समृद्ध नेपाल र सुखी नेपालीको नारा घन्की रहेको बेला दिन भरिको थकाइले लखतरान भएर एउटा गा.बि.स.मा पर्ने आफ्नो घरमा मस्त निदाई रहेका एक सर्ब साधारण भोलिपल्ट उठ्दा त उपमहानगरपालिका बासी भै सकेका रहेछन | उही कुटो, उही कोदालो, उही बाटो अनि खेत पनि उही र पनि उपमहानगरपालिका बासी भएकोमा आएका बधाईका ओइरोहरुले अलमल्ल पर्दै दैनिकी शुरु गरे |

राजनीतिक परिबर्तनले सरकार आफ्नै घर आँगनमा आउने, जीवन सहज, सुलभ र सम्पन्न हुने सपनाका साथ दिन गन्दै सुख पर्खेका आम सर्बसाधारण रेडियो सुन्दा,पत्रिका हेर्दा भ्रस्टाचारले भरिभराउ खबरहरुले बेलाबखत आतीएको मनलाई जसोतसो समृद्ध नेपालको सपनामा अल्झाउदै सुनौलो भविस्यको कल्पना संग रमाउदै थिए   |

गा.बि.स. बाट गाउपालिका कहलिएका स्थानीय तहमा जग्गाको कर तिर्न जाँदा पो थाहा पाए परिबर्तन त धेरै भएको रहेछ | पाँच पानाको फर्म भर्ने उसको क्षमतै थिएन, कर्मचारीले स्नेह पुर्बक भरिदिने संस्कार र परम्परा नै भएन  | अनेक जोहो गर्दै फर्म त भराए तर बुझाउन सकेनन् | चिटचिट पसिना आयो तिर्नु पर्ने करको रकम सुन्दा | कारण एउटा मात्रै थियो ऊ उपमहानगरपालिका बासी भै सकेको रहेछ जसमा न उसको सहमति थियो न त बिमति नै |

उत्पादनमा कुनै परिबर्तन भएको थिएन | उही जग्गा, उही संरचना | न त सिचाईको अवस्था सुध्रिएको थियो न त  बिउबिजनको उपलब्धता नै सहज भएको थियो | कहिले काहीं उब्जिने अलि अलि तरकारी पनि  सस्तोमा बिचौलियालाई दिनुको बिकल्प थिएन | उही अभाब उही अवस्था तर कर चाहिं आकासिएको अवस्थाले ऊ अक्क न बक्क भै छटपटीदै यताउता सोध्न थाल्यो तर उसको कुरा सुन्ने फुर्सद कसैलाई थिएन | दुई तिहाइको भारी बहुमतले बनेको सरकार यस्ता झिनामसिना कुरालाई वास्ता गर्ने कुरै भएन |

खेत जोत्न सक्ने युवा सन्तान हातमुख जोर्न विदेशिएको अवस्था अनि कृषि सहयोगी बाताबरणको अभावमा उब्जनी गर्न नसकिए पनि कर त तिर्नै पर्यो भनि सकी न सकी खेतका डल्ला फुटाऊदै थिए कि पल्ला घरे छिमेकीका छोरा दगुर्दै आए र तिनका घर भत्काऊन लागेको भने |

खुट्टामा चप्पल समेत लगाउन भुल्दै दगुरेर घर पुग्दा दुईटा कोठा आधी हुने गरी ह्वाङ्ग पारी भत्काई सकिएको रहेछ , श्रीमती भुइँमा रुदै कराउदै गरेको देख्दा मन भित्रै देखि भक्कानियेला जस्तो भए पनि समाजले मर्दको जात रुनु पनि भएन भनि सिकाएको हुदा  दुखेको मुटुको पिडा मन मै लुकाई आँशुले भरेको आँखा  उठाई चारै तिर हेर्दा डोजर चलाउने, वरिपरी उभ्ने सबै त्यहि समाजका तिनै स्थानीय सरकारका ब्यक्तिहरु नै थिए जो हिजो अस्ति सम्म संगै चिया गफ गर्दै दुख सुख साट्ने गर्थे | मर्दा पर्दा एक अर्काका साथ उभिन्थे |

आज किन हो किन ती सबै अनुहारहरु डोजर जस्तै भीमकाय  डर लाग्दो लाग्यो  अनि घृणा जागेर आयो ति सबै अनुहारहरु प्रति अनि नजिकै को पोलमा झुन्डेको तस्बिर प्रति पनि | डोजरले घर भत्काउदा, खानेपानीको  पाइप फुटी पानी नआउने भएछ अनि बिजुलीको तार पनि चुडिएर अन्धकारमग्न उसको घर कुनै शमशान भन्दा कम थिएन त्यो रात तर उपमहानगरपालिकाका बासिन्दा भएकोमा उसलाई देश विदेशबाट बधाई आउन चाही कम भएको थिएन |

उसका चाउरीपरेको  अनुहार, कुप्रिन शुरु भएको शरीर अनि भारी बोक्न र गर्हुन्गो काम गर्न जाँगर नचल्ने सबै बुढ्यौलीका संकेतहरुले जीवन कठिन भएको महशुस चाहिं भएको थियो | रात भर भोकै प्यासै अन्धकारमा काटी भोलि पल्ट बिजुली र खानेपानीको अफिसमा जादा सिफारिस सहितको आवश्यक कागजातहरु लिएर आउन मौखिक उर्दी पाए पछी उसले यी सबै औपचारिकता पुरा गर्न कम्तिमा एक महिना लाग्ने संकेत पाई सके पनि उसको दिमागमा एउटा प्रश्न बारम्बार घोच्दै  थियो कि घर भत्काउने, खानेपानी पाइप फुटाउने अनि बिजुलीको तार चुडाउने सरकारी निकाय नै हो जसलाई बखुबी थाहा छ कि यो उसकै घर हो र पनि फेरी उसले कागजात, सिफारिस, दस्तुर के के झमेला उसको जिम्मामा किन ? सिफारिस, कर्मचारी, चाकडी यो सब सम्झिदै उसको बिरक्तिएको मनले थप सोच्न  चाहेन |

कति सपना बाडिएको थियो चुनाब अगाडी | के ती सबै झुठा थिए ? सबै सुबिधाहरु सहज र सरल तरिकाले घर नजिकै पाइन्छ अनि  तिनी जस्ता सबै सर्वसाधारणको जीवनमा सकारात्मक परिवर्तन आउछ भनेका थिए | छोरा विदेश पठाउने बेला एक पटक त सरकार ले जग्गाको मुल्य बढाएको सुन्दा खुशी पनि भएका थिए तर जब कुनै पनि सरकारी बैंकले समेत उसको जग्गाको सरकारी मुल्य अनुसार ऋण दिन नमान्दा उसको भ्रम टुटेको थियो किन कि त्यो मुल्य त सरकारले कर बढाउन पो गरेका रहेछन तिनकै बैंकले त त्यो मुल्य मान्दैन भने अरु संग के गुनासो गर्ने भन्दै चित्त बुझाएका थिए |

घरमा दुई जना बुढाबुढी अनि भत्किएको घर त्यस माथि न खाने पानी  न बिजुली अत्यार लाग्दो गरि दुई दिन छिमेकीले ल्याई दिएको खाने कुरा खादै दिन बिताए | मोबाइल चार्ज गर्न नपाएर बन्द भएको चालै पाएन छ | छिमेकी पसलबाट छोराको फोन आएको खबरले अवरुद्ध गलाका साथ दगुर्दै गएको उसको पाइला एकै चोटी पसलमा पुगेपछि मात्रै रोकियो अनि फोन समाते पछी उसले  दृढ अनुहारका साथ फोनमा कुरा गर्दै भने बाबु तिमी उतै बस यहाँ त सब थोक उल्टो छ | समृद्ध नेपालको सुखी नेपाली बन्ने भनेको त गरिब नेपालको दुखी नेपाली पो भईए छ | त्यस पछी उसको शब्द निस्केन, सुस्केरा हाल्दै फोन  राखी दिए र गन्तब्य हिन दिशा तर्फ पाइला चाले शायद मन मनै कुनै ठोस निर्णय लिएका थिए जीवन डोर्याउने वा सिध्याउने | (वीणा झा – समाजशास्त्री )

Leave a Reply