‘पर्यटन पूर्वाधारको विकास गरौँ, नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ’ भन्ने मूल नाराका साथ बागलुङमा एकदिने बृहत् पदयात्रा गरिएको छ । बागलुङ जिल्लाको पर्यटन प्रवर्द्धन गरी नेपाल सरकारले अघि सारेको भ्रमण वर्ष २०२० सफल पार्नका लागि बृहत् पदयात्रा गरिएको हो ।
पर्यटकीय गन्तव्यहरुको पहिचान तथा प्रवर्द्धनका लागि बागलुङ जिल्लाको प्रसिद्ध धार्मिकस्थल पञ्चकोटदेखि धम्जासम्म पैदलयात्रा गरिएको छ । बागलुङको पर्यटकीय स्थलहरुलाई पदमार्गमा जोड्न पञ्चकोट, संसारकोट, थाप्लेको धुरी, कान्छो धौलागिरि, वेलढुङ्गा हुँदै धम्जासम्म शनिबार पदयात्रा गरिएको छ । पदमार्गले बागलुङ नगरपालिका-६ र ७, बेनी नगरपालिका-२,३ काठेकोला गाउँपालिका–१, २ र ३ का पर्यटकीयस्थल तथा ऐतिहासिक महत्व बोकेका स्थानहरुलाई समेटेको छ ।
पदयात्रामा काठेखोला गाउँपालिका निवासी सगरमाथा आरोही कृष्ण केसी, काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापासहित पर्यटन व्यवसयायीको सहभागिता रहेको थियो । लुकेर रहेको पर्यटकीय स्थलहरुको पहिचानका लागि पदयात्राले ठूलो टेवा पुर्याउँदै भ्रमण वर्षमा पर्यटक भित्र्याउने लक्ष्यका साथ पदयात्रा गरिएको सगरमाथा आरोही केसीले बताए । पदयात्राले बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका तथा बेनी नगरपालिकालाई पर्यटनको विकासमा सहयोग पुर्याउने भन्दै यस्ताखाले कार्यक्रमलाई निरन्तर सहयोग गर्ने काठेखोला गाउँपालिकाका अध्यक्ष थापाले बताए ।
पञ्चकोटबाट पैदल यात्राको शुभारम्भ गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गरेका थिए । ११ बजे पञ्चकोटबाट हिँडेको पैदलयात्राको समूह झण्डै १० घण्टाको पैदलयात्रापछि शनिबार साँझ धम्जा पुगेको थियो । जिल्लामा थुप्रै पर्यटकीय गन्तव्यहरु भएर पनि विकास हुन नसकेको भन्दै यस्ता कार्यक्रमहरुको आयोजना गर्न थालिएको धौलागिरि पर्यटन प्रवर्द्धन समितिले जनाएको छ । पदयात्रापश्चात् आज बिहान धम्जामा आयोजना गरिएको पदयात्री, पर्यटन व्यवसायी तथा जनप्रतिनिधिको भेलाले काठेखोला गाउँपालिका–७ रेशका वडध्यक्ष प्रेम लामिछानेको संयोजनमा धौलागिरि पर्यटन चक्रपथ विकास समिति गठनसमेत गरिएको छ ।
समितिले स्थानीय तहसँगको सहकार्यमा आगामी चैतसम्म पञ्चकोट, संसारकोट, थाप्लेको धुरी, कान्छो धौलागिरि, वेलढुङ्गा हुँदै धम्जासम्म पदयात्राका बारेमा सूचना, किलोमिटर, उचाइ तथा पदमार्गको विवरण उल्लेख काम गर्ने जनाइएको छ । RSS