तीजको मौलिकतालाई जर्गेना गर्नुपर्नेमा जोड

0
257

तीज पर्वलाई भड्किलो नबनाई परम्परागत मौलिक संस्कृतिको संरक्षण र धार्मिक संस्कृतिको जर्गेना गर्नुपर्ने म्याग्दीको सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा बोल्ने बक्ताले जोड दिएका छन् । पछिल्ला केहीदशक यता तीज भड्कलो र महंगो देखिन थालेपछि हुनेखाने र हुँदा खानेबीचको दूरी बढाउँदै लगेकोमा चिन्ता ब्यक्त गरिएको थियो ।

बाह्मण महिला समाज म्याग्दीले आयोजित तीज विषेश कार्यक्रममा समय अनुकुल महिलाको जमघट र दुखसुख साटासाट गर्ने पर्व समेत भएकाले मौलिकतालाई हराउन दिन नहुने बताइएको थियो । कार्यक्रमको उद्घाटन गदै ब्राह्मण समाजकी सल्लाहकार जयन्ती रेग्मी सुबेदीले भड्किलो र आधुनिक रुपमा तीज मनाउन थालिएपछि तीजको मर्म र भावना मेटिएको बताउनुभयो ।आधुनिकतासँगै केही परिमार्जन भएपनि मौलिकतालाई हराउन दिन नहुने उहाँको भनाई थियो ।

कार्यक्रममा ब्राह्मण समाजका उपाध्यक्ष लिलाराम गौतमले पुरुषले नेतृत्व गरेको समाज निस्कृयजस्तै भएपनि महिलाको सक्रियतामा विभिन्न कार्यक्रमहरु भइरहेको बताए ।त्यस्तै म्याग्दी होटल तथा रेष्टुरेन्ट ब्यवसायी समितिका अध्यक्ष ताराप्रसाद आचार्य ‘बाबुराम’ले महिलाको प्रमुख पर्वको मर्मलाई संरक्षण गदैं सहरदेखि गाउँसम्मका महिलाहरु बीचको एकता र सहकार्य आवश्यक रहेको बताए ।

तीजमा देखिएको विकृतिलाई रोक्न महिलाहरुकै सक्रियता आवश्यकता रहेको बताइएको थियो । कार्यक्रमको अध्यक्षता समाजकी उपाध्यक्ष रञ्जता सुबेदी, स्वागत सचिव इश्वरी शर्मा र सञ्चालन निर्मला शर्माले गरेकी थिईन् । कार्यक्रममा सदरमुका बेनीमा रहेका ब्राह्मण समुदायबाट उपस्थिति रहेको थियो । म्याग्दीमा ब्राह्मण समाज करिव आधादशक यता निस्कृयजस्तै छ भने महिलाले विभिन्न कार्यक्रम सहित रचनात्मक क्रियाकलापमा सहभागिता जनाउने गरेका छन् ।