“असह्य दबाब नसही
अङ्गुर मदिरा बन्दैन
कोईला हिरा बन्दैन
त्यसैले
टल्कनु भने
घोटिन दुःख नमान ।”
सबै कोइला हिरा बन्दैनन् किनकी हिरा बन्नु त्यति सजिलो छैन । जुन कोइलाले ताप र चाप सहने तथा सामना गर्ने सामथ्र्यता राख्छ । आखिर त्यस्ता कोईलाहरु नै हिरा बन्न सक्छ । यसको मतलव जुन मनुष्यले आफ्नो जीवनमा आइपर्ने दुःख र चुनौतिलाई एउटा सुखद अवसरको रुपमा लिन्छ । वास्तवमा त्यस्ता मनुष्यहरु नै संसारमा सफल पुरुष भएको देखिन्छ र जुन जुन मनुष्यहरु आफ्नो जीवनमा आइपर्ने दुःख र चुनौतिहरुबाट भागे । ती मनुष्यहरुको जिन्दगी कहिल्यै पनि शक्तिशाली हुन सकेनन् । जहिल्यै पनि घाँसपात सरह निरीह भए ।

अक्सर गरेर धर्तीका सारा मनुष्यहरु कमजोर मानसिकतामा बाँचेका हुन्छन् । सुखमा तुरुन्तै मात्तिने र दुःखमा क्षणभरमै अत्तालिने गरेका हुन्छन् । वास्तविकतामा यो मानसिकता सफल जीवनको लागि धेरै हानिकारक मान्न सकिन्छ ।एउटा भकारीको भण्डारमा सुरक्षित रहेको अन्न बीज कहिल्यै पनि नयाँ जीवनसँग उम्रिँदैन किनकी त्यहाँ त्यस अन्नलाई कुनै किसिमको दुःख, चुनौति हुँदैन ।

जब त्यही अन्न बीजलाई एउटा कृषकले आफ्नो खेतबारीमा मिल्काइदिन्छ, तब ती अन्न बीजमा एक प्रकारको दुःख चुनौति सुरु हुन्छ र ती अन्न बीजहरुले माटोको कठोरता, सूर्यको उष्णता र हुरी तुफानको निर्दयीताको बीचमा आफ्नो संघर्षको यात्रा शुरु गर्न थाल्दछ । यही कठिन यात्रामा आइपर्ने दुःख र चुनौतिहरुलाई सामना गर्दै निरन्तर अघि बढ्ने दुस्साहस जुन जुन अन्न बीजहरुले गरेको हुन्छ, वास्तवमा ती बीजहरुले नै आफूभित्रका अन्तरनिहित अनन्त सम्भावनाहरुलाई फुटाउँदै जान्छ ।

अर्थात् बिरुवा वृक्ष, फूल वृक्ष हुँदै फल वृक्षसम्मको यात्रा गर्दछ । यसरी प्रकृतिको नियमलाई अध्ययन गर्दा जुनजुन जीव, वनस्पतिले दुःख र चुनौतिलाई सहर्ष सामना गर्दै अघि बढ्छ ती जीव, वनस्पतिको अस्तित्व महान भएको देखिन्छ । एउटा उक्ति छ, “दुःख र कुकुरदेखि डराएर जति भाग्न खोज्यो, त्यति नै लखेट्न छोड्दैन ।

” वास्तवमा जो मान्छे दुःखदेखि डराएर भाग्छ, उसको जिन्दगीमा वास्तविक सुख कहिल्यै आउँदैन । जसले आफ्नो दुःख र चुनौतिहरुलाई हमेशा साथी बनाएर अघि बढ्छ, त्यसले सुखलाई खोजी रहनुपर्दैन, बरु सुखले नै उसलाई खोज्दै आउन थाल्दछ ।मानव सभ्यताको इतिहास हेर्दा मनुष्यको जिन्दगीमा पनि यही नियम लागू भएको देखिन्छ । यसर्थ दुःख चुनौतिले सफल भएर जीवन जिउन सिकाउँछ ।

सुख, शान्तिले जिन्दगी जिउन हौसला दिन्छ । यसकारण दुःख र सुख मनुष्य जीवनका एक अर्काका परिपूरक हुन् । कुनै एक विना अर्कोको अस्तित्व हुँदैन । प्रकृतिको यही विज्ञानलाई राम्रोसँग मनन गरेका एक सफल व्यक्तिको नाम हो सुवास श्रेष्ठ ।पिता दण्डमान श्रेष्ठ माता दुर्गालक्ष्मी श्रेष्ठको कोखबाट एक्लो पुत्रको रुपमा वि.सं. २०२० साल जेठ ३ गतेका दिन बाग्लुङ्ग, कम्पुटोलमा भएको हो ।

सुवास श्रेष्ठज्यू तीन वर्षको उमेर हुँदा एउटा अकल्पनीय दुःखद घटना घट्यो । आफ्नो पिता, जेठोबुबा र हजुरबुबाको एक वर्षको अन्तरालमा देहान्त भएको थियो । यसरी परिवारको मुख्य अभिभावकहरुको देहान्त भएपछि श्रेष्ठजीको परिवार करिब बेसहारा बन्दै गयो र चरम गरिबीले घेर्न थाल्यो । एक छाक खान पनि धौ धौ पर्न थालेपछि आफ्नो आमा दुर्गालक्ष्मी श्रेष्ठज्यूले तीन वर्षे छोरो सुवास श्रेष्ठ र ६ महिने छोरी नानु श्रेष्ठलाई पिठ्युँमा बोकी आफ्नो माईती मावलीको शरण लिन बेनी पुगेकी थिइन् ।

श्रेष्ठ आफ्ना बज्यै शिवकुमारी श्रेष्ठको पालनपोषणमा हुर्किनुभएको थियो र आफ्ना मामाहरुको अपार साथ सहयोगमा आफ्नो पढाइ शुरु गरेका श्रेष्ठले अनिवार्य स्कुल हाल बेनी सामुदायिक विद्यालय भर्ना भई प्रारम्भिक शिक्षा शुरु गरेका थिए र यसपछि आफ्नो हाई स्कुलको अध्ययनका लागि श्री प्रकाश माध्यमिक विद्यालय बेनीमा भर्ना भई वि.सं. २०३५ सालको एसएलसी परीक्षामा द्वितीय श्रेणीमा उत्तीर्ण हुनुभएको थियो ।

यस पछाडि उच्च शिक्षा अध्ययनका लागि श्री रत्नज्योति क्याम्पस क्षेत्रपाटी, काठमाडौंमा भर्ना भई आफ्नो अध्ययनलाई अगाडि बढाएका श्रेष्ठले वाणिज्यशास्त्रमा प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन पूरा गरी म्याग्दी फर्कनुभएको हो ।२०४० साल मंसिर महिनामा नेपालगञ्ज खजुराकी सुशिला कर्माचार्यसँग वैवाहिक जीवनमा बाँधिनुभएका श्रेष्ठका परिवारमा ३ छोरी र २ छोराहरु छन् ।

“हरेक भावना पाहुना हुन्
मन पाहुना घर हो
कहिले खुशी आउँछ त्यहाँ बस्न
कहिले दुःख कहिले चुनौति
सबै पाहुनालाई बराबर स्वागत गर
ढोकैमा स्वागत गर
हाँसेर स्वागत गर
हरेक पाहुना ईश्वरको कुनै सन्देश लिएर आएको हुन्छ ।”
हरेक दुःख सुखलाई समान रुपले स्वागत र स्वीकार गर्दै आफ्नो मन भावनालाई उदार बनाउनु भएका श्रेष्ठको सामाजिक जिन्दगी वास्तवमै उदार देखिन्छ । वि.सं २०४९ सालमा अर्थुङ्गे तत्कालीन गा.वि.स. वडा नं. २ को वडाअध्यक्षमा निर्वाचित पछि वडा नं. १ स्थित कालीगण्डकी र २ स्थित म्याग्दी नदी नियन्त्रण कार्यमा अग्रणी भूमिका निर्वाह गरेका श्रेष्ठले म्याग्दी बहुमुखी क्याम्पस बेनी, म्याग्दीको स्थापना, भवन निर्माण, जग्गा प्राप्ति तथा बीबीएस, बीए, एमबीएस कक्षा सञ्चालनका लागि महत्वपूर्ण जिम्मेवारी बहन गर्दै करिब २३ वर्ष म्याग्दी क्याम्पसको सञ्चालक समितिको विभिन्न पदमा साथै अध्यक्षको जिम्मेवारी बहन गर्नुभयो । हाल उहाँ म्याग्दी क्याम्पसमा संस्थापक सदस्य हुनुहुन्छ ।

आफ्नो अध्यक्षको कार्यकालमा म्याग्दी पुस्तकालयको पुस्तक थप तथा भवन निर्माण कार्यमा अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो । लामो समयसम्म बन्द रहेको म्याग्दी पुस्तकालयलाई २०४३ सालमा पुनः सञ्चालनका लागि विशेष योगदान गरेका श्रेष्ठले आफ्नो अध्यक्षको कार्यकालमा पर्याप्त पुस्तकहरु थप गर्नुका साथै नयाूँ भवन निर्माणमा महत्वपूर्ण योगदान दिनुभएको थियो । जुन भवन २०६० सालमा राज्यपक्ष र विद्रोही पक्षबीच भिडन्तमा आगलागी भै ध्वस्त भएको थियो ।

बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई समुदायमा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका निभाउँदै आउनुभएका श्रेष्ठ २०४९ सालदेखि हालसम्म बेनी खानेपानीको विभिन्न पदमारही बेनीमा खानेपानीको व्यवस्थापनमा उल्लेखनीय योगदान दिँदै आउनुभएको छ ।

२०६५ सालदेखि हालसम्म उक्त संस्थामा अध्यक्षका रुपमा कार्यरत हुनुहुन्छ । आफ्नो अध्यक्षको कार्यकालमा निर्माण व्यवसायी संघ म्याग्दीको जग्गा खरिद तथा भवन निर्माण गर्नुका साथै विश्वका विभिन्न देशहरुमा रहेका म्याग्देलीहरुको साझा संगठन म्याग्दी प्रवासी नेपाली संघ (मोना) को स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

हाल उहाँ मोनाको संरक्षक हुनुहुन्छ । आफ्नो सम्प्रदायमा चर्चित वर्खे नाच, जोगीनाच, नागानागिनी, रोपाईं लगायत हनुमान नाचमा समेत मुख्य कलाकारको रुपमा सक्रिय सहभागी भई आफ्नो कला प्रतिभाद्वारा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएका श्रेष्ठ नाचगानमा अब्बल हुनुहुन्थ्यो । शालीन, भद्र, मिलनसार, लगनशील, इमान्दार, समझदार तथा सहयोगी स्वभावका धनी श्रेष्ठ समाजमा ज्यादै गतिशिल एवम् प्रगतिशिल व्यक्तित्व हुनुहुन्छ ।

यही कारण वि.सं. २०३६ सालमा नेपाल विद्यार्थी संघ म्याग्दीको संस्थापक सचिव हुँदै वि.सं. २०३७ सालमा अनेरास्ववियू छैठौंमा आबद्ध भएका श्रेष्ठ वि.सं. २०३८ सालमा अनेरास्वविय छैठौंका तर्फबाट रत्नज्योति क्याम्पस काठमाडौंमा स्ववियुमा सहसचिव पदमा निर्वाचित हुनुभएको थियो भने वि.सं. २०४३ सालमा प्रचण्ड नेतृत्वमा रहेको नेकपा मशालको म्याग्दी जिल्लाको संस्थापक सेक्रेटरी हुँदै वि.सं. २०४७ सालमा नयाँ जनवादी मञ्चको अध्यक्ष समेत हुनुभएको र वि.सं. २०४८ सालमा नेकपा एकता केन्द्र म्याग्दीको अध्यक्ष हुनुभएको थियो ।

वि.सं. २०४९ साल स्थानीय निर्वाचनमा नेकपा एकता केन्द्रको वैधानिक संगठन संयुक्त जनमोर्चाको तर्फबाट अर्थुङ्गे गाविस वडा नं. २ को वडा अध्यक्षमा निर्वाचित हुनुभएका श्रेष्ठ २०५१ सालमा नेकपा माओवादी जिल्ला कमिटिका सदस्य पदमा रहेकै बेला वि.सं. २०५२ सालदेखि सेना तथा प्रहरीद्वारा पटकपटक शारीरिक तथा मानसिक यातना दिइएको थियो ।

वि.सं. २०५५ सालको वैशाखमा बाग्लुङ्ग र फाल्गुनमा बेनी गरी एक महिना कारागारपछि वि.सं. २०५७ सालमा राज्यको चरम दमन भएपछि ६ महिना जिल्लाबाट विस्थापित हुनुभएको थियो । यसरी राजनीतिक जीवनको विभिन्न कालखण्डहरुमा दुःख, कष्ट, यातना सामना गरेका श्रेष्ठले आफ्नो जीवन यात्रामा हरेस कहिल्यै खाएनन् । हिजो कुनै बेला एक छाक खान नपाउने अत्यन्तै कमजोर आर्थिक स्थितिको बीचमा हुर्केका श्रेष्ठले आफ्नै मेहेनत, बुद्धि, विवेक र साहसको उर्जाले आज समाजमा स्थापित व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ ।

जसरी एउटा फूलले माटोको कठोर धरातलमा आफ्नो जरा फैलाएर फुलेको हुन्छ, सुगन्धित भएको हुन्छ । त्यसरी नै श्रेष्ठले आफ्नो विषम परिस्थितिको धरातलमा आफ्नो जरा फैलाएर आज समाजमा फुल्नुभएको छ र सुगन्धित हुनुभएको छ । प्रस्तुती नविन जुग्जाली