको समन्वयमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा १ सय २६ जना महिला र ७७ जना पुरुषको स्वास्थ्य चेकजाँच गरिएको आयोजकले जनाएको छ । शिविरको अवसरमा विशेष गरी मुटुरोग, नाक, कान तथा आँखासम्बन्धी समस्यालाई मध्यनजर गरी विशेषज्ञ सेवा प्रदान गरिएको थियो। शिविरमा १ सय जनालाई निःशुल्क रुपमा चस्मा वितरण गरिएको छ भने औषधी समेत उपलब्ध गराइएको छ ।

शिविरको धौलागिरी अञ्चल अस्पताल बागलुङ, बेनी अस्पताल म्याग्दी, हिमालय आँखा अस्पताल घारीपाटन पोखरा र मल्लाज स्वास्थ्यचौकीमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गरेका थिए । शिविरमा डाक्टरहरु रविन पौडेल, नारायणप्रकाश शर्मा, मनोज घिमिरे, रिना लामिछाने, दिपा ठकुरी र मल्लाज स्वास्थ्यचौकी इन्चार्ज गोरे नेपालीले बिरामीको उपचार गरेका थिए ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार शिविर सञ्चालन गरिएको मन्त्रालयका महिला विकास अधिकृत सुशिला आचार्यले बताइन् । उनका अनुसार गण्डकी प्रदेशको मनाङबाहेक १० जिल्लामा एकदिने निःशुल्क स्वास्थ्य शिविर चलाइएको छ । शिविरमार्फत करिब २ हजार जना ज्येष्ठनागरिकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य रहेको महिला विकास अधिकृत आचार्यको भनाइ छ । ज्येष्ठनागरिकहरुलाई घरदैलोमै विशेषज्ञ टिमसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित शिविर आयोजना गरिएको जनाइएको छ ।

निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले गाउँपालिकामार्फत पनि दुर्गम क्षेत्रका स्थानीयको स्वास्थ्यमा सुधार आउने खालका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको बताएका थिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतका सचिवालय सदस्य लालबहादुर अधिकारी र राष्ट्रिय ज्येष्ठनागरिक महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष गुमानसिं कार्कीले मन्तव्य राखेका थिए । कार्यक्रम जलजला–३, का वडा अध्यक्ष देवेन्द्र भण्डारीको अध्यक्षता र सामाजिक विकास मन्त्रालयका अधिकृत देवी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply