नविन जुग्जाली/ बाँसुरी सदैव संगीत बनेर बज्न मञ्जुर छ । कलाकार सदैव गीत बनेर बग्न आतुर छ । सिर्फ ! फरक यति मात्र हो । यहाँ बाँसुरी र कलाकारको संयोगको अत्यन्तै जरुरी छ । बाँसुरी आफैमा संगीत होइन । संगीत बन्नको लागि बाँसुरीले कलाकारसँग मितेरी लगाउनुपर्छ र एउटा कलाकार आफू एक्लैले संगीतकार बन्न सक्दैन । ऊ संगीतकार बन्नकोलागि उसलाई बाँसुरीको सहारा चाहिन्छ । जहाँ बाँसुरी र कलाको संयोग रहन्छ । त्यहाँ बाँसुरीले मिठो संगीत दिन थाल्दछ र एउटा साधारण कलाकार संगीतकार बन्न पुग्छ ।

ठीक यस्तै एउटा व्यक्तित्व हुन् जसले आफूलाई अध्यात्मकसँग जोडी आफ्नो जिन्दगीलाई ईश्वरमा समर्पित गरी ईश्वरीय गीत संगीतमा रमेका छन् । आफ्नो भगवानप्रति, परमात्माप्रति अगाध प्रेम र श्रद्धा राखी उसमा सर्वसमर्पण भएर आफू केवल उसको सेवक बनी भगवानकै गुणगान र सेवामा मस्त छन् र आफ्नो जिन्दगीलाई सामाजिक सेवा र कल्याणमा एकाकार बनाई कर्मयोगी एव भक्तियोगीको संगीत सृजना गरेका छन् ।

?

वास्तवमा ती व्यक्ति हुन् बमबहादुर शेरपुञ्जा । झट्ट हेर्दा सामान्य जस्ता देखिने शेरपुञ्जा असामान्य गुणका व्यक्तित्व हुन् । शास्त्रले भन्छ, ‘ज्ञानीले ईश्वर खोज्दै खोज्दै ईश्वर कहाँ पुग्छ । भक्तिलाई स्वयं ईश्वरले खोज्दै खोज्दै भक्त कहाँ आइपुग्छ ।

ईश्वरीय कृपा र अनुकम्पाबाट आत्मज्ञानी बनेका शेरपुञ्जाले ३७ वर्षको उमेरमा आफ्नो गृह त्याग गरी भक्तिमार्गमा आफ्नो जीवनको मार्ग बनाएर ज्ञानको खोज गर्दै भारतको ऋषिकेशसम्मको ध्यान साधना पूरा गरिसकेका छन् ।
यतिबेला रुमीको एउटा कविता याद आएको छ, “संसारलाई झुक्याउन अरु जस्तै वा समूहमा सामेल हुन आफ्नो अनुहारमा लगाएका सबै मुखुण्डा फालिदेऊ,
तिमी जो हौ जस्तौ छौ
तिम्रो आफ्नो अनुहार अद्भूत छ
तिमी जस्तो छौ अरु कोही छँदैछैन ।”
आफ्नो पिताबाट प्रेरणा लिई आफ्नो जीवन आफ्नो असली अनुहार खोज्न हिंडेका शेरपुञ्जाले विगत १८ वर्षदेखि निरन्तर मन्त्र जप, ध्यान, साधना गर्दै आएका छन् । यस अन्तरालमा उहाँको जिन्दगीमा एक प्रकारको आत्मज्ञान प्राप्त हु्ँदै गयो । आध्यात्मिक उन्नति देखिँदै गयो । जसको परिणामस्वरुप राम भक्तिमा समर्पित सर्वनाम श्री बमबहादुर शेरपुञ्जा (रामदास बाबा) लाई वि.सं. २०७३ असार १ गतेको दिनमा आश्रम धार्मिक समारोह कार्यक्रममा नेपालका प्रथम जगतगुरु महाराज श्री विभूषित बालसन्त मोहनशरण देवाचार्यजीको बाहुलीबाट उच्चसम्मान गरिएको थियो ।
उहाँको जन्म पिता तुलबहादुर शेरपुञ्जा र माता रम्भा शेरपुञ्जाको कोखबाट वि.सं. २००८ साल भदौ १४ गतेका दिन हिदी छपाली भन्ने ठाउँमा भएको हो ।

हुने बिरुवाको चिल्लो पात भनेझैं सानै उमेरदेखि सेवा भनेपछि हुरुक्क हुने शेरपुञ्जाले गाउँ समाजमा आपतविपत समस्या, दुःख आइपर्दा सहयोगी हातहरु फैलाउँदै आउनुभएको छ । विगत १८ वर्षदेखि गलेश्वर आश्रममा रहँदै आएका शेरपुञ्जाले लोककल्याण, राष्ट्रकल्याण, सत्य, धर्म, शान्ति, संस्कृति, अहिंसा, सदाचार समेतका विषयमा विभिन्न ठाउँहरुमा नैतिक शिक्षाको प्रवचन दिँदै आउनुभएको छ ।

?

कम बोल्ने तर बोलेको कुरा पूरा गर्ने हक्की स्वभावका शेरपुञ्जाले विशेष गरी म्याग्दी जिल्लाभित्रका सम्भावनाहरुको खोजीमा सदा चिन्तन गरिरहनुहुन्थ्यो । यसै सिलसिलामा धवलागिरी हिमखण्डमा अवस्थित रिखार क्षेत्रलाई शेरपुञ्जाले पहिलो प्राथमिकतामा राखी सक्रिय भूमिका निर्वाह गर्नुको पछाडि धार्मिक तथा आध्यात्मिक रहस्य यस्तो रहेछ –
रिखार (ऋखार) क्षेत्रलाई विभिन्न पुराणहरुमा “ऋषिराश्रम धाम” को रुपमा वर्णन गरिएको पाइन्छ । मत्स्यपुराण र श्रीमद्भागवतमा उल्लेख भए अनुसार संसार प्रलय भै जलामय भए पश्चात् महाराज सत्यव्रत र अरुन्धातिसहित सप्तऋषिहरु संसारका मुख्य मुख्य बीजहरुलाई डुंगामा राखी द्वीप (भूमि) को खोजीमा समुन्द्रमा घुम्न थाले ।

यसरी लगातार उत्तरतर्फ डुंगा खियाउँदै जाँदा उनीहरुले उत्तरापन्थमा धवलागिरी पर्वतलाई समुन्द्रको बीचमा माथि उठेको देखे र त्यतैतिर आफ्नो डुंगालाई अघि बढाए । अन्तमा उनीहरु यही रिखार क्षेत्रमा आई डुंगा अड्याएर भूमिमा पदार्पण गरे र सोही स्थानमा ईश्वरको पूजा आराधना र तपस्या गर्दै रहे ।

यसरी प्रलयकालमा समेत राजा सत्यव्रत सहित ऋषिहरुलाई दिएको यो भूमिलाई पछि “ऋषिराश्रमधाम” भनेर चिनिने यो धाम पुलहाश्रम अन्तरगतका चारधामहरु पूर्वमा गलेश्वरधाम, दक्षिणमा जगन्नाथधाम, पश्चिममा ऋषिराश्रम धाम र उत्तरमा मुक्तिनाथ धाम मध्ये एक धाम मानिन्छ ।

स्थानीयहरु यसलाई रिखार उच्चारण गर्दछन् । यस रिखार क्षेत्रमा डुंगाको वरपर वाल्मीकि गुफा, अरुन्धाति गुफा, सप्तऋषि गुफा नामका गुफाहरु रहेका छन् । उक्त डुंगा आकारको ढुंगा र गुफाहरुले मत्स्य पुराण र श्रीमद्भागत महापुराणको दृष्टान्तहरुलाई सत्य प्रमाणित गर्न खोजेको हुँदा हिन्दू धर्मावलम्बीहरु उक्त क्षेत्रमा पदार्पण गरी आफ्नो जन्मलाई सफल पार्न उद्यत रहने विश्वास गर्दछन् । रिखार क्षेत्रमा हरेक वर्ष जनैपूर्णिमाको दिनमा भव्य मेला लाग्ने गर्दछ ।

?

यति ठूलो धार्मिक तथा आध्यात्मिक विशेषता भएको ऐतिहासिक तीर्थस्थल हुँदाहुँदै पनि सुविधायुक्त बाटोको अभावका कारण ओझेलमा परेको थियो । यहाँको एकातिर विभिन्न किसिमको भौगोलिक कठिनाईले हालको बाटो सानो डोरो मात्र भएको र विभिन्न ठाउँमा ठूलाठूला खोला पार गर्नुपर्ने र ठाडो भिरको बाटो पनि साँघुरो भएकोले वर्षेनी धेरै तीर्थयात्रीहरुले अकालमै ज्यान गुमाउनु परिरहेको थियो भने अर्कोतिर प्रचारप्रसारको अभाव र राज्यको दृष्टि नपुगेको कमजोर स्थितिलाई राम्रोसँग अध्ययन गरेका शेरपुञ्जाले बेनीदेखि घतान, पात्लेखेत, झीं, पाखापानी, मंगले, घ्याँसीखर्क, दवादी, श्रीखर्क, पात्लेखर्क हुँदै रिखार तीर्थस्थलसम्म पुग्ने बाटो सर्वसुलभ एवम् फराकिलो बनोस् भन्ने सदिच्छा राखेका थिए ।

यही सदिच्छा पूरा गर्नका निमित्त त्यहाँका स्थानीय जनतासँग सुझाव र सहयोगको हत्केला फैलाउँदै घ्याँसीखर्कबाट पन्थेखोला, नर्मदाखोला हुँदै रिखारसम्म करिब ५० कि.मि. घोडेटो बाटो खन्न र पुल निर्माण गर्नका निमित्त त्यहाँका सबै जनताहरुसँग सरसल्लाह गरी मञ्जुरीको हस्ताक्षर गराई यो घोडेटो यथाशीघ्र निर्माण गराउनका लागि अद्भुत रामदास बाबाद्वारा राजदरबारमा बिन्तिपत्र चढाएर सहयोग मागेका थिए ।

यसरी कुइनेमंगलेको पात्लेखर्कदेखि रिखारसम्म फराकिलो घोडेटो बाटो खन्ने योजनाको मुख्य अगुवाई गरेका शेरपुञ्जाले आफ्नो लक्ष्य पूरा गरेरै छाडेका थिए । यसका साथै रिखारलाई धार्मिक पर्यटकीय क्षेत्रको आधार स्थापना गर्नका निमित्त व्यापक प्रचारप्रसारमा लागि परेका शेरपुञ्जाले मालिका मन्दिर तथा टोड्के जस्ता धार्मिक स्थलहरुको प्रचारप्रसार गर्नमा पनि उत्तिकै सराहनीय भूमिका खेल्नुभएको छ ।
“कसले सुन्दैछ
के सोच्दैछ…..
पर्वाह नगरी
म गाउन चाहन्छु
चराहरुले जसरी ….”
माथिको कविताले भनेजस्तै जो कसैको परवाह नगरी आफ्नो सत्कार्यमा रमाउन जानेका शेरपुञ्जाको मुखारबिन्दबाट प्रकट हुने वाणीहरु अद्भुत सत्य भई सबैलाई मनोकांक्षा पुग्दै आएको कारण उहाँलाई अद्भूत बाबाको नामले चर्चित हुनुहुन्छ ।

Leave a Reply