बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका मृतक युक्तप्रसाद श्रेष्ठको सीसीटीभी दृश्य हामीलाई प्राप्त भएको छ ।उनले आत्महत्या गरेका हुन् वा हत्या भएको हो भन्ने विवाद चलिरहेका बेला ‘पोस्टमार्टम रिपोर्ट’मा भने शरीरको भित्र भागमा धेरै ठाउँमा चोटपटक लागेकाले मृत्यु भएको उल्लेख गरिएको छ ।

डिल्लीबजार मालपोत कार्यालयका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठको काठमाडौं, बालाजुको माछापोखरीस्थित सपिङ सेन्टरको सात तल्लाबाट खसेर गत आइतबार मृत्यु भएको थियो ।उनको मृत्युलाई प्रहरीले आत्महत्या बताएपछि आत्महत्या वा नियोजित हत्या भन्नेमा विवाद भइरहेको छ ।

हामीलाई प्राप्त सीसीटीभी दृश्यमा साउन १२ गते आइतबार मृतक श्रेष्ठ दिउँसो १ बजेर ३९ मिनेटमा सपिङ सेन्टरको प्रवेशद्वारबाट भित्र छिरेको देखिन्छ ।कालो पाइन्ट, सेतो सर्ट र पातलो ज्याकेट लगाएका श्रेष्ठ पहिलो तलादेखि चौथो तलासम्म ‘लिफ्ट’ प्रयोग नगरी भर्‍याङबाटै माथि गएको दृश्यमा देखिन्छ ।चौथो तलासम्म फटाफट गएका उनी पाँचौं तलामा पुग्दा अलि अल्मलिएको देखिन्छ । हिँड्दा हात पछाडि राखेका श्रेष्ठसँग दृश्यमा सँगै अरु कोही पनि देखिँदैनन् ।

एक्लै हिँडेका उनी त्यसपछि सीधै सातौं तला पुग्छन् । सातौं तलामा पुगेपछि सपिङ कम्प्लेक्सको झ्यालमा चढी उनले हामफालेको बताइएको छ ।खसेर मृत्यु भएलगत्तै प्रहरीले उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएको थियो ।तर, मृतकका परिवारजन तथा नेपाली कांग्रेस पर्वत जिल्ला समितिले उनले आत्महत्या गरेको नभइ सुनियोजितरुपमा हत्या भएको भन्दै छानबिन गर्न माग गर्दै आएको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा पनि सांसद देवेन्द्रराज कँडेलले घटनास्थल र लासको प्रकृति हेर्दा आत्महत्या भनेर विश्वास गर्न नसकिने भन्दै प्रश्न उठाएका थिए ।युक्त श्रेष्ठको मृत्युपछि साउन १३ गते नै दाहसंस्कार गरिसकिएको छ । तर पनि घटनाको निष्पक्ष छानबिन हुनुपर्ने परिवारको माग छ ।यसैबीच, मृतक श्रेष्ठको पोस्टमार्टम रिपोर्ट पनि तयार भएको छ ।

प्रहरी स्रोतकाअनुसार रिपोर्टमा शरीरका विभिन्न अंग र भित्रि भागमा गम्भीर चोटपटक लागेकै कारण मृत्यु भएको उल्लेख छ ।ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको र सोही विषयसँग मृतक श्रेष्ठपनि जोडिएकाले उनले आत्महत्या गरे वा कसैले नियोजितरुपमा हत्या गर्‍यो भन्ने बाँकी कुरा प्रहरी अनुसन्धानबाट नै खुल्नेछ । Source: इमेज TV 

 

Leave a Reply