सताब्दिऔं देखि हर वर्ष हाम्रो समाज, देशमा समयानुसार विभिन्न पर्वहरु मनाउँदै आईरहेका छौ। जसमध्ये रक्षाबन्धन पनि एक प्रमुख पर्व हो। रक्षाबन्धन पर्वलाई राखि वा जनैपूर्णिमा पनि भन्ने गरिन्छ। श्रावण शुक्लपक्षको पूर्णिमाको तिथिमा पर्ने यस पर्वमा कतै बिहानै उठेर नदीमा गएर स्नान गर्दछन् त कतै ब्राह्मणले आफ्ना यजमानलाई रक्षाबन्धनको डोरो वा विधिपूर्वक मन्त्रद्वारा बनाईएको धागो वा जनै बाँधिदिन्छन्। कतै दिदिबहिनीहरुले दाजुभाईलाई रक्षाबन्धनको धागो बाँधिदिन्छन्, जसलाई राखि पनि भनिन्छ। आज दुनियामा अनेक प्रकारका बन्धन हुन्छन्, जसले दुःखी, अशान्त, चिडचिडापनको अनुभव गराउँछन्। सबै बन्धन दुःखदायि हुन्छन्, तर एउटा मात्र यस्तो बन्धन छ जसले अनेक परिस्थितिहरुमा रक्षा गर्ने गर्दछ, त्यो हो रक्षा–बन्धन।

यहाँ रक्षाबन्धन भन्नाले स्थुल धागो वा डोरी नभई मर्यादारुपि, अनुशासन रुपि बन्धन हो। जब सृष्टि ईश्वरिय मर्यादाभित्र थियो तब व्यक्ति तथा समाजमा सुख, शान्ति, आनन्द, इमान्दारिता, विश्वास, भाईचाराले परिपूर्ण थियो। जसलाई सत्ययुग र त्यहाँका मानवलाई देविदेवता भनिन्थ्यो। जहाँ मानवहरु ईश्वरीय बन्धन अथवा मर्यादाभित्र रहेका थिए जसलाई स्वर्ग, हेवन, बहिश्त, बैकुण्ठ भनेर बुझिन्छ। समयको परिवर्तनसँगै कालान्तरमा सृष्टिको मध्यकालमा मानवको आत्मामा विषय विकार(काम, क्रोध, लोभ, मोह, अहंकार आदि) को प्रवेश भएपछि मानविय गुण र शक्तिको ह्रासको क्रम सुरु भयो।

जब मानवहरु आसुरी अवगुणरुपि बन्धनमा जगडिन पुगे तब मानव जीवनमा अशान्ति, असुरक्षा, दुःख, चिन्ता, पीडा र बैमनस्यता बढ्न थाल्यो। जीवनमा विश्वास, इमान्दारीता, निष्ठा हराउन थाले यसको परिणाम आज हामी वर्तमान समय भोगिरहेका छौ। आज मानवले आफ्नो स्वरुप, गुण, धर्म, कर्म भुल्दै आएको छ। मानसिक अवस्थाको कारण सामाजिक, आर्थिक, शारीरिक रुपमा पनि दरिद्रता छाएको छ, चारैतर्फ कलह र क्लेश, झै–झगडा मात्र चलिरहेको छ तसर्थ वर्तमान समाज आसुरी तथा नर्कसमान बन्न पूगेको छ। भौतिक विकाश त चरम सीमामा पुगेको छ तर आज मानवको नैतिक चरित्रमा गिरावट तथा पतन साथै भ्रष्टाचार बढ्दै गएको छ।

यी सबै मानव कर्मका फल हुन्। आज हर वर्ष रक्षा बन्धन त बाँधिन्छ तर प्रश्न उठ्न सक्छ ‘अब रक्षा को देखि चाहिन्छ?, कसदेखि डराउँनुपर्छ?’ आज न जंगली जनावरको भय छ, न आक्रमणकारीहरुको, न त कंश–रावण आदि राक्षसको आखिर रक्षा कोबाट चाहिन्छ ? हामिहरुलाई रक्षा चाहिन्छ– निर्लज्जताबाट, अनेक फेशनका आकर्षणहरुबाट, घृणा, अविश्वास, भयबाट, काम, क्रोध, अहंकार आदि शत्रुबाट।रक्षाबन्धन पर्व आत्मा–भाव जागृत गर्ने पर्व हो। एक पिताको बच्चा, एकै घरबाट आएका छौ, एकै रंगमंचमा नाटक खेलिरहेका छौं।

हामी सबैको रगत, पसिना, आसूँ, हाम्रो खुशी र चिन्ताको अनुभूति समान छन्, हामी सबै एकै हौं, सारा विश्व एक परिवार हो। वसुधैव कुटुम्बकम् को भावनामा भिजेर हर कर्म र व्यवहार गर्छौ, यसको नाम नै हो रक्षा बन्धन।
जहाँसम्म रोग, निर्धनता तथा अन्य प्रकारका आपत–विपतहरुको प्रश्न छ, यो पनि मनुष्यको आफ्नै कर्मको फलको रुपमा सामुन्ने आउँछ। जबसम्म मनुष्यले आफ्नो कर्मलाई सुधार्दैन, आफ्नो स्वभावलाई मधुर र दिव्य बनाउँदैन तबसम्म रक्षाको कुनै उपाय छैन।

अतः स्पष्ट छ कि रक्षा बन्धन कुनै स्थुल चीज होईन, यो त धर्मको बन्धन अर्थात् पवित्रताको बन्धन हो। जसले धर्मको रक्षा गरेको हुन्छ, उसलाई नै धर्मले पनि रक्षा गर्दछ। जो मन–वचन–कर्ममा पवित्र रहन्छ, उसको रक्षा उसको आफ्नै कर्मले गरेको हुन्छ। कुनै न कुनै व्यक्ति उसको सहायताको लागि निमित्त बनेर आईपुग्छ। रक्षाबन्धन पर्वलाई ‘बिषतोडक पर्व’ अथवा ‘पूण्य प्रदायक पर्व’ पनि भनिन्छ। यसबाट सिद्ध हुन्छ कि यो कुनै विशेष धेरै ठूलो बन्धन हो। डोरो को बन्धन त केबल सुचक मात्र हो।

जसरी कमलको फूललाई पवित्रताको प्रतिक मानिन्छ, त्यस्तै रक्षाबन्धनलाई पनि डोरो बाँधेर रक्षाको सुचक मानिएको छ। चाहे हामी रक्षाबन्धन बाँधौ वा जनै लगाऔं, यी सबै पौराणिक कर्मले हामीलाई पवित्र रहनकै लागि प्रेरणा दिईरहेका हुन्छन्। पवित्रता मानिसको सुखको आधार हो, परमात्मा शक्ति प्राप्ति गर्ने जग हो, सुख–शान्तिको जननी हो। जति–जति मानव भित्रबाट पवित्र हुन्छ ऊ त्यति नै मुस्कुराउन सक्दछ, हँसिलो रहन सक्दछ।

दाजूभाइलाई दिदिबहिनीले अर्थात् ब्राह्मणहरुले आफ्ना यजमानहरुलाई यो रक्षाबन्धन बाँधिदिन्छन्। भाई–बहिनिको नाता धेरै पवित्र हुन्छ, भाई–बहिनिको दृष्टि एक–आपसमा धेरै पवित्र हुन्छ। ऊनिहरुमा काम वासनाको संकल्प लेशमात्र पनि हुन सक्दैन। अतः धर्मको नाताले दिदिबहिनीले दाजूभाईलाई र ब्राह्मणहरुले आफ्ना यजमानहरुलाई यो बन्धन बाध्दछन् पवित्र रहनको लागि।

सदा पवित्र रहनु पवित्रताका रक्षाकारी प्रभूलाई प्रिय लाग्छ। वास्तवमा जो दिदि–बहिनी स्वयं ब्रह्मचर्य व्रतलाई धारण गरेका हुदैंनन् अथवा जो ब्राह्मणले स्वयं पवित्रताको महाव्रतको पालना गर्दैनन्, उनीहरु यस्तो बन्धन कसैलाई पनि बाँध्नेको अधिकारी पनि हुदैंनन्।

जो व्यक्ति स्वयं नियमको पालना गरेको हँुदैन ऊ न अरुलाई त्यस नियमको बारेमा उपदेश दिने अधिकारी नै हुन्छ, न त उसको उपदेशले कसैलाई प्रभाव नै पर्छ। स्वयं ब्रह्मचर्य व्रतको पालन गर्नेवाला दिदि–बहिनी आफ्ना दाजूभाईलाई अथवा मन–वचन–कर्ममा पवित्र रहनेवाला ब्राह्मण आफ्ना यजमानहरुलाई जब यो रक्षाबन्धन बाधिँदिन्छन् तब उनिहरुलाई पनि प्रेरणा मिल्छ।यमराजको दण्डदेखि वा रोग र सोकबाट हामीहरुले साच्चिकेै रक्षा चाहन्छौं भने हामीहरुले पूनः यो विचित्र बन्धन बाँधौ अर्थात् मन–वचन–कर्मलाई पूर्ण पवित्र बनाउँने व्रत बसौं। अरुलाई रक्षाबन्धन बाँधिदिने वा आफूले बाँध्नुको सट्टा हामी स्वयं यस पवित्रताको बन्धनमा बाधिँऔं।

बजारमा गएर एक रेशमि डोरी जस्तो राखि किनेर त्यसलाई बाँध्नु अथवा अरुलाई बाँधिदिएर केहि पैसा वा मिठाई दिएर–लिएर फेरी निर्बन्धन हुनु, यो त आफ्नो जीवनप्रति अचेतवालाहरुको काम हो। रक्षाबन्धन बाँध्दा मिल्ने र स्थूल उपहारको सट्टा एकअर्काका गुणहरुको लेनदेन ग¥यौ भने अपराधमुक्त र सद्भावनापूर्ण समाज अर्थात समग्र रुपमा एउटा नयाँ विश्वको निर्माण हुन सक्दछ। सामाजिक मर्यादाहरु सुखदायि र स्नेही पुष्पहरुबाट पल्लवित हुन सक्दछन्। यहि नै परमात्माको संदेश हो। यदि जीवनलाई केहि उच्च बनाउँने लगन छ, यदि प्रभूसँग सच्चा प्यार छ भने पवित्रताको विणा उठाउन आवश्यक छ।

रक्षाबन्धन बाँध्नु महाविरको काम हो। कायर(कमजोर)ले त न आफ्नो न अरुको रक्षा नै गर्न सक्छ। महाविर वा महाविरनी उनिहरुनै हुन् जो काम विकारसँग युद्ध गर्दछन्, जो क्रोधको अग्निलाई निभाएर शान्त गर्नको लागि आत्मिक ज्ञानरुपी जलले आफूलाई भरपूर गर्दछन्, जो मोहको खाडललाई पार गर्दछन् र अहंकारलाई ज्ञानको तिरद्वारा मेटाईदिन्छन्। बाँध्नु छ भने यस्तो रक्षाबन्धन बाँधौ जसबाट स्वर्गको स्वराज्य प्राप्त होस्, जसबाट प्रभूको प्यार प्राप्त होस्, जुन रक्षाबन्धन बाँध्नाले फेरी कहिल्यै पनि रक्षाको आवश्यकता नरहोस् र जसबाट सबैका कामनाहरु पूर्ण हुदै जाऊन्।

पहिले यदि कसैसँग अपवित्रता युक्त नाता वा व्यवहार छ भने यस पावन दिनमा एक–अर्कासँग पवित्रताको बन्धन बाँधौ। यस प्रकारको रक्षाबन्धनद्वारा नै यो देश पूनः श्रेष्ठाचारी अर्थात् स्वर्ग बन्न सक्छ। यसैले कहावत पनि छ, जब असुरहरुसँग हारेर इन्द्रले आफ्नो स्वराज्य गुमाएका हुन्छन् तब उनले पनि इन्द्राणिबाट रक्षाबन्धन बाँधेका थिए र फलस्वरुप आफ्नो गुमाएको स्वराज्य पूनः प्राप्त गरेका थिए।

यसरीनै अर्को किंवदन्ति अनुसार यमले आफ्नो बहिनी यमुनाबाट रक्षाबन्धन बाँधेका थिए र उनले भनेकी थिईन्, ‘आजका दिन जसले यो रक्षाबन्धन बाँध्दछ ऊ यमलोकका राजा यमराजको दण्डबाट बँच्दछ।’ स्पष्ट छ कि यस्तो रक्षाबन्धन जसबाट स्वर्गको स्वराज्य प्राप्त होस् अथवा मनुष्य यमको दण्डबाट पनि बाँच्न सकोस्, यो एकमात्र पवित्रताको बन्धन हुन सक्छ, अरु कुनै बन्धन होइन। यस रक्षाबन्धन पर्वलाई हामी सबैले मिलेर वैश्वीक रुपबाट मनाउनुपर्ने आवश्यकता छ, ताकि सद्भावना र शान्तिपूर्ण संसारको निर्माण हुन सकोस्। यहि नै रक्षाबन्धन पर्वको मूल संदेश हो।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं
राजयोग प्रशिक्षण केन्द्र
बेनी, म्याग्दी