नेपाल बाल सङ्गठन म्याग्दीमार्फत सञ्चालित म्याग्दी बालगृहमा रहेका बालबालिकासँग सौन्दर्यकर्मीहरुको शनिबार तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको आयोजनामा दिदीबहिनी भेटघाट एवं दरखाने कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै सौन्दर्यकला व्यवसायी संघ नेपालका केन्द्रीय सदस्य राधाकुमारी मल्लले व्युटिसियन महिलाहरु आफ्नो पेशा व्यवसाय सञ्चालनसँगै घर परिवार चलाउन सफल भएको बताइन् । उनले पछिल्लो समय व्युटिसियन पेशातर्फ आबद्ध हुनेहरुको सङ्ख्या बढ्दै जान थालेको बताउँदै महिलाहरु विभिन्न सिपमूलक पेशा तथा व्यवसायमार्फत आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएकी छिन् ।

जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख हुलाक अधिकृत साधनाकुमारी श्रेष्ठले पेशा व्यवसायमा लाग्ने महिलाहरु आत्मनिर्भर बन्दै गएको बताउँदै आफ्नो सिप र पेशालाई थप अभिवृद्धि गर्नुपर्ने बताइन् । ब्रह्माकुमारी राजयोग ईश्वरीय विश्वविद्यालयका सञ्चालिका रिना दिदीले बाह्य सुन्दरतासँगै मानिसमा आन्तरिक सुन्दरता पनि हुनुपर्नेमा जोड दिँदै आन्तरिक सुन्दरता भएमा मानिस सही मार्गमा लाग्ने बताइन् ।

कार्यक्रममा सौन्दर्यकला व्यवसायी संघ बागलुङका अध्यक्ष सनिसा लामा, सामुदायिक प्रहरी सेवा केन्द्र म्याग्दीका अध्यक्ष विष्णु गुरुङ, जिल्ला लघुउद्यमी समूह संघ (डिमेगा)का अध्यक्ष लीलादेवी पुन, लायन्स क्लब अफ म्याग्दी दोभानका अध्यक्ष जानकी विश्वकर्मा, पत्रकार प्रताप बानियाँ र समाजसेवी लक्ष्मीकुमारी जोशीले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रमको अवसरमा म्याग्दीका क्रियाशिल पत्रकारद्वय हरिकृष्ण गौतम र प्रताप बानियाँलाई मायाको चिनो (कप) उपहार दिएर सम्मान गरिएको थियो । सोही कार्यक्रममा समाजसेवी लक्ष्मीकुमारी जोशी र सौन्दर्यकला बागलुङका अध्यक्ष सनिसा लामाले म्याग्दी बालगृहलाई क्रमशः एकहजार र एकहजार पाँचसय रुपैयाँ सहयोग गरेका थिए ।

कार्यक्रम सौन्दर्यकला व्यवसायी संघ म्याग्दीका अध्यक्ष प्रमिला जोशी श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष गंगा थापा कार्कीको स्वागत र संस्थापक अध्यक्ष सङ्गीता श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमको अवसरमा म्याग्दी बालगृहमा आवासीय सुविधासहित अध्ययनरत बालबालिका र सहभागीहरुलाई दर समेत खुवाइएको थियो ।

Leave a Reply