प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका एक जना कार्यकर्ताले बिहीवार बागलुङमा आत्मसमर्पण गरेका छन् । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका हरिबहादुर कुँवरले जिल्ला प्रशासन कार्यालय बागलुङमा पुगेर आत्मसमर्पण गरेका हुन् । उनी चन्द समूहका सक्रिय र भूमिगत कार्यकर्ता भएकाले प्रहरीले उनलाई गत साउन १८ गते बुर्तिबाङबाट पक्राउ गरेको जनाएको छ ।

बुर्तिबाङ बजारमा फार्मेसी पसल सञ्चालन गरेको बसेको अवस्थामा नै पक्राउ परेका कुँवरले २६ दिनको हिरासतबाट निस्केपछि आगामी दिनमा कुनै पनि बैठक, भेला र सम्मेलनमा सहभागी नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा उनले प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी उपरिक्षक नवराज भट्ट, विभिन्न राजनीतिक दलका प्रमुख तथा पत्रकारहरुको रोहबरमा आत्मसमर्पण गरेका हुन् ।

कुँवर विगतमा राष्ट्रिय जनमोर्चामा, नेकपा माओवादी, वैद्य माओवादी हुदैँ विप्लवलाई समर्थन गरेको बताए । आगामी दिनमा नेपालको संविधान एवं कानुन विपरित हुने कुनै पनि गतिबिधी नगर्ने प्रतिबद्धता व्यक्त गरी पार्टी परित्याग गरेको समेत कुँवरले घोषणा गरेका छन् ।स्वतन्त्र नागरिकको हैसियतमा आफ्नो व्यवसाय सञ्चालन गरेर बस्ने समेत उनले बताए ।

Leave a Reply