कृष्ण जिसी/ सँधै हातमा किताव, मार्कर बोकेर कक्षामा प्रवेश गर्ने म आज खाली हात झ्वाट्ट कक्षामा पस्दा विद्यार्थीहरु अचम्म परे र खुसि पनि भए किनकि उनीहरु धेरैलाई मेरो शैली थाहा छ । मैले भने “एउटा कापी कलम र पानीको बोतल लिएर मेरो पछि पछी आउ ।” उनीहरु सरसार मेन ग्राउन्डमाा भेला भए र मेरो पछी लागे । अब उनीहरुलाई थाहा भैसकेको थियो कि हामी कहाँ जादैछौं । उनीहरु बाटो लागे कतिपय दोबाटोमा पुगेर कुरिरहेका थिए भने कोहि म संगै थिए । उनीहरुलाई मैले “हामी जलेश्वर सामुदायिक बनमा जानेछौं“ भन्दै बाटो बताएँ र त्यहाँ पुगेर म अगाडी लागें । झाडी पन्छाउन्दै एउटा रमाइलो यात्रा बिद्यार्थीहरु संग बन जंगल र प्रकृति प्रेमी हरु संग ।

विश्व बाताबरण दिवसको अवसरमा बिगत केहि वर्ष देखि मैले कक्षा ९का विद्यार्थीहरुलाई यसरी बनजंगल, पानीको श्रोत लगायतका ठाउँमा पुर्याउने गरेको छु । रमाइलो लाग्छ उनीहरुलाई यसरी बनजंगल घुमाउँदा । कक्षा कोठामा मात्रै थुनेर पढाइ हुदैन । महिनाको एक पटक मेरो कक्षाका विद्यार्थीहरु कुनै न कुनै उदेश्यका साथ् बाहिर निस्कन्छन । कसैलाई होतर्दै खोल्सा, हिलो, पानी, झम्ट्यान आदिमा हात समाएर हिंडाउदा रमाइलो मात्रै हैन उकालो ओरालो नगरेका नानिबाबुहरुलाई त धेरै फरक अनुभव हुने गर्छ । मैले जिस्क्याउने गर्छु “हेर नानि हो कक्षामा मात्रै बस्दा, घरमा पनि एकैछिन बाहिर नानिस्कँदा मान्छे बोइलर कुखुरा जस्तै हुन्छ, त्यसैले यो सुन्दर प्रकृति र बाताबारणलाई मज्जाले अनुभाव गर्नु पर्छ“ भनेर हौस्याउछु उनीहरु संगै रमाईलो गरेका अबस्थामा केहि यस्ता प्रसङ्ग छन् जसले के कसरी भन्ने कुरा बुझ्न स्पष्ट होला ।

पानीको मुहान ः बेनी गलेश्वर सडक खण्डको जलेश्वर अन्तर्गत राउवाडा हुदै काउलेगौडा तिर जाने बाटोको मास्तिर लागेपछि त्यहाँ चुल्ठी परेर गुजुल्टिएका पानीका पाइप छन् जहाँ पानीको मुहान छ । त्यहाँनेर बुट्यान भरि धजा बाँधिएको र पुजा गरिएको छ । अक्सर पानीको मूल, धारा पधेरामा यसरी देउताको “थान” स्थापना गरिएको हुन्छ । यसको अत्यन्तै महत्वपूर्ण भूमिका हुन्छ । प्राकृतिक श्रोतको संरक्षमा जुनकुरा उनीहरुले कक्षामा सुनिसकेका थिए त्यहाँ देख्दा धेरैले मलाई हेरर हाँसे, किनकि मैले कक्षामा बताएको कुरा यथार्थ हो भन्ने कुरा उनिहरु सबैलाई ज्ञात भयो । अलिकति मास्तिर भित्ताभरि ग्यालिनमा “मिनी ट्यांकी” बनाएर त्यसबाट पाइप मार्फत पानी लागिएको उनीहरुले बुझिहाले । पानीलाई पुरापुर उपयोग गरेको यहि हो । पानी जीवन हा, े पानीको श्रोत संरक्षण प्रयोग किन र कसरी हुनु पर्छ भन्ने ब्यबहारिक सिकाइ उनीहरुमा भयो ।

तुसारे र भुँइं चिप्ले ः जेठको गर्मी तर जंगलमा पानीको मुहान र चिस्यान भएको ठाउँमा बसेर पढ्दा उनीहरुलाई आनन्द लागेको त छंदै थियो । अझै बढी रमाइलो बर्खा लाग्न थालेकोले हरियाली झ्याप्पै बढेको कारण बाताबरण आनन्दायी थियो । मैले उनीहरुलाई त्यहाँ भएका बनस्पतिको बारेमा जानाकारी गराएँ । मेरा मात्रै हैन यहाँ अधिकांस नानिबाबुहरुमा बनस्पति र बोटबिरुवाको नाम नै थाहा छैन, बनमारा चिने तर जलुकोलाई कर्कलो भनिदिए, हो जलुको त्यहि कर्कलो बर्गमा पर्दछ । तुषारेको बोट देखाउदै उनिहरुलाई सोधें ९० प्रतिशतले चिनेनन । त्यस्तै अंगारे, काम्ले, भुँइचिप्ले, यी घाँस हुन् । चिसा,े ओशिलो र पानीको मुहान भएको ठाउँमा यस्ता बनस्पति उम्रन्छन भन्ने जनाकारी पछी पानीको मुहान जोगाउने हो भने, पानीको मुहान वरपर पवृक्षारोपण गर्नु पर्दछ भन्ने बुझाउन मलाइ गाह्रो परेन ।

हाम्रो बनमा डाले घाँस देखि थुप्रै औषधीजन्य बनस्पति हुन्छन भन्ने कुरा उनीहरुलाई सिकाउंदै जाँदा निकै रोचक मान्दै गए । जलेश्वर सामुदायिक बनमा २ वर्ष पहिला न्यु वेष्ट पोइन्ट आवासिय माविले आफ्नो रजत बर्षको अवसर पारेर “विश्व बाताबरण दिवसको” अवसरमा ८० वटा विभिन्न प्रकारका बिरुवा रोपेको थियो । हरेको वर्ष विद्यार्थीहरुलाई दुइ पटक अवलोकन गर्न त्यहाँ पुर्याउने गरिन्छ । लाँकुरी र सिर्मु तापक्रम र हावापानी नमिलेकोले हुर्कन सकेका छैनन् भने, राइखन्यु र स्थानीय खन्यु, कुट्मिरो, लगायतका बिरुवा राम्रोसंग बढेका छन् । उनीहरुलाई ति बिरुवा देखाउदै, गन्न लगाउदै र वरिपरी रहेको घाँस पन्छाउदै गर्दा वास्तविक “बाताबरण दिवस” मनाएको आभास भयो । वातावरण संरक्षण गर्नको लागि पहिलो कुरा भनेको त बिरुवा रोप्नु नै हो ।

कांस र कुरकुरे खाँदा ः बिरुवाको गन्ति र गोडमेल पछी काँसको झाडीमा पुगेर मैले त्यसको डाठ चपाउँदा उनीहरु छक्कै परे । उनीहरुले सोधे सर यो के हो ? थोरैलाई मात्रै थाहा रहेछ यो कांस हो भन्ने । तर कसैलाई पनि थाहा रहने छ त्यसको डाँठ चपाउँदा गुलियो हुन्छ भन्ने । जसलाई हामीले बनउखु भन्ने गर्थ्यौं । उनीहरुलाई मैले भने यसको डाँठलाई चपाउँदा कुनै नोक्सान गर्दैन । सितल हुने गर्दछ औसधिको रुपमा पनि प्रयोग हुन्छ भनेर मैले बुझाएँ । अझै रमाइलो त कुरकुरे झारले गरायो ।

यो केहो मैले कुरकुरे देखाएँ, अर्मन घर भएका एकजनाले ठ्याक्कै चिने । सर कुरकुरे अरु हाँसे सर कुरकुरे ? हेर्नुस त, हाम्रा नानिबाबुहरु कुरकुरे भन्ने बित्तिकै बजारमा पाइने प्याकेटको खाने कुरा सम्झीए तर कुरकुरे बनस्पतिको बारेमा धेरैलाई थाहा रहेनछ । यसको काम केहो ? मैले सोधे । धेरैले घाँस हो भने यो मुख्यतया घाँस नै हो तर मैले हाँस्तै भने यो कुरकुरे तुर्तुरेको औषधी पनि हो । उनीहरु मरीमरी हाँसे । यो तुरतुरे भनेको केहो सर ? मैले गाइबस्तु या मान्छेलाइ पनि हुन्छ नि घरी घरि पिसाव लाग्न,े थोरै मात्रै पिसाब आउने त्यो भनेको । मलाइ मेरो हजुरबुवाले गोरुलाइ तुर्र्तुरे हुँदा यसलाई औषधीको रुपमा गोरुलाई ख्वाएको थाहा छ ।

घुमिसकेर फर्कने बेलामा सितल छहारीमा बसेका बेला मात्रै आजको अभ्यास र भ्रमणको निष्कर्ष निस्कियो । मैले चाहन्थे नानिबाबुले प्रश्न सोधुन् । नभन्दै उनीहरुले जिज्ञासा राखे “सर हजुरले कसरी चिन्नु भयो यति धेरै बिरुवा झारपात ?” मैले भने यसै गरेर सोधेर । बाबा आमाले सिकाए। तिमीहरुलाई मैले किन यहाँ ल्याएको ? चिनाउन । जव तिमीहरुले यी कुरा चिन्छौं नि अनि मात्र त्यसप्रति माया बढेर आउँछ । जुन चिजलाई चिन्दछौं त्यस प्रति माया बढेर आउँदछ, अनि माया बढ्यो भने जतन गर्छौं बिग्रन दिदैनौ । त्यो संरक्षण भयो भनेर सुझ्याँए । हाम्रा नानिबाबुहरुलाई प्राकृतिक बाताबरणका यस्ता तत्वलाई चिनाउने हो भने मात्रै उनिहरुमा त्यसप्रतिको माया र संरक्षणको भावना बिकास हुने गर्दछ र संरक्षण हुन्छ । “आफुले रोपेका बिरुवा हुर्केको देख्दा उनीहरु रमाए किनकि त्यस प्रतिको माया हो ।” बाताबरण दिवस त एउटा बिशेष दिन हो । ति बाहेक हरेक दिन हामी सवै प्रकृति संग प्रेम गर्न थाल्यौं भने। यसका तत्वलाई मायागर्न थाल्यौ भने त्यतिबेला बाताबरण दिवसको सार्थकता रहन्छ ।

Leave a Reply